सर्बसाधारणले धान्नै नसक्ने गरी उकालो लाग्दै महँगी

माग र बिक्री बढ्ने मौकाको फाइदा उठाउँदै व्यवसायीले दसैंमा खाद्यान्न, लत्ताकपडा लगायतका उपभोग्य वस्तुको मूल्य बढाएका छन्  । अहिले सबै क्षेत्रमा कम्तीमा १५ प्रतिशतले मूल्य बढेको सरोकारवाला बताउँछन्  ।उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले १५ प्रतिशत मूल्यवृद्धि हुँदा पनि सरकार मौन बसेर ‘उपहार’ दिएको बताए । सरकारले यातायातको सिन्डिकेट तोडेको दाबी गरे पनि १० प्रतिशत भाडा वृद्धि भएको छ । भुक्तभोगीका अनुसार ब्ल्याकमा समेत टिकट बिक्री भइरहेको छ ।व्यापारी संगठित छन् भने सबै क्षेत्रमा मूल्य वृद्धि भएपछि उपभोक्ता निरीह बनेका छन् । बजार अनुगमनको जिम्मा पाएका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर विभाग, यातायात विभाग मौन छन् ।आपूर्ति र खाद्य प्रविधि विभागले बेलाबेला अनुगमन गरे पनि उपभोक्ताले अनुगमनको अनुभूति पाएका छैनन् । व्यवसायीहरूले आपूर्ति विभागमा पठाएको विवरणअनुसार डेढ महिना अवधिमा बास्मती चामलमा प्रतिकिलो ५ रुपैयाँ बढेर १ सय २० रुपैयाँमा बिक्री भएको छ । आँटामा प्रतिकिलो ७ रुपैयाँ बढेको छ । मैदामा ५ रुपैयाँ, सुजीमा १० रुपैयाँ, ताइचिन चिउरामा ५ रुपैयाँ बढेको छ ।यस्तै, चना मसला किलोमा ५ रुपैयाँ, केराउमा ५ रुपैयाँ, तोरी तेलमा १० रुपैयाँ, भटमास तेलमा प्रतिलिटर ५ रुपैयाँ र सनफ्लावर तेलमा ५ रुपैयाँ बढेको छ । खसीको मासुमा ४५ रुपैयाँ वृद्धि भएको छ । अधिकांश खाद्यान्नको भाउ अकासिए पनि खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य भने तेल, मैदा र आँटाबाहेक अन्यमा नबढेको दाबी गर्छन् ।

Related posts

Leave a Comment