• २०७६ मङ्सिर २४ मंगलबार

मेरिलेबोन विरुद्धको तीन दिवसीय खेलमा नेपालको लज्जास्पद हार

काठमाडौँ, 
झन्डै १५ वर्षपछि नेपालमा आयोजित प्रथम श्रेणी तीनदिवसीय खेलमा घरेलु टोली नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग लज्जास्पद हार बेहोरेको छ । नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

३ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली इनिंग्स ४१ ओभरमा मात्र १ सय ८४ रनमा समेटिएको हो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको योगदान दिए । करण केसी १८ रन बनाएर पेभेलियन फर्किए भने सोमपालले करण केसीसँग आठौं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए ।

नवौं विकेटका लागि सोमपालले सन्दीप लामिछानेसँग अद्र्धशतकीय साझेदारी गरे । नेपालको दुबै पारीमा ओपनर र मध्यक्रमका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन । राजु रिजाल पाँच चौकासहित ३१ रनको योगदान दिए । यसअघि कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले आफ्नो पहिलो पारीमा ३ सय ६४ रन बनाएको थियो । उसको लागि मायल्स हयामोन्डले ५२, विलियम भेन्डरस्पारले ५३, यासिर अराफातले सर्वाधिक ६५ रनको योगदान दिएका थिए ।

नेपालका लागि सोमपाल कामीले दुई, करण केसीले तीन, सन्दीप लामिछानेले तीन तथा शरद भेषवाकरले दुई विकेट लिए । जवाफमा नेपाल मात्र १ सय ५३ रनमा खुम्चिन पुग्यो । ३३ रनका पाँच विकेट गुमाएको नेपालका लागि विनोद भण्डारीले सोमपाल कामीसँग छैठौं विकेटका लागि ७२ रनको साझेदारी गरेर इनिंग्स उकासेका थिए । भण्डारी ३६ तथा कामी २६ रन बनाएर पेभेलियन फर्किए ।

सन्दीप लामिछानेले उत्कृष्ट ३९ रन बनाएर नेपाललाई सहज योगफलसम्म पुर्याए । पहिलो इनिंग्समा २११ रनको अग्रता लिएको एमसीसीले आफ्नो दोस्रो इनिंग्समा छ विकेटको क्षतिमा १८१ रन बनाएर नेपाल समक्ष ३ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार