नेकपा अध्यक्ष प्रचण्डको तर्कः कर्मचारीकै कारण वर्तमान सरकारले प्रभावकारी काम गर्न सकेन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीका कारण नेपालमा राजनीतिक नेतृत्व र सरकार असफल हुने गरेको आरोप लगाए । राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्व बीचको बुझाइमा एकरुपता नहुँदा नयाँ प्रणाली स्थापित हुन समय लागेको उनको भनाइ थियो ।
कर्मचारीकै कारण वर्तमान सरकारले प्रभावकारी काम गर्न नसकेको पनि उनले तर्क गरे । अब संघ सरकारदेखि सबै सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल चलिरहेको र चाँडै त्यसको रिजल्ट आउने उनले बताए । प्रचण्डले ओली सरकार अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, राष्ट्रियता, ऐतिहासिक र रणनीतिक रुपमा सफल भएको पनि दाबी गरे । असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनुका साथै छिमेकी देश भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन पनि यो सरकार सफल भएकाले वर्तमान सरकारलाई असफल भन्न नमिल्ने उनले तर्क गरे ।
साथै उनले प्रदेश सरकार असफल भए देश अँध्यारोमा फस्ने चेतावनी दिएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रदेश सरकार प्रभावकारी नहुँदा सबै परिवर्तन असफल हुने र देश अँध्यारोमा फस्ने बताएका हुन् ।

Related posts

Leave a Comment