• २०७६ असोज ३० बिहीबार

गाँजा सेवनका कारण बढ्दो मानसिक समस्या

लन्डन,
कडा खालका गाँजा सेवनको कारण गम्भीर मानसिक रोगहरू देखा पर्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। युरोपेली सहरहरूमा गरिएका अनुसन्धानबाट तिनीहरूले मानसिक समस्याका दस वटा नयाँ घटना मध्ये एउटा यस्तो गाँजासँग सम्बन्धित रहेको दाबी गरेका छन् ।

दि लान्सेट साइक्यट्रिमा तिनीहरूले भनेका छन् ,‘ लन्डन र आम्सर्टडम्समा बिक्री हुने गाँजा निकै कडा हुने भएकाले ती स्थानमा यसको खतरा अझै बढी रहेको छ । ’ विशेषज्ञहरूका अनुसार दैनिक रपमा गाँजा सेवन गर्नेहरूमा पनि मानसिक समस्याहरू देखिने गरेका छन् ।

तिनीहरूले मानिसहरूले यसको सम्भावित खतराबाट जोगिन सतर्क हुनुपर्ने सुझाव दिएका छन् । यद्यपि यस अध्यनले गाँजाबाट हुने हानिको प्रमाणहरू पेस गरेको छैन। प्रमुख अनुसनधानकर्ता तथा मनोचिकित्सक डाक्टर मार्टा डी फोर्टी भन्छिन् , ‘ यदि तपाईँहरू कडा खालका गाँजा प्रयोग गर्नुहुन्छ भने यसको सम्भावित खतराबारे पनि सोच्नुहोस् ।

बेलायतको राजधानी लन्डन स्थित रोयल कलेज अफ साइक्याट्रिस्टका डाक्टर एड्रियन जेम्सले यो अध्ययन निकै मनासिब भएको र यसका परिणामहरूलाई गम्भीरतापूर्वक लिइनुपर्ने बताएका छन् । गाँजा सेवनको कारण मानिसहरूलाई वास्तविकता भुल्ने , विभिन्न आवाज सुने जस्तो , यथार्थतामा नरहेका वस्तुहरू देखेजस्तो र विचार अलमलिने जस्ता भ्रमहरू हुने बताइएको छ ।

डाक्टरहरूले कडा खालका गाँजामा टिएचसि नामक तत्त्व हुने र त्यसले बढी मात द्धढाउने गरेको बताउँछन् । अचेल लन्डनका गल्लीहरूमा बिक्री हुने ९४ प्रतिशत गाँजामा १४ प्रतिशत टिएचसि रहने गरेको विशेषज्ञहरूको दाबी रहेको छ ।

एड ग्रिडली नामक पुरुषले अहिले मानसिक समस्याको कारण तिन प्रकारका औषधि लिइरहेका छन् । गाँजाकै कारण दिग्भ्रमित हुने मानसिक रोग स्किजोफ्रनियाको सिकार भएका उनले आत्महत्याको समेत प्रयास गरेका थिए । गाँजा सेवनकै कारण आफूलाई यस्तो समस्या आएको कुरामा विश्वस्त भएका उनले अहिले यो दुव्र्यसन छोडिसकेका छन् ।

किंग्स कलेजका अनुसन्धानकर्ताहरूले लन्डन र ब्राजिलका केही भाग लगायत युरोपेली सङ्घका एघार वटा सहरमा गाँजा प्रयोग सम्बन्धमा हध्ययन गरेका थिए । तिनीहरूले मानसिक समस्या देखा परेका ९ सय १ जना र अन्य सामान्य स्थितिका १ हजार ३ सय ३७ जना माथि तुलनात्मक अध्ययन गरेका थिए ।

यदि बजारबाट कडा खालका गाँजा हटाउने हो भने प्रत्येक वर्ष लन्डनमा एक लाख व्यक्तिमा हुने मानसिक समस्या ४५ दशमलव ७ बाट ३१ दशमलव ९ प्रतिशतमा झार्न सकिने वैज्ञानिकहरूको दाबी रहेको छ । तर गाँजा सेवन अझै विवादास्पद रहेपनि अमेरिकाका विभिन्न राज्य लगायत विश्वका थुप्रै मुलुकमा यसलाई वैधानिकता दिइएको छ ।

-एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार