टीकापुर घटनाको सुनुवाई प्रक्रिया बुधबारदेखि सुरु

कैलाली जिल्ला अदालतमा बुधबारदेखि टीकापुर घटनाको मुद्दामा सुनुवाई प्रक्रिया सुरु भएको छ ।

पहिलो पेशीपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईले भदौ २४ गते वादी र प्रतिवादीका साक्षीहरुलाई बुझ्ने आदेश दिएको छ । पूर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका टीकापुर घटनाका २४ जना अभियुक्तहरुलाई अदालतमा झिकाइएको थियो ।

एक नाबालक र रेशम चौधरीसहित २६ जना विरुद्ध कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी मुद्दा छ । उनीहरु पूर्पक्षका लागि थुनामा छन् । एक जना नाबालक रहेकाले उनी पोखरास्थित बाल सुधार गृहमा छन् भने रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा राखिएको छ । बाँकी २४ जना कैलाली कारागारमा छन् ।

‘पहिलो पेशीमा दुबैतर्फका साक्षीहरुलाई बुझ्ने आदेश भएको छ’ शाखा अधिकृत नरबहादुर नेगीले भने, ‘बुधबारदेखि टीकापुर घटनाको न्याय निरुपण प्रकृया आरम्भ भयो ।’

०७२ भदौ ७ मा टीकापुर हत्याकाण्ड भएको थियो । थरुहटरथारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी टीकापुर घटनामा एक नाबालक र ७ प्रहरीको ज्यान गएको थियो ।

Related posts

Leave a Comment