• २०७६ असोज ३० बिहीबार

ठेक्का पाउने कम्पनीले अब कम्तीमा ५ वर्ष मर्मतको जिम्मेवारी लिनुपर्ने

 काठमाडौं,

भौतिक निर्माण तथा पूर्वाधार आयोजनाको ठेक्का पाउने कम्पनीले अब कम्तीमा ५ वर्ष मर्मत सम्भारको जिम्मेवारी लिनुपर्ने भएको छ । गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गर्ने र ठेक्का पाएर काम नगरी अलपत्र छाड्ने ठेकेदार कम्पनीलाई लक्ष्य गरी सरकारले कडाइ गर्ने भएको हो । 

आगामी आर्थिक वर्ष २०७६/०७७ देखि ठेक्का लगाउने आयोजनाका हकमा सम्बन्धित निर्माण कम्पनीले ५ वर्षसम्म मर्मत सम्भारको जिम्मेवारी लिएमा मात्र ठेक्का दिइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । सार्वजनिक खरिद ऐनअनुसार, निर्माण आयोजनाको गुणस्तर नियन्त्रण गर्ने उद्देश्यले नयाँ ठेक्कामा यस्तो नियम लागू गरिएको कार्कीले बताए । 

अहिले झन्डै १८ सयभन्दा बढी बहुवर्षे ठेक्काका आयोजना निर्माण व्यवसायी र कम्पनीकै कारण रुग्ण छन् । पटक पटक म्याद थपेर पनि त्यस्ता आयोजना पूरा हुन सकेका छैनन् । विभिन्न सडक, पुल र अन्य पूर्वाधारका आयोजना ‘लो बिड’का आधारमा मूल्याङ्कन गरी ठेक्का दिने गरिएको छ । 

न्यून बोलकबोल गर्ने निर्माण कम्पनीलाई ठेक्का दिँदा आयोजनाको ‘मोबिलाइजेसन’बापतको भुक्तानी लिएर आयोजना अलपत्र छाड्ने गरेका छन् । निर्माणको गुणस्तर नियन्त्रण र समयमै सम्पन्न गर्नका लागि सार्वजनिक खरिद ऐन संशोधन गर्न लागिएको कार्कीले बताए ।

आइतबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटसम्बन्धी छलफलमा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले निर्माणका आयोजनाको गुणस्तर र समयमै सम्पन्न गर्न ठेकेदार कम्पनी जिम्मेवार बन्नुपर्ने बताए । उनले जुनसुकै निर्माण आयोजनामा पनि निर्माण कम्पनीले कम्तीमा ५ वर्ष मर्मत र सम्भार गर्नेगरी ठेक्का दिइने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार