• २०७६ मङ्सिर २९ आइतबार

अत्याधिक महंगो भएपछि बंगलादेशकी प्रधानमन्त्रीले छाडिन् प्याज खान

काठमाडौँ, 
प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन् । अरू बेला प्रतिकिलो ३० टाका (बंगलादेशी मुद्रा) मा पाइने प्याज अहिले २६० टाका पुगेपछि प्रधानमन्त्री शेख हसिनाले प्याज नखाने घोषणा गरेकी हुन् ।

हसिनाको सचिवालयका प्रेस उपसचिव हसन जहिद तुसरले हवाइजहाजबाट प्याज आयात भइरहेको बताए। ‘प्रधानमन्त्रीले पनि प्याज खान छोडिदिनुभयो। शनिबार प्रधानमन्त्री निवासमा पाकेका कुनै पनि खानामा प्याज राखिएको थिएन,’ उनले भने। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार आफ्नो देशमा उत्पादन नहुने आयातित प्याज प्रयोगमा जनताला पनि निरुत्साहित गर्ने उनको सोच छ । 

ठूलो मात्रामा प्याज खपत हुने बंगलादेशमा भारतले निर्यात प्रतिबन्ध लगाएपछि अभाव हुन थालेको हो। अहिले बंगलादेश सरकारले म्यानमार, टर्की, चीन र इजिप्टबाट प्याज आयात गरेर माग धान्ने प्रयास गरिरहेको छ।  ट्रेडिङ कर्पोरेशन अफ बंगालदेशले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल खोलेको छ। त्यहाँ ४५ टाकामा एक किलो प्याज पाइन्छ।

सुपथ मूल्यमा प्याज किन्न मान्छेहरू घन्टौंदेखि लाइन बसेका हुन्छन्। ‘अरू दुई घन्टा कुर्नु परे पनि म कुर्छु। यहाँको प्याज किने मैले एक किलोमा साढे २ सय जति टाका बचाउँछु। पैसा बचाउन म यहाँ उभिएको छु,’ लाइनमा बसेका रतन नामका एक शिक्षकले समाचारपत्र गार्डियनलाई भनेका छन्,‘म ४१ वर्षको भएँ। अहिलेसम्म प्याजको भाउ १२० टाकाभन्दा बढी भएको मैले देखेको थिइनँ।’

भारतबाट अन्य मुलुकमा प्याज निर्यात नभएपछि नेपालमा पनि यसको प्रभाव परेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारका विकास समितिका अनुसार अहिले थोकमा सुकेको प्याजको मूल्य १६० रुपैयाँ तोकिएको छ । प्याजको खुद्रा मूल्य भने औसत  १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार