• २०७६ भदौ ४ बुधबार

कटारीमा आफ्नो कोठा सार्न नगरका कर्मचारी तथा सवारीसाधन दुरुपयोग (भिडियो)

उदयपुर,

सरकारले कर्मचारी दुरुपयोग न्युनिकरणका लागि गृहकार्य सुरु गरिरहँदा उदयपुरको कटारी नगरपालिकाले भने कर्मचारीहरुलाई दुरुपयोग गरिरहेको छ । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचचारीहरुले  नगरप्रहरी र कार्यालय सहयोगीहरुलाई नीजि प्रयोजनको लागि समेत प्रयोग गर्ने गरेका छन् ।

सोमबारमात्रै नगरपालिकाका लेखाअधिकृत गोविन्द प्याकुरेल र स्वास्थ्य शाखाकी निका रिजालको कोठा सार्नका लागि नगरका नगरप्रहरी र कर्मचारीलाई काममा लगाईएको थियो । कार्यालय समयमै प्याकुरेलले कार्यालयको आफ्नो  शाखा बन्द गरेर नगरका ७ कर्मचारी खटाएर कोठा सार्न लगाएका थिए । प्याकुरेल र रिजाल श्रीमान श्रीमति हुन् । त्यसैगरी नगरपालिकाकै ट्याक्टर समेत उक्त कामको लागि दुरुपयोग गरिएको थियो । नगरपालिकाको ट्याक्टर , ट्रिपर , दमकल लगायतका सवारीसाधन पनि दुरुपयोग हुने गरेको छ ।

नगरपालिकाका कर्मचारीहरुले सवारीसाधनहरुलाई समेत नीजि काममा प्रयोग गर्ने गरेको स्थानीयको आरोप छ । जनप्रतिनिधि तथा कर्मचारीहरुले नीजि सामाग्रीहरु ओसारपसार गर्न समेत नगरको सवारी प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ । नगरप्रहरी तथा कार्यालय सहयोगीहरुलाई नीजि काममा लगाउने गरिएको नगरप्रहरीहरुको भनाई छ ।

समय समयमा नगरप्रहरी लगायतका कर्मचारीहरुलाई दुरुपयोग गरिएको भन्दै २ नम्बरका वडाध्यक्ष प्रेम थापाले  नगर प्रमुख  ज्ञानेन्द्र श्रेष्ठलाई समेत ध्यानकर्षण गराएका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार