• २०७६ असार ५ बिहीबार

मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी आयोजनाको मन्त्री मगरद्वारा शिलान्यास

कास्की,

खानेपानी मन्त्री बिना मगरले पोखरा महानगरपालिका वडा नम्बर १९ स्थित मर्दी खोला खानेपानी प्रशोधन शुद्धीकरण आयोजनाको मङ्गलवार शिलान्यास गरेकी छन् । मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम सुरु भएको हो । 

आयोजनाको शिलान्यास गर्दै खानेपानी मन्त्री मगरले देशै भरि प्रशोधित खानेपानी पु(याउन सरकार योजनाका साथ अघि बढेको बताएकी छन् । प्रशोधित स्वच्छ खानेपानीद्वारा नै रोगको महामारी नियन्त्रण गर्न सकिने उनले बताइन् । 
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्,  '८८ प्रतिशत जनताले आधारभूतस्तरको खानेपानी पाएका छन् । २० प्रतिशतले मात्र प्रशोधित स्वच्छ पानी पिउन पाएका छन् । सरकारले प्रशोधित खानेपानी पु-याउन यसपालि बजेटमा प्राथमिकता दिएको छ ।' 

शुद्ध र प्रशोधित पानीको सुनिश्चित गर्नका लागि चुनौती रहेपनि सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य पुरा गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको उनले बताइन् । मन्त्री मगरले भनिन्, 'अहिले पनि धेरै जनताले शुद्ध र प्रशोधित खानेपानी खान पाएका छैनन् । यसमा कसैको ध्यान गएको छैन । रोग लागेपछि हामी औषधी लिएर पुग्छौँ । बजेट छुट्ट्याउने गर्छौँ तर पानी प्रशोधित गर्ने योजनामा ध्यान दिँदैनौ ।'

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले २ वर्ष भित्र आधारभूतस्तरको खानेपानी सेवा पु-याउने अभियानमा प्रदेश सरकार जिम्मेवारीका साथ अघि बढेको बताए । सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्न र एक घर एक धाराको नीतिलाई सफल पार्न प्रदेश सरकार तयार रहेको मन्त्री बस्नेतले प्रतिबद्धता जनाए । गण्डकी प्रदेशका प्रदेश सदस्य कृष्ण थापाले विकास निर्माणको काममा कोही कसैले पनि विरोध गरेर उपलब्धि हासिल नहुने बताए । विकास निर्माणको काममा विरोध नगर्न र सबै मिलेर अघि बढ्न प्रतिबद्धता जनाउनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा प्रदेश सभा सदस्य रामजी बराल, पोखरा महानगरपालिकाका मेयर मान बहादुर जी सी, खानेपानी संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद र नेपालका लागि जापानका राजदूत मासामिची साइगो लगायतका वक्ताले यो आयोजना सफल बनाउन सबैलाई आग्रह गरेका थिए । 

खानेपानी मन्त्रालयको उपत्यका बाहिर सुरु हुन लागेको यो पहिलो ठुलो आयोजना हो भने मेलम्ची पछि मन्त्रालयको यो दोस्रो ठुलो आयोजना हो । यो आयोजनाबाट कास्की पोखरा महानगरपालिका क्षेत्र भित्र दैनिक साढे ४ लाख जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ । 

अबको तीन वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई ४ अर्ब ८१ करोड रुपैयाँ अनुदान दिने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउन लागेको हो । जापानले यो अनुदान रकम सिभिल ठेक्काको लागि दिएको नेपाल खानेपानी संस्थानले जनाएको छ । 

जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियो । जसमध्ये हाजमा एन्दो कर्पोरेसन कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाजमा कम्पनीसँग संस्थानले २०७५ फागुन २४ गते सम्झौता गरेको थियो । हाजमा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा उक्त कामको ठेक्का पाएको हो । 

खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठुलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक डा। भुपेन्द्र प्रसादले बताए । अनुदान रकम पानी शुद्धीकरणका लागि ट्रिटमेण्ट प्लान्ट निर्माण र पाइपलाइन विस्तारमा खर्च हुने महाप्रबन्धक डा। भुपेन्द्र प्रसादले जानकारी दिए ।

दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिए । त्यस्तै खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्याङ्की निर्माण गरिनेछ । पोखराको पस्र्याङ, फुलबारी र कोल पाटनमा रिजर्भवायर ट्याङ्की निर्माण गर्न लागिएको डेपुटी प्रोजेक्ट म्यानेजर महर्जनले बताए ।  पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो । सन् २००४ मा यसको सम्भाव्यता अध्ययन गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार