माओवादीमा हुँदा वाल पेन्टिङ गरेको सीपबाट अहिले मासिक ३० हजार कमाई

दश वर्ष लामो सशस्त्र संघर्षका बेला उनले झण्डा, तुल, ब्यानर बनाउँदै हिँडे, वाल पेन्टिङ गरे । जानेको सीप त्यही थियो । अहिले उनी यही पेशाबाट जीवन धान्छन् र यस पेशाबाट आर्जित पैसाबाट समाज सेवा गर्ने पवित्र सोच राख्छन् । द्वन्द्वकालमा भूमिगत भएर क्रान्तिमा होमिएका बैतडी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका जनक बहादुर चन्दलाई अक्षर लेख्ने र कुची, रङ्ग र ब्रससँग खेल्ने काम नै रमाइलो लाग्छ ।

तत्कालीन माओवादी पार्टीभित्र पनि चित्रकलाकै काम गरेका ३६ वर्षीय युवक जनकले हिजोआज अक्षर लेखेर मासिक ३० हजार रुपैयाँ कमाउँछन् । उनी मुख्यतया साइनबोर्ड, ब्यानर र होर्डिङ बोर्ड लेख्ने काम गर्छन् । दोगडाकेदार गाउँपालिकामा हुने कार्यक्रमहरुका लागि तुल, ब्यानर बनाउने र विभिन्न संघ संस्थाका नारासहितका होर्डिङ बोर्ड लेख्ने उनको दिनचर्या हो ।

उनले पहिलो पटक पढाइको सिलसिलामा महेन्द्रनगरमा दाइ गणेश चन्दले यसरी चित्र र अक्षर कोरेको देखेका थिए । प्रदेश ७ मा ख्याति कमाएको गणेश आर्ट कञ्चनपुरको महेनद्रनगर बजारमा अवस्थित छ । गणेश आर्ट विस २०५१ सालमा र २०५४ सालमा गरी दुई पटक आर्टिस्ट प्रतियोगितामा प्रथम भएको थियो । शुरुमा महेन्द्रनगरमै चित्रकला सिकेका जनकले दाइकै पदचिन्हलाई पछ्याएका हुन् । अहिले त्यही गणेश आर्टको शाखा खोचलेकमा सञ्चालन गरेर उनी यही कलाकारितामा समर्पित रहिआएका छन् ।

पार्टीका विभिन्न मोर्चा र कार्यक्रममा खटिँदा त्यतिबेला बैतडीका माओवादी नेता भुवनचन्द्र विश्वकर्मा ९शान० ले पार्टीका लागि व्यानर र झण्डा लेखेको उनले कैयौं पटक देखेका थिए । भुवनको यो सीपबाट प्रभावित भएर जनकले लेख्न शुरु गरेका रहेछन् ।

आफ्नो कलामा निखार आएपछि पार्टीले जनकलाई यही कामको जिम्मा दियो । उनीसँग द्वन्द्वकालमा लाखौं ब्यानर र झण्डा लेखेको स्मरण छ । पार्टी शान्ति प्रक्रियामा आइसकेपछि २०६४ सालको संविधानसभाको निर्वाचन अघिको एक महिनाको अवधिमा मात्रै उनले पार्टीका ११ हजार झण्डा, १ हजार ब्यानर र ५८ होडिङ बोर्ड लेखेको उनी सगर्व सुनाउँछन् । देश र दुनियाँ बदल्न भूमिगत भएर हिँड्दाका दिन पार्टीका लागि गरेको कामलाई श्रमदान सम्झने उनी भन्छन् – एक रुपैयाँ नलिई काम गरें । जति गरें पार्टीकै लागि गरें ।”

पार्टीले सहयोग नगरेकामा उनको कुनै गुनासो छैन । आफ्नो सानै योगदानबाट भएपनि देशमा संघीयता आएकामा उनी खुशी छन् ।

उनी भन्छन् – पार्टीले म जस्ता सीप र क्षमता भएका अन्य साथीहरुलाई रोजगार दिनुपर्छ । शान्ति प्रक्रियामा आइसकेपछि पार्टीले कार्यकर्ता व्यवस्थापनका नाममा विभिन्न योजनाको अध्यक्ष बनेर गुजारा गर्न सिकाए पनि आफूले पार्टीसँग कुनै योजना नमागेको र अहिलेसम्म कुनै पनि समितिको अध्यक्ष नबनेको उनी बताउँछन् । “गाउँदेखि केन्द्रसम्मका कुनै पनि योजना तथा निर्माण समितिमा बसेको छैन,” उनले भने – “आफ्नो सीप र पौरखले खाने हो ।”

विसं २०७४ फागुनदेखि आर्ट व्यवसाय थालेका जनक मागेर हैन गरेर खानुपर्छ भन्ने मान्यता राख्छन् । उनी यही पेशालाई निरन्तरता दिन चाहन्छन् ।

उनले पार्टीमा रहँदा योङ्ग कम्युनिष्ट लिगको जिम्मा पनि लिए । आर्ट विभागको जिम्मा त थियो नै ।

विसं २०६५ मा बैतडीको इलाका नं १० को इलाका सचिव हुदै जिल्ला कमिटी सदस्य बने उनी । यसका साथै उनी एकता पूर्व सम्पन्न केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य समेत बने ।

दोगडाकेदार गाउँपालिकाको खोचलेक बजारमा व्यावसायिक रुपमा साइन बोर्ड लेख्न शुरु गरेपछि आफूलाई गाउँपालिकाले सहयोग गरेको जनक बताउँछन् । उनले भने – “मेरो कला देखेर गाउँपालिकाले मलाई सहयोग गरेको हो । गाउँपालिकाभित्रका सबै वडा कार्यालय र योजनाहरुको साइनबोर्ड लेख्ने काम दिएर ठूलो सहयोग गर्यो ।”

मध्यम वर्गको घरपरिवारमा हुर्केका जनकले श्रीमतीसहित दुई सन्तानको लालनपालन राम्रैसँग गर्दैआएका छन् । एक लाख ५० हजार रुपैयाँ ऋण गरेर यो पेशा शुरु गरेका जनकला कच्चा पदार्थको अभावले बेलाबेलामा सताउने गर्छ । उनका अनुसार कच्चा पदार्थका लागि भारतीय बजार धाउनुपर्छ ।

गाउँपालिकामै साइनबोर्ड लेखाउने सुविधा भएपछि जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता नभएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

Related posts

Leave a Comment