• २०७६ मङ्सिर ५ बिहीबार

बालविवाह रोक्ने अभियानकर्मीको पीडा : घरमै आएर बलात्कारको धम्की

वैशाख २० गतेको विवाहका लागि १८ गते गाउँमा निम्ता बाँडियो । दैलेखमा भएको परिवार नेपालगञ्ज झर्‍यो । नेपालगञ्जमा विवाहको तयारी शुरु गरियो । बालविवाहविरुद्ध काम गर्ने अभियानकर्मीले त्यसको सुइँको पाउनुभयो । उहाँले गनापुर प्रहरी चौकीलाई खबर गर्नुभयो । नेपालगञ्ज उपमहानगर–२० नयाँबस्तीकी हीरा खत्री बालविवाह रोक्न पुग्नुभयो ।

उहाँका कारण ६ जोडीले एकै पटक गर्न लागेको बालविवाह रोकियो । एक जोडीले भागेर भारतमा बिहे गर्‍यो । “एउटा विवाह मात्र रोक्न सकिन उनीहरु भारत गएर बिहे गरे ।”, उहाँले भन्नुभयो ।

कुरा त्यतिमा सकिएन, खत्री उनीहरुको आँखाको तारो बन्नुभयो । बाटामा हिँड्न उहाँलाई सकस भयो । गाउँलेले विवाह भाँडी भन्ने आरोप लगाए । “भन्न र गर्नसम्म गरे तर म आफ्नो कर्मबाट विचलित भइन”, उन्नाइस वर्षीया खत्रीले भन्नुभयो, “ घरमै आएर धम्की दिए । बलात्कार गर्छौँ सम्म भने । मलाई मात्र होइन परिवारलाई पनि डर देखाए, राति घरमा ढुङ्गा हाने । परिवार डराए यो काम छाड भने तर मेरो मनले मानेन”, उहाँले निर्धक्क भन्नुभयो, ‘बालअधिकारका लागि काम गर्न उपाध्यक्ष भएकी हुँ ।”

जिल्ला किशोरी सञ्जालका उपाध्यक्ष खत्री सानैदेखि राम्रोसँग देख्न सक्नुहुन्नथ्यो । उहाँ जन्मजात न्यून दृष्टियुक्त हुनुहुन्छ । उहाँ समाजको नकारात्मक अभ्यास सहजै पहिल्याउनुहुन्छ ।

एकातिर आफूखुशी विवाह गर्ने कारण बालविवाह रोक्न चुनौती छ भने अर्कातिर बालविवाह रोक्ने बालअभियानकर्मी आफैँ जोखिममा पर्दै आएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१ का उपमहानगरस्तरीय बाल क्लबका सल्लाहकार दिवाबहादुर क्षेत्री समुदायमा बालविवाह रोक्न खोज्दा आफूहरु असुरक्षित भइरहेको बताउनुहुन्छ । “प्रहरी हामीले दिएको सूचनाले समुदायमा पुग्छ तर सूचना दिनेको परिचय गोप्य राख्दैन ।” उहाँले प्रहरीले सूचना चुहाएकै कारण आफूहरु समुदायको टारगेटमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह गर्ने अभिभावक हामीलाई दोष दिइरहन्छन् । समुदायमा बस्न गाह्रो भयो । प्रमाण जुटाउन गाह्रो छ, निम्तो बाँडिएपछि मात्र हामी सुइँको पाउछौँ ।जन्ममितिका लागि जन्मदर्ता खोज्न धौ धौ हुन्छ । प्रहरीसमेत प्रमाण जुटाएपछि मात्र एक्सनमा आउँछ । यसले गर्दा विवाहमण्डपबाट बालविवाह रोक्न थप चुनौती थपिन्छ ।”

बालविवाह रोक्न खोज्दा समुदाय र प्रहरीले समेत सही समयमा सहयोग नगर्ने उनीहरु बताउँछन् । नगरस्तरीय किशोरी सञ्जालका अध्यक्ष पूजा बर्मा प्रहरीले बालबालिकाको सूचनालाई सतही रुपमा बुझ्दा समस्या हुने गरेको बताउनुहुन्छ । “हाम्रो काम सूचना दिने हो प्रहरीको काम कारवाही गर्ने हो ”, उहाँले भन्नुभयो, “हामी आफैँ घटना सुल्झाउन सक्दैनौँ ।”

महिला तथा बालबालिका सेवा केन्द्र बाँकेका प्रमुख श्यामकुमारी पाइजा बालअधिकार अभियानकर्मी नै आफैँ अगाडि आउँदा जोखिममा पर्ने गरेको बताउनुहुन्छ । “खबर पुगेसम्म बालविवाह रोक्न पुग्छौँ”, उहाँले भन्नुभयो, “सूचना ढिलो आउँदा पनि जोखिम बढेको हुन सक्छ । ”

बाँकेमा बालविवाहका घटना बढ्दै गए पनि प्रहरीका मुद्दा दर्ता भने कमै हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत वर्ष बालविवाहका चार मुद्दा दर्ता भएका छन् । नेपालमा२० वर्षपछि विवाह गर्न सकिने व्यवस्था छ  तर भारतको कानूनले १८ वर्ष पुगेकालाई बिहे गर्ने कानुनी मान्यता दिएको छ । नेपाल र भारतको वैवाहिक कानूनी मान्यता फरक पर्दा सीमा क्षेत्रमा बालविवाह रोक्न सकिएको छैन । गुपचुपमा भारतमै बिहे गरेर बस्ने हुँदा बालविवाहका मुद्दा कम दर्ता हुने गरेको पाइजाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार