• २०७६ असार ५ बिहीबार

सहकारीमा राखेको २४ करोड लिएर सञ्चालक भागे, पीडितको प्रहरीमा उजुरी

बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन् ।
साढे २१ प्रतिशत ब्याज पाइने प्रलोभन देखाएर सहकारीले सय दिने मुद्दती योजना ल्याएपछि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ र ५ लगायत वडाका बासिन्दाले करोडौं रुपैयाँ निक्षेप गरेका थिए । पीडितहरूका अनुसार कम्तीमा २ हजार जनाको रकम फसेको छ ।
सहकारीका सञ्चालकले ब्याज त परै जाओस् साँवासमेत फिर्ता दिन आलटाल गरेपछि निक्षेपकर्ताहरू रकम फिर्ताका लागि दौडधुपमा थिए । गत पुस १५ मा वडा नम्बर ५ का अध्यक्ष विजयकुमार तामाङ, सहकारीका अध्यक्ष सानु ठकुरी, उपाध्यक्ष राजकुमार ठकुरी र पीडितबीच बूढानीलकण्ठस्थित प्रहरी इकाईमा छलफलसमेत भएको थियो ।

वडाध्यक्ष तामाङका अनुसार उक्त छलफलमा सहकारीले ४५ दिनभित्र सबै निक्षेपकर्ताको रकम फिर्ता गर्ने सम्झौता गरेको थियो । कागजी भाका सकिएपछि पनि सहकारी सञ्चालकहरू सम्पर्कमा नआएपछि पीडितहरूले सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् ।

पीडितहरूका अनुसार फसेको रकम उठाउने नाममा टाठाबाठा पीडितहरूले भित्रभित्रै कुरा मिलाउन रआफ्नो मात्रै पैसा उठाउन लागिपरेका थिए । २०६५ पछि सानु ठकुरीको अध्यक्षतामा सञ्चालनमा आएको सहकारीले सात वर्षयता वार्षिक लेखापरीक्षण पनि नगरेको वडाध्यक्ष तामाङले बताए । आफ्नै दाइ, भाइ र भिनाजुको समेत सहकारीमा १३ लाख फसेको सुनाउँदै उनले भने, ‘फसेको रकम उठाउन अनेक प्रयत्न गर्‍यौं । अहिले त सञ्चालकहरू नै फरार भए ।’

वडाध्यक्ष तामाङले ब्याजको प्रलोभनमा सहकारीले सबैलाई फसाएको बताए । वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले आफ्नी श्रीमतीको पनि रकम फसेकोहुन सक्ने बताए । स्थानीय जयबहादुर श्रेष्ठले आफ्नो६ लाख फसेको सुनाए भने चण्डेश्वरी मानन्धरले दिदीबैनीको २३ लाख फसेको बताइन् । ‘आफ्नै पैसा निकाल्न दर्जनौं पटक प्रयास गर्‍यौं । सञ्चालक भागेको भाग्यै भए । ब्याज
त त्यस्तै हो, साँवा पनि गुम्यो,’ उनले भनिन् ।

स्थानीयबिन्दा माया तामाङले खाई नखाई गरेर जोगाएको चारलाख ७५ हजार फसेको सुनाइन् । स्थानीय बहादुर लामाले प्रशस्तै ब्याज पाइने सुनेपछि आफ्नो, श्रीमती र छोरीका नाममा खाता खोलेर सहकारीमा साढे २२ लाख जम्मा गरेका थिए । उनले भने, ‘सहकारीले सबैलाई डुबायो ।’ गलैंचा कारखानामा काम गरेर कमाएको १२ लाख गुमाएकी लालीमाया श्रेष्ठले भनिन्, ‘अब कसरी पैसा उठाउने १ ब्याज नभए पनि साँवा त चाहियो नि ।’

पीडितहरूका अनुसार सुरुका केही महिना सहकारीले भनेअनुसार नै ब्याज दिएपछि नयाँ नयाँ सदस्यले पनि रकम जम्मा गर्न थालेका थिए । कैयन् बचतकर्ताले ब्याजको रकम फेरि सहकारीमै ब्याजमा लगाएका थिए । चर्को ब्याजको लोभमा धेरै बचतकर्ताले परिवारका सबै सदस्यको नाममा खाता खोलेको देखिन्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार