नेपालमा सजाँय नभोगी उम्कन्छन बलात्कारी ( भिडियो सहित )

तुल्सी अर्याल, टिभी अन्नपूर्ण काठमाडौँ । 

बलात्कार महिला हिंसाको एउटा विकृत रुप हो । महिलामाथि हुने गरेका अन्याय, अत्याचार र शोषणमध्ये बलात्कार पछिल्लो समयमा प्रमुख समस्याका रुपमा देखा परेको छ । विशेषगरी महिलाप्रतिको सोचाईले यसलाई प्रमुख प्रभाव पारेको देखिन्छ । हाम्रो समाज पुरुष प्रधान र पुरुष सत्तावादी चरित्रले गाँजिएको छ । जसको कारण निर्दोष महिलाहरु त्यसको शिकार बन्न बाध्य भएका छन् । दुधे बालिकादेखि उमेर पुगेका महिलासम्म यसको शिकार बनिरहेका छन् । बलात्कार नेपालको मात्र समस्या नभएर यो विश्वका जुनसुकै देशको समस्याका रुपमा प्रकट भइरहेको छ । महिलाहरु शारीरिक संरचनाका हिसावमा केही कमजोर देखिनु र हाम्रो समाजको चरित्र र संस्कारका कारण पनि महिला लामो समयदेखि पुरुषका दानवीय प्रवृत्तिको शिकार बनिरहेका छन् ।

बलात्कारको परिभाषा आ–आफ्नै तौरतरिकाबाट गर्न सकिन्छ । तर कैयौँ बलात्कारका घटना पनि बलात्कारको परिभाषाबाट बाहिरिएका छन् । वास्तवमा बलात्कारको अर्थ इच्छा नहुँदा नहुँदै कसैलाई यौन सम्बन्धमा आउन बाध्य बनाइन्छ भने त्यो नै वास्तविक बलात्कार हो । यौन सम्पर्कमा आफूखुसी राजी नभएको सम्पूर्ण अवस्था बलात्कार हो । केही महिनाअघि भारतमा एकजनाले आफ्नी प्रेमिकालाइै सिनेमा हलभित्रै बलात्कार गर्न खोजेको घटनाबाट स्पष्ट हुन्छ कि बलात्कार भनेको नचिनेको र परपुरुषले जबर्जस्ती यौन शोषण गर्नुमात्रै होइन । यो त इच्छा विपरित यौनसम्बन्ध राख्नु र दबाब दिनु हो । यो आफ्नै श्रीमान श्रीमतीबीच अझ बढी हुन्छ ।

पछिल्लो समय विपन्न परिवारका बालिका र किशोरीहरू बढी बलात्कारको शिकार भएको देखिन्छ । नेपालमा अहिले दैनिक कम्तीमा तीन महिलामाथि बलात्कार हुने गरेको छ । हामी कतिसम्म पीडा र दुःखमा छौं भने अंग नै विकास नभइसकेका बालिकाहरु बलात्कृत हुन्छन् तर, बलात्कारीलाई जसरी पनि कारबाहीबाट जोगाउन विभिन्न प्रपञ्च पनि उत्तिक भइरहेका छन् । लाग्छ, सिंगो समाज संवेदनाहीन बनिसकेको छ । मंसिरमा ललितपुरमा भएको सामूहिक बलात्कारका आरोपीहरू जिल्ला अदालत ललितपुरका न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले रिहा गर्न आदेश दिएपछि पीडित युवती र उनका श्रीमान् आफ्नो थातथलो छाड्न बाध्य भए ।
यसबारे के भन्छ त प्रहरी?
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता शैलेशकुमार क्षेत्री गरीब परिवारका पीडितलाई पीडक पक्षले पैसाको लोभमा बयान फेर्न लगाउने बताउँछन् । उनी भन्छन्, “६० प्रतिशत भन्दा बढी जबरजस्ती करणीको अपराधलाई यसरी प्रभावित पार्ने गरिएको छ ।त्यसरी बयान फेरेर ‘न्याय सम्पादनमा सहयोग नगर्ने’लाई जरिवाना हुनसक्ने भए पनि त्यस्तो रकम बढीमा रु ५०० हुने भएकोले त्यसको प्रभावकारिता छैन । देशभरको आँकडा हेर्दा पछिल्लो पाँच वर्षमा बलात्कारका घटना दोब्बर बढेको पाइन्छ । आर्थिक वर्ष २०७३÷७४ मा यस्ता १ हजार एक सय ३९ वटा घटना भएको अभिलेख प्रहरीसँग छ । बलात्कारका सबै घटनाको उजुरी पर्दैनन् । यस्ता घटना खुल्दा समाजमा मुख देखाउँनै लाज हुने, परिवार, इष्टमित्रहरुको बेइज्जत हुने डरमा पनि कतिपय यस्ता घटना गुपचुप नै राखिने गरेका छन् । अधिकारकर्मीहरू दिनहुँ यस्ता १५ वटासम्म बलात्कार हुन थालेको बताउँछन् । यौनजन्य हिंसा पराकाष्ठामा पुगेको उनीहरूको भनाइ छ ।

के भन्छन् त कानुनविद् ?
न्यायको आशामा रहेका पीडित आफूले सम्झनै नचाहेको घटना विवरण पटक–पटक सुनाउनु पर्दा थप पीडामा छन् । ‘दोर्होयाई–तेर्हेयाई एउटै कुरा सोध्नु भन्दा बरु मेरो मुद्दा नै नलड्नुहोस’ भन्न थालेको एक सरकारी वकिल बताउँछन् । मुद्दा टुंगिन वर्षौ लाग्ने, पीडक पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म जान सक्ने, पीडितले त्यस अवधिमा समाजबाट अपहेलना भोग्नुपर्ने आदि कारणले पनि आर्थिक लेनदेन र बयान बदल्ने प्रवृत्ति बढेको अर्का कानून व्यवसायी विमल मिश्रको भनाई छ । साथै, न्यायालयको ढोका घच्घच्याउन पुगेका पीडितहरू निराश भएर फर्कनु परेको छ । पछिल्लो पाँच वर्षमा अदालतमा बलात्कार सम्बन्धी मुद्दामा दोब्बर वृद्धि भएको छ । २०६९ सालमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा गरी २ हजार ३९४ वटा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएकोमा २०७३ मा यस्तो मुद्दाको संख्या ४ हजार ८ सय ६९ पुगेको छ ।
के भन्छिन् त रक्षा नेपालकी संस्थापक?
रक्षा नेपालकी संस्थापक अध्यक्ष मेनुका थापा महिलामाथिको हिंसा अस्वभाविक रुपमा बढिरहेको बताउँछिन् । ‘महिलामाथि हुने यौन हिंसाका घटना अस्वाभाविक रूपमा बढेका छन्’ उनले भनिन् । नेपालको कानुन फितलो भएको कारण र नेपालमा कस्तो कानुन ल्याउनु पर्छ भन्ने बारे मानिसमा ज्ञान नभएको र सबैलाई आफ्नो कुर्सी प्यारो हुँदा यस्ता घटनाहरु बढ्दै गइरहेको उनी बताउँछिन् । थापाका अनुसार नेपालमा मृत्यदण्डको सजाय दिन नेपाल सरकार छिटो भन्दा छिटो जागरुक हुन जरुरी रहेको उनी बताउछिनन । यसरी अपराधीहरु कोही कसैका भाई भतिज होईनन । राक्षस नै हुन् भनेर व्यवहार गर्नुपर्ने उनको भनाइ छ । नेपालको कानुनी प्रक्रिया छिटो र छारितो नहुँदासमेत यस्ता घटनाहरु बढेको उनको तर्क छ ।
के भन्छ त यौन मनोविद्?
मनोविद् शिशिर सुब्बा यसलाई राज्यका निकायहरू बलियो नहुनुको परिणाम मान्छन् । उनी भन्छन् । “पक्राउ परिहाले पनि प्रहरी प्रशासन, न्यायिक निकायलाई प्रभावित पार्न, किन्न सकिन्छ भन्ने विश्वास आरोपीहरूमा देखिन्छ’ उनी भन्छन्, ‘कतिपयले महिलाको पहिरन पनि बलात्कारको कारक हो भनेर गलत व्याख्या स्थापित गर्ने प्रयास गर्छन् ।’ तर, एक्सन एड भारतमा कार्यरत सारिका सिन्हाले गरेको अध्ययन अनुसार त्यहाँ बलात्कारमा परेकामध्ये ४८ प्रतिशतले बुर्का वा साडी, ४१ प्रतिशतले सलवार कुर्ता र १० प्रतिशतले फ्रक लगाएका थिए । फ्रक लगाउनेहरू सबै १० वर्षभन्दा कम उमेरका थिए । उनका अनुसार बलात्कार भए नभएको परीक्षण गर्ने पर्याप्त जनशक्ति र प्रविधिको पनि अभाव छ । गुप्तांगमा दुई औंला घुसाएर यौनकार्य भए नभएको परीक्षण गर्ने ‘टु फिङ्गर टेस्ट’ आफैंमा अवैज्ञानिक छ । यो पुरातन विधिले पीडितलाई थप पीडित र अपमानित गर्ने उनी बताउँछन् ।

नेपाली समाज यौनको बारेमा अलि बढी लज्जालु छ । यौनका कुरा खुलम्खुला गर्न हाम्रो समाज अझै पनि संकोच मान्छ । आफूमाथि हुने गरेका हिंसाको बारेमा बोल्न डराउँने चलन जस्तै भएको छ । अझ श्रीमान श्रीमतीबीचका बलात्कारका कहानीहरु त नगन्य मात्रामा बाहिर आउँछन् । बाहिर नआउनु र सार्वजनिक रुपमा नदेखिनु भनेको घटना नहुनु पटक्कै होइन । बलात्कारको शिकार महिलाहरु सदियौदेखि भइरहेका छन् तर त्यसको प्रतिवाद र सार्वजनिक गर्न महिलाहरु डराइरहेका छन् । यौनलाई निकै ठूलो विषयका रुपमा बुझ्नुले नेपाली समाज अझै पनि पछाडि परेको छ जसमा पिडित महिला पनि आफूमाथिको यौन शोषणको बारेमा खुल्ला रुपमा बोल्न सकेका छैनन् । यो पनि एउटा कमजोरी हो । अर्को कमजोरी हाम्रो समाजको चेतनाको स्तर पनि माथि उठ्न नसक्नु पनि हो । समाजमा चेतनाको स्तर माथि उठ्दा र मानिसहरु शिक्षित हुँदै जाँदा, रोजगार हुँदै जाँदासमेत यस्ता समस्या न्युनीकरण आउँछन् । कोही बलात्कृत व्यक्तिलाई सामाजिक इज्जत नै सिद्धिएको रुपमा यो समाजले हेर्ने गर्दछ । जसले गर्दा कैयौँ प्रताडित महिला आफ्नो पीडा लुकाउन बाध्य छन् । बलात्कार भनेको सामान्य घटना नभएपनि महिलालाई सम्पूर्ण रुपमा अशुद्धिकरण गर्नु पक्कै पनि समाजको कमजोरी हो । तर, घटना भइसकेपछि पीडितलाई सकारात्मक उर्जा चाहिनेमा समाजले इज्जत नदिंदा उनीहरुमा मनोवैज्ञानिक असर पर्ने गर्छ ।

बलात्कृत महिलालाई समाजमा फरक नजरले हेर्ने समाजको प्रवृति नसच्चिएसम्म बलात्कारका घटनाहरु भित्रभित्रै घटिरहनेछन् । जसले त्यसबाट आफ्ना आकांक्षापूर्ति गरेका छन् तिनिहरुलाई फाइदै हुनेछ । किनकी बलात्कारी पनि ढुक्क हुन्छ कि आफूले बलात्कार गरेकी महिलाले त्यसको पर्दाफास गरेमा उसको सामाजिक इज्जत र प्रतिष्ठा पनि क्षयीकृत हुन्छ । त्यसको सुइँको पाएमा समाजले पनि उसलाई नराम्रो नजरमा हेर्छ । यस्ता घटना सार्वजनिक गर्नु उसकै लागि घातक हुन्छ । केही सार्वजनिक भएका बलात्कृत महिलाहरु साहसी भएकै कारणले त्यसको विरुद्धमा आवाज उठाएका हुन् नत्र भने समाजको ठूलो तप्का यस्ता साहसिक कदम चाल्नबाट डराइरहेको छ । अविवाहित नारीमाथि हुने गरेका यौनशोषण सार्वजनिक गर्दा विवाह नै नहुने र उनलाई अशुद्ध महिलाको रुपमा बुझ्ने हाम्रो समाजले गर्दा महिला आफैभित्र गुम्सिरहेका छन् । कसैले आफ्नै छोरीमाथि यौनशोषण गरिरहेका छन् । कसैलाई आफन्त नातागोता यस्तो गलत काम गरेको घटना पनि बेलाबखत बाहिरिने गरेका छन् । समाज जति विकसित बन्दै गएको छ त्यत्ति नै बेथितिका शृंखलाहरु बढ्दैछन् ।मानिसका यी दानवीय प्रवृतिलाई निरुत्साहित गर्नैपर्छ । समाजको चेतनाको स्तरसँगै कानुनको पालनामा पनि थप कडाई गर्नुपर्छ ।

तसर्थ अबका दिनमा चेतना र शिक्षा फैलाउँने, कानुनी दायरमा ल्याएर कारवाही गराउँने संघसंस्थाको भूमिका प्रभावकारी हुनुपर्छ । सकेसम्म यस्तो घटना हुनै नदिनु सबैभन्दा राम्रो हो। भइहाले दोषीलाई कडा कानूनी सजाय हुनुपर्छ । तर सञ्चारमाध्यममा आएका केही घटना मात्र केलाउँदा पनि पीडितलाई न्याय पाउन सहज छैन भन्ने बुझिन्छ । बलात्कार जस्तो घटनामा पीडितकै कमजोरी देखाउनु अविवेकीपना, अन्याय हो, पीडितमाथि झन् ठूलो अत्यायचार हो । कतिपयले बिचरा भनेको सुनिन्छ, तर त्यतिले पुग्दैन । यस्तो अपराध विरुद्ध खुलेरै लाग्नुपर्छ । अब कुनै पनि बहानामा पीडक जोगाउन पाइँदैन । बलात्कार विरुद्ध सबैले रोष प्रकट गरौं ।

 

बलात्कारीको पौरख देखाउने अंग छेदन गर्नुपर्छ( भिडियो सहित)

Related posts

Leave a Comment