उद्धार भएका किशोरले भने बाँकी जिवन पूर्ण रूपमा जिउछौँ

बाढीग्रस्त गुफामा दुई साताभन्दा बढी फसेर उद्धार गरिएका १२ किशोरले पहिलो पटक आफ्नो अग्नि परीक्षाबारे बोलेका छन्।गुफामा फसेको नौ दिनपछि बेलायती गोताखोरले आफूहरुलाई भेट्दा ‘चमत्कार क्षण’ भएको उनीहरुले सञ्चारमाध्यमसामु बताएका छन् ।गुफामा फसेका १२ मध्ये एक मात्रै अंग्रेजी बोल्न जान्ने १४ वर्षीय अदुल साम–अनले पहिलो पटक बेलायती गोताखोरले आफूहरुलाई भेट्दा आफूले ‘हेलो’ मात्रै भन्न सकेको पत्रकारहरुलाई बताएका छन्।म्यानमारसँग सीमा जोडिएको उत्तरी थाइल्यान्डस्थित थाम लुङ गुफामा १२ किशोर र उनीहरुका २५ वर्षीय प्रशिक्षक दुई साताभन्दा बढी फसेका थिए । तीन दिन लगाएर सफलतापूर्वक उद्धार गरिएका उनीहरु उपचार पछि बुधबार बिहानै आ–आफ्ना घरतर्फ लागेको बिबिसीले उल्लेख गरेको छ ।चियाङ राईमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई उद्धार गर्न सहयोग गरेको थाई जलसेनासँग आफ्ना फुटबल पहिरनमा उपस्थित भएका ती किशोरहरुले पहिलो पटक सञ्चारमाध्यमसमक्ष आफ्ना भनाइ राखेका हुन् ।गुफामा रहेका ढुंगाबाट पानी पिएर कसरी आफूहरु बाँचियो भनेर एक किशोरले पत्रकार सम्मेलनमा बताए । ‘पानी सफा थियो तर खाने कुरा केही थिएन,’ ती किशोरलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।दुई साताभन्दा लामो समय गुफामा बिताएको अग्नि परीक्षाबाट धेरै कुरा सिक्ने केही किशोरहरुले पत्रकार सम्मेलनका क्रममा बताए । एक किशोरले त अबदेखि थप सचेत हुने र जीवनलाई पूर्ण रूपमा जिउने प्रतिबद्धतासमेत गरेको बिबिसीले जनाएको छ । ‘यो अनुभवले मलाई थप जिम्मेवार र बलियो बन्न सिकाएको छ,’ अर्का किशोरले पत्रकार सम्मेलनमा बताए ।उत्तरी थाइल्यान्डको चियाङ राई प्रान्तका गभर्नर प्राचन प्रत्सुकनले यो नै किशोरहरुको आधिकारिक पत्रकार सम्मेलन हुने र यसपछि किशोरहरुले कुनै पनि सञ्चारमाध्यमसमक्ष अन्तर्वार्ता नदिने बताएका छन् ।

Related posts

Leave a Comment