• २०७६ मङ्सिर २४ मंगलबार

ई-पासपोर्ट छाप्ने प्रकृयामा प्रधानमन्त्रीको हस्तक्षप

मुलुकभित्रै सुरक्षा मुद्रण प्रेस स्थापना प्रक्रिया अघि बढाउने भन्दै ५० लाख ई-पासपोर्ट छाप्न परराष्ट्र मन्त्रालयले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अन्तिम घडीमा आएर सरकारले रद्द गरेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्षा निर्देशनमा बोलपत्र प्रक्रिया बिहीबार राति रद्द गरिएको हो । बोलपत्र रद्द गर्नेबारे बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) पछि नेपाल आगामी असार महिनादेखि ‘ई-पासपोर्ट’ मा जाने भएपछि नयाँ पद्धतिको पासपोर्ट छपाइका लागि गत भदौ १० मा परराष्ट्र मन्त्रालयको राहदानी विभागले बोलपत्र आह्वान गरेको थियो । 

‘सुरुको ४५ दिने बोलपत्रको म्याद टुंगिएपछि २२ दिन र त्यसपछि ७ दिनका लागि म्याद थपेर शुक्रबार दिउँसो बोलपत्रका सबै प्रस्ताव सार्वजनिक गरिने टुंगो भएको थियो। अन्तिम घडीमा रद्द भए पनि विस्तृतमा मलाई जानकारी भएन,’ राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भने । 

विधानसम्मत बोलपत्र प्रतिस्पर्धालाई अन्तिम घडीमा रद्द गरिएको अवस्थालाई जानकारहरूले अनौठो मानेका छन् । ५० लाख पासपोर्ट विदेशमा एकैचोटि लगेर छाप्ने परराष्ट्रको निर्णयप्रति असन्तुष्ट रहेका प्रधानमन्त्री ओलीले दुई साताअघि परराष्ट्रका सम्बद्ध अधिकारीलाई आफ्नो धारणा सुनाएका थिए। 

असंलग्न आन्दोलन सम्मेलनमा भाग लिन गत कात्तिक ८ मा बाकु भ्रमणमा जानुअघि उनले राहदानी विभागका महानिर्देशक खड्कासहितका पदाधिकारीलाई बालुवाटार बोलाएर ई-पासपोर्टको अन्तराष्ट्रिय बोलपत्र आह्वा प्रक्रियाप्रति चर्को असन्तुष्टि प्रकट गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार