• २०७६ मङ्सिर २४ मंगलबार

नेपाल सरकारले फेरि भन्यो भारतले सार्वजनिक गरेको एकतर्फी राजनीतिक नक्साको औचित्य छैन

काठमाडौँ, 
सरकारले मुलुकको सार्वभौमिकताको रक्षाका विषयमा स्पष्ट रहेको भन्दै भारतले एकपक्षीय रूपमा जारी गरेको राजनीतिक नक्साका बारेमा कूटनीतिक र राजनैतिक रूपमा छलफल हुने जनाएको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले सार्वभौमिकताको रक्षाका विषयमा सरकार स्पष्ट रहेको भन्दैभारतले एकपक्षीय रूपमा जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्ने र कूटनीतिक र राजनैतिक रूपमा त्यस यस विषयमा समाधान खोज्ने बताए । मन्त्री बास्कोटाले कतिपय सीमासँग सम्बन्धित विषयहरू टुङ्गो लगाउन बाँकी रहेको र करिब दुई प्रतिशत ठाउँहरूमा उत्पन्न विवाद समाधानका लागि कूटनीतिक तथा राजनीतिक पहल गर्ने धारणा राखेका छन् । उनले अधिकारको रक्षा , स्वाधीनताको रक्षामा अलमलिनुपर्ने अवस्था नआउने समेत बताए ।

त्यस्तै मन्त्री बास्कोटाले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको लागि हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन निर्णय भएको बताए । उनले मुलुक विकासको बाटोमा अघि बढेको भन्दै भ्रम छर्ने काम कसैबाट पनि हुन नहुने उल्लेख गरे । मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै बास्कोटाले एसियाली पूर्वाधार लगानी बैङ्कबाट विद्युत् तिरण प्रणालीलाई स्तरोन्नति तथा विस्तार आयोजनाका लागि प्रस्तावित ११२.३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले नेपाल र जर्मनीबिच कूटनीतिक नियोगमा कार्यरत कूटनीतिक कर्मचारीको परिवारका आश्रित सदस्यलाई रोजगारका लागि अनुमति दिन सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । लेखा प्रमुख सेनानी गोपाल प्रसाद सिग्देललाई लेखा महासेनानी दर्जामा पदोन्नति गरिएको छ भने १३ औँ दक्षिण एसियाली खेलकुद २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी पहिलो संशोधन कार्यविधि २०७६ स्वीकृत गरिएको प्रवक्ता बास्कोटाले जानकारी दिए । मन्त्रीपरिषद्ले नेपाल सरकार प्रदेश र स्थानीय तहबिच बाडफाड हुने प्राकृतिक रोयल्टीको बाडफाडको आधार सीमा मार्गदर्शन विधि र हिस्सा स्वीकृत गरेको छ ।

आर्थिक ऐन, २०७६ को दफा १८ को उपदफा ९१० बमोजिम करको दर घटाउने, बढाउने वा छुट दिने, कर सम्बन्धी विषयमा सैद्धान्तिक सहमति प्रदान गर्ने र अन्तःशुल्क नियमावली, २०५९ संशोधन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता बास्कोटाले जानकारी दिएका छन् 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार