• २०७६ मङ्सिर ३० सोमबार

आरटीजीएस पुनः सञ्चालन, अब चेक नकाटी रकम झिक्न सकिने

 नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली शुक्रवार (आज) देखि पुनः सञ्चालन गर्ने भएको छ । करीब २ महीनाअघि औपचारिक रूपमा सो प्रणाली शुरू भए पनि सफ्टवेयरमा समस्या आउँदा एक सातामै सेवा रोकिएको थियो । 

अन्तरराष्ट्रिय स्तरको आरटीजीएस सफ्टवेयर प्रणालीलाई नेपालको सन्दर्भमा ढालेर ‘इन्टरफेस’ सफ्टवेयर बनाएपछि फेरि सञ्चालन हुने भएको हो । यस प्रणालीअन्तर्गत एउटा बैंकमा रहेको व्यक्ति वा संस्थाको खाताबाट चेकको प्रयोग नगरी एउटा आदेश फारमको भरमा तत्कालै अर्को बैंकमा रहेको अर्को व्यक्तिको खातामा रकम जम्मा वा ट्रान्सफर गर्न सकिन्छ । उक्त प्रणालीबाट रू. २ लाखभन्दा बढी रकमको कारोबार गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 

सफ्टवेयरका केही ‘लुपहोल’हरू देखिएकोले कारोबारलाई बीचैमा रोक्नु परेको र अहिले हिसाब मिलान गर्ने सफ्टवेयर बनेपछि फेरि सञ्चालन गर्न लागिएको राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका उपनिर्देशक टेकराज भण्डारीले बताए । उनका अनुसार यसअघि उक्त प्रणाली राम्रोसँग चलेको थिएन । जुन खातामा जति रकम कारोबार भएको छ, सोही बराबरको निर्देशनलाई प्रणालीले बुझ्न नसकेकोले ‘इन्टरफेस’ सफ्टवेयर बनाउनु परेको हो । 

यो क्रममा केन्द्रीय बैंकले केही ‘बिजनेश प्रोसेस’ समेत परिवर्तन गरेको छ । आरटीजीएसको सदस्य संस्थाले केन्द्रीय बैंकबाट नगद झिक्दा हाल प्रयोग गरेको चेकको सट्टामा राष्ट्र बैंकले तोकेको ‘एनआरबी पुल अकाउन्ट’ प्रयोगको व्यवस्था गरेको छ । नेपाली मुद्रा, डलर, पाउण्ड, युरो र जापानी मुद्राका फरकफरक खाता हुने बताइएको छ । ‘आरटीजीएसमा भएको भाषा दुवै पक्षमा सञ्चार गर्ने सफ्टवेयर बनेको छ,’ उनले भने, ‘परीक्षण गर्दा सफल भएका छौं । अब यो प्रणालीबाट कारोबारमा रोकावट नहुने अपेक्षा गरेका छौं ।’  यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार