प्रहरी र सवारी चालकबीच झडप, एक जना घाइते

फाइल फोटो

आन्दोलनरत सवारी चालक र प्रहरीबीच विवाद हुँदा एक जना घाइते भएका छन् ।
अछामको साँफेबगरमा यातायात सञ्चालन गर्न प्रहरीले दबाब दिएपछि प्रहरी र चालबीच सामान्य झडप समेत भएको थियो । झडपमा परि साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर घाइते भएका छन् ।

घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे प्रहरीले जनाएको छ । उनको दायाँ आँखामा चोट लागेको छ । प्रहरीले हस्तक्षेप गर्दै गोली चलाएको आरोप चालकहरूको छ । तर प्रहरीले भने सामान्य विवाद मात्रै भएको जनाएको छ ।

मङ्लसेनबाट आएका गाडी साँफे पक्की पुल नजिकै रोकिएपछि गाडी चालक प्रहरीमाथि जाइलागेकाले मङ्गलसेनबाट आफ्नो नेतृत्वमा आएका थप प्रहरी टोलीले हुल नियन्त्रण गर्न पाँच सेल अश्रुग्याँस चलाएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोली चलाएको भन्दै आक्रोशित सवारी चालकले साँफेबगर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्नुका साथै नगरपालिकाको सवारी साधनमा तोडफोड र बजार बन्द गराएका थिए । उनीहरुको ढुङगा प्रहारबाट प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानसमेत घाइते भएका प्रहरीले जनाएको छ ।

सरकारले सवारी साधन दुर्घटनामा कुनै व्यक्तिको मृत्यु भएमा चालकले १२ वर्ष जेललगायतका सजाय भोग्नुपर्ने गरी कानून ल्याइएको भन्दै चालकले तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् । चालकले आह्वान गरेको बन्दका कारण बाजुरा, अछामलगायत बाहिरबाट आउने यात्रु बीच बाटोमै अलपत्र परेका छन् भने शिक्षक सेवाको परीक्षा दिन जिल्ला बाहिर जाने परीक्षार्थी पनि समस्यामा परेका छन् ।

Related posts

Leave a Comment