कम्पनीका गाडीले पुरानै भाडा दरमा यात्रु बोक्दै (भिडियोसहित)

विमल खड्का, टिभी अन्नपूर्ण ।

सरकार र यातायात व्यवसायीले १० प्रतिशत भाडा बढाए पनि कम्पनी अन्तरगत चलेका कतिपय सवारी साधनले भने पुरानै दरमा यात्रु बोकिरहेका छन् । प्रालिमा सञ्चालित बसहरूले यात्रुहरूलाई सर्वसुलभ रूपमा सेवा दिनुपर्ने भन्दै पुरानै भाडामा यात्रुहरू बोक्दै आएको बताएका छन् ।
भैरहवामा केन्द्रीय कार्यालयमा रहेको सिद्धार्थ यातायात प्रालिले पुरानै भाडादारमा यात्रुलाई सेवा दिइरहेको छ । सिद्धार्थ यातायात प्रालिको भैरहवामा बसेको बैठकले दसैँ तिहारको मुखमा सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गर्दा जनतालाई असर पर्ने भएकाले भाडा वृद्धि नगरी पुरानै भाडादारमा सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्यकुमार सारु मगरले चाडपर्वको बेला भाडा वृद्धि गर्दा आम नागरिकमा नकारात्मक सन्देश जानुका साथै यात्रुहरू समस्यामा पर्ने भएकाले १० प्रतिशत भाडा वृद्धि नगरी पुरानै भाडादारमा यात्रुहरूलाई सेवा दिने निर्णय भएको बताए ।
नाफा कमाउने भन्दा पनि सेवामूलक कम्पनीको रूपमा स्थापित गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको बताउँदै त्यही अनुसार अघि बढेको अध्यक्ष मगरले बताए ।
त्यस्तै अध्यक्ष सारु मगरले विभिन्न समस्याबाट पीडितलाई प्रालिका गाडीले निःशुल्क गन्तव्यसम्म पुर्‍याएको समेत बताए । भारतबाट काम गरेर फर्किने क्रममा लुटिएका नेपालीलाई हामीले फ्रीमा घर पठाएका छौँ , उनले भने ।
यातायात कम्पनीका चालक,सह चालक कसैले यात्रुलाई दुर्व्यवहार गर्ने, बढी भाडा लिएको वा अन्य कानुनको उल्लङ्घन गर्ने कार्य गरेको पाइएमा तत्काल उजुरी गर्न समेत उनले आग्रह गरे ।

भाडा बढाउनु बाध्यता, हामीले बढाएका होइनौँ भाडा सरकारले बढाएको हो: यातायात व्यवसायी

तर यातायात व्यवसायीले भने सरकारले नै भाडा बढाएको बताएका छन् । गत असोज ६ गते सरकार र यातायात व्यवसायीले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेका थिए । उनीहरूले बढाएको भाडा दर नै लिइरहेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले भने भाडा आफूहरूले नभई सरकारले बढाएको दाबी गरे । टिभी अन्नपूर्णसँगको कुराकानीमा उनले भने, गलत प्रचार गरिएको छ । भाडा हामीले बढाएका होइनौँ । हामीले त अन्य विकल्प खोजौँ पनि भनेका थियौँ ।
भाडा बढाउनु हाम्रो रहर होइन बाध्यता हो । सरकारले ११ पटक पेट्रोलियम पदार्थको मूल्य बढाउने, २०६९ सालदेखि सार्वजनिक यातायातको भाडा समायोजन नगर्ने । हाम्रा गाडी पानीले चल्ने होइनन् । उनले भने ।
पेट्रोलियम पदार्थमा मूल्य बढेकाले व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने हिसाबले सार्वजनिक यातायातको भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए ।
दसैँ तिहार जस्ता महत्त्वपूर्ण चाडपर्वका बेला सार्वजनिक यातायातको भाडा बढेको भन्दै सरकार र यातायात व्यवसायीको चर्को आलोचना भइरहेको छ । बढेको भाडा फिर्ता निल समेत आवाज उठी रहेको छ ।

दसैँ तिहारमा घर जाने एक जना यात्रुलाई पनि टिकट अभाव हुन दिन्नौ : सरोज सिटौला

Related posts

Leave a Comment