• २०७६ मङ्सिर २५ बुधबार

जनैको आयात रोक्न परम्परागत विधिलाई प्रोत्साहन

काठमाडौं,

विदेशमा यन्त्रमा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले परम्परागत ढंगबाट नेपालमै व्यावसायिक रुपमा बनाउन थालिएको छ । गत वर्ष वार्षिक एक अर्बको जनै आयात गरिएको समाचार सार्वजनिक भएपछि रैथाने चीजबीजको संरक्षणमा जुटेको जरोकिलो प्रतिष्ठानको अग्रसरतामा परम्परागत तरिकाले जनै बनाउने तालिम दिइएको थियो ।

विदेशबाट आयात गरिने जनै यन्त्रमा बन्ने भएकाले संस्कृति संरक्षण नहुने भएकाले मौलिक विधिलाई संरक्षण गर्न दुई जना प्रशिक्षकबाट तालीम दिइएको प्रतिष्ठानका सदस्य सुशील गौतमले जानकारी दिए । 

जरोकिलो प्रतिष्ठानले भने यस वर्ष प्रत्यक्षरुपमा १५ जना र श्रव्यदृश्यका माध्यमबाट ३६ जनालाई तालीम दिएर परम्परागत तरीबाट जनै बनाएको जनाएको छ ।

परम्परागत तरिकाबाट जनै बनाउँदा काठको यन्त्र र कतुवाको प्रयोग गरिन्छ । परम्परागत विधिबाट जनै बनाउन समय लाग्ने भएकाले एकप्रतिको १५ रुपैयाँमा बेच्ने गरिएको उनले बताए । प्रतिष्ठानले सदयता उद्यमशीलता प्रालि नामक कम्पनी नै खोलेर जनै बनाउने व्यवसायलाई संरक्षण गर्न थालेको छ । यसरी बनाइएको जनैको माग देश, विदेशमा हुन थालेको छ । 

जनै बनाउने शास्त्रीय विधि

तागाधारी परिवारकी महिलाले कपासबाट धागो बनाउनुपर्ने र धागो बाटेर विधिपूर्वक जनै बनाउने विधि छ । यन्त्रमा बनाएको जनैमा यो विधि पूरा हुँदैन । धागोलाई दुईपटक तेब्रयाएर छ डोराको बनाउनुपर्ने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । तीन डोराको एउटा शिखा बनाउनुपर्छ । अर्को तीन डोराको अर्को शिखा गरेर दुई शिखा बनाउने विधि हुन्छ । 

शिखामा ब्रह्मा, विष्णु र महेश्वरको वास हुने धार्मिक विश्वास छ । जनै मन्त्रँदा शिखामा तीनै जना देवता, अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ब्रह्म तेज पैदा गर्ने बनाउनुपर्छ । यसरी बनाइएको जनैले नै शास्त्रमा वर्णन गरेबमोजिमको फल दिन्छ । 

रक्षाबन्धन आयात     

जनैमात्र होइन, जनै पूर्णिमाकै दिन हातमा लगाइने रक्षाबन्धनअर्थात डोरो पनि तयारी नै आउँछ । जनैपूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बी सबैले दाहिने हातमा डोरो लगाउँछन् । 

रक्षाबन्धन विवाह, व्रतबन्ध, नामकरण, होम, आदि कर्ममा पनि वैदिक मन्त्रोच्चारणसहित विधिपूर्वक मन्त्रेर लगाइन्छ । नारायण कवच समेत पाठ गरेर रक्षाबन्धन पूजा गरिन्छ । 

पछिल्लो समय कर्मकाण्ड गर्नेले पनि काँचो धागो किनेर रक्षाबन्धन बनाउने झञ्झट गर्दैनन् । विदेशबाट रङ्ग्याएर आयात गरिएको डोरो किनेर जजमानको हातमा बाँधिदिन्छन् । 

रक्षाबन्धन मानव जाति सबैले लगाउनुपर्ने शास्त्रीय वचन छ । यो विधि पूरा गर्नुपर्ने रक्षाबन्धनसमेत विदेशबाट आयात हुँदा शास्त्रसम्मत नहुने धर्मशास्त्रविद्को मत छ । 
 
घरमै हस्तकलाका माध्यमबाट बनाउन सकिने धेरै सामानको आयात बढ्न थालेको छ । यस्ता सामग्रीको निर्माणमा प्रोत्साहन नगरिँदा वार्षिक अर्बौं रुपैयाँ विदेशिन्छ । घरेलु उद्योगलाई सहुलियत दिए यस्तो आयात घटाउन सकिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार