• २०७६ कार्तिक ३ आइतबार

तपाइलाई दशैंको महत्व थाहा छ ? हेर्नुहोस् विस्तृतमा

दशैंको महत्वबारे चर्चा गर्नुपूर्व आजका बालबालिका र किशोर किशोरीहरुको मनोबिज्ञानको बारेमा थोरै चर्चा गर्नु सान्दर्भिक होला । हाम्रो हिन्दू संस्कृतिमा भएका चाडपर्व रीतिरिवाज आदिमा सुन्दै हाँसो लाग्ने अलौकिक वा जादुगरी कथा किम्बदन्तीले मात्र अबका पुस्ताले चित्त बुझाउने छैनन् । विज्ञानको युगमा बिज्ञानसम्मत कारणहरु खोतल्न र खोज्न थालिरहेका छन् ।

वेद पुराण र किम्बदन्ति कथाहरु लोक साहित्य हुन् । साहित्यका बिम्ब र प्रतीकले ब्यक्त गर्न खोजेको कुरा नबुझेर पुर्खाले मान्दै आएको परम्परा भन्दै हामीले मान्दै आयौं तर आजका बालबालिका र किशोर किशोरीहरु त्यो मान्ने वाला छैनन् । किनभने यो साइबर युग हो कुनै कर्मकाण्ड गर्नुको पछाडी त्यसको बैज्ञानिक सत्यतथ्य बुझ्न चाहने जिज्ञाशू रहेको हामीले पाउन थालेका छौं ।

अतस्हाम्रो संस्कृति र रीतिरिवाजको बैज्ञानिक पक्ष उनीहरुलाई बुझाउन सकेनौ भने उनीहरुले त्यो मान्नेवाला छैनन् फलस्वरूप हाम्रो धर्म संस्कृति र रितिरिवाजको बारे बैज्ञानिक सत्य तथ्य खोज्नु अति आबस्यक भइसकेको छ र प्रस्तुत लेख त्यसैको एउटा झिनो प्रयास हो ।

संस्कृत शब्द दशमीबाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो “दशैँ” । नेपाली हिन्दु सम्प्रदायमा दशैं सबै भन्दा ठुलो र महत्वपुर्ण चाडको रुपमा मनाउने परम्परा रही आएको छ रआश्वीन शुक्ल प्रतिपदादेखि पुर्णिमासम्म १५ दिन धुमधामले मनाइने यो दशैं कहिलेदेखि शुरु भयो यसको कुनै ईतिहास भेटिएको छैन ।

हाम्रा पिता पुर्खाहरु अर्धबन्य अवस्थाबाट बिकशित हुँदै कृषि युगमा प्रवेश गरे पछी दशैं मान्ने परम्परा शुरु भएको हुनु पर्दछ र पछी गएर धार्मिक आवरण ओढाइएको हुनसक्छ भन्ने विद्वानहरुको मत छ । प्राचिन कालदेखि हिन्दु समाजमा दशैं पर्व अत्यन्तै महत्वका साथ मनाइने गरिन्छ । दशैंको सामाजिक , सांस्कृतिक र राजनीतिक महत्वको बारेमा पछी चर्चा गरौंला पहिला पौराणिक महत्वको बारेमा चर्चा गरौँ ।

देवी पुराण अनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरुका राजा ईन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे र देवताहरु माथि आतंकपूर्ण शासन गर्न थाले । देवताहरु डराएर ब्रम्हाको शरणमा गए । ब्रम्हाको सल्लाह अनुसार बिष्णु सहित महादेवको शरणमा पुगे ।

सबै देवताहरुको छलफल पछी आफ्नो आफ्नो शक्तिपुंज निकाले । ती शक्ति पुञ्जहरु एकत्रित भइ शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण गरे । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्ध पछी शन्ड मुन्ड र रक्तबिज सहित महिषासुरको बध गरे र दशौँ दिनमा विजय उत्सब मनाइयो । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो ।

अद्भुत रामायण र श्रीमद् देवी भागवत अनुसार अर्को कथा प्रसंग जोडिएको छ दशैंसंग । रामले रावणको बध गरेर अयोध्या फर्के पछी ठुलो जन सभा भयो । त्यो सभामा रामको जयजयकार र वीरताको बखान चली रहंदा सीताले मुख लेप्र्याएर व्यंग्य मुश्कान छोडेको दृश्य बिश्वामित्र ले याद गरेका रहेछन् । जनसभा समाप्त भए पश्चात बिश्वामित्रले सीतासंग सोधे ।

धेरैबेरको अनुरोध पछी सीताले भनिन् त्यो जाबो दश टाउके रावणलाई बध गर्दा त रामको बिरताको यत्रो बखान हुञ्छ भने सहश्र टाउके अहिरावण र महिरावणलाई बध गरे भने तिमीहरुले के गर्दा हौ १ त्यसकारणले हाँसेकी हुँ । सीताको यो अभिव्यक्तिले रामसभामा ठुलो तरङ्ग पैदा गर्यो । रामको पुरुषार्थमा धक्का लाग्यो र उनले भने त्यसो भए म अहिरावण र महिरावणको बध नगरिछोड्दिन । रामले प्रतीज्ञा गरे । युद्धको तयारी भयो ।

घमासानको युद्धमा राम समेत उनका भाइहरु मुर्छित भए ,कोलाहल मच्चियो । त्यही मौकामा सीताले नवदुर्गा भगवतीको रौद्र रुप धारण गरि सहश्र टाउके रावणको बध गरिन् । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको थियो र दशमीको दिन बिजयोत्सब मनाए ।

श्रीमद देवी भागवत र तुलसी कृत रामायण अनुसार लङ्केश्वर रावणलाई रामले पराजित गर्न असमर्थ भए पछी शक्ति स्वरुपा भगवती दुर्गाको आह्वान गरे । चैत्र शुक्ल प्रतिपदादेखि नवदुर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ रामको लङ्का विजय भयो । त्यसैको खुशियालीमा चैत्र महिनामा दशैं मनाउंदै आइरहेकोमा गर्मि मौसमको कारणले त्यही दशैं असोजमा सारेको भन्ने उक्तिहरु पनि भेटिन्छन् ।

उपरोक्त आख्यानहरु तत्कालिन साहित्यकारहरुका साहित्य हुन् । साहित्यमा बिम्ब प्रतीक हुन्छन् नै । विद्वान समीक्षक तथा पाठकहरुले महिषासुर , रावण , अहिरावण र महिरावण बिम्ब प्रतीकलाई काम क्रोध लोभ मोह अहङ्कार मद् मात्सर्य अर्थात् खराब वा असत्य पक्ष र दुर्गालाई सत्यको प्रतीक भनेर अर्थ लगाएको हुन सक्छ ।

असत्य माथि सत्यको विजय भएको प्रतीकको रुपमा दशैं पर्व भव्यताका साथ मान्ने संस्कृतिको प्रादुर्भाव भएको युगौं बिति सकेको छ । अर्का थरि मत अनुसार मानव शरीर नौवटा ढोका भएको दूर्ग हो । नौवटा ढोका भएको दूर्ग अर्थात् नव द्वारको दूर्ग नवदुर्ग । यही नवदुर्ग शब्द कालान्तरमा नवदुर्गा भएको भन्ने कथन पनि भेटिन्छन् ।

ज्ञानरुपी दीयो बालेर अन्धकाररुपी अज्ञानतालाई परास्त गरि आत्मा रुपी मन्दिर उज्यालो पार्ने र काम,क्रोध,लोभ,मोह ,अहंकार जन्य रावण र महिषासुरको जस्तो दुर्गुणहरुको बलि दिएर भगवतीलाई खुशी पार्ने दिवशको रुपमा दशैं पर्वलाई लिनु पर्दछ ,ति आधुनिक विद्वानहरु भन्ने गर्दछन ।

ऋग्वेदमा उल्लेखित धेरै कुराहरु वर्तमान समयमा बैज्ञानिकहरुले बिज्ञान संग तुलना गरेर हेर्ने र सो को अध्ययन अनुसन्धान गरिरहेका छन् । जुन बेला पौराणिक साहित्य लेखन आरम्भ भयो त्यो समय आजको जस्तो बैज्ञानिक अनुसन्धानको सुबिधा नभएकोले र सनातन धर्मका ज्ञाताहरुले पुस्तामा आफ्नो ज्ञान हस्तान्तरण गर्ने प्रवृति न्यून रहेकोले सनातन शाश्वत सत्यहरुको प्रचार प्रसार हुन नसकेको प्रतीत हुन्छ ।

हाम्रा वेद पुराण उपनिषद् आदि धार्मिक ग्रन्थले भन्दा बैज्ञानिक तथ्यमा आधारित हुँदा हुँदै पनि बैज्ञानिक तथ्यको आधारमा यसको ब्याख्या विश्लेषण र खोज अनुसन्धान गर्नु भन्दा पूजा उपासना आदिमा सीमित राखिएकोले यसको महत्व बिश्व जनमानसमा न्यून भएको हुन सक्छ । नव दुर्गाको जुन नौ वटा स्वरूप छ त्यसमा बैज्ञानिक आधार छन् भन्ने कुरा भर्खरै खुल्न आएको छ ।

आश्वीन शुल्क प्रतिपदादेखि नवमीसम्म दुर्गा कवच वा स्तोत्र पाठ गरिन्छ । नव दुर्गाको ध्यान उपासना पूजा आदि गरिन्छ ति नव दुर्गाको बैज्ञानिक स्वरूप स्वामी निशेषा नन्दका अनुसार यस प्रकार रहेको छ ।

१) प्रतिपदामा = शैलपुत्री =Potential = सम्भाबना शक्ति

२) द्वितियामा = ब्रम्हचारिणी = Magnetic = चुम्बकीय शक्ति

३ ) तृतीयामा = चन्द्रघण्टा = Sound = ध्वनी शक्ति

४) चतुर्थीमा = कुष्मान्डा = Chemical = रासायनिक शक्ति

५) पन्चमीमा = स्कन्दमाता = Kinetic = आकर्षण शक्ति

६) षष्ठीमा = कात्यायनी = Nuclear = ब्रम्हान्डीय केन्द्र शक्ति

७) सप्तामीमा = कालरात्री = Thermal = प्रसारण शक्ति

८) अष्टमीमा = महागौरी = Light = प्रकाश शक्ति

९) नवमीमा = सिध्दीदात्री = Electricity = बिध्दुतीय शक्ति

यी उल्लेख गरिएका शक्तिहरु बिश्व ब्रम्हाण्डमा र हरेक प्राणीहरुमा बिध्यमान छन् । भारतीय हिन्दु र नेपाली हिन्दुहरुको दशैँ मनाउने भिन्न भिन्न शैली छन् । दशैंलाई उल्लासमय ढंगले १५ दिन सम्म मनाउने नेपाली हिन्दुहरु नै हुन् ता पनि जात जाति र भूगोल अनुसार दशैं मनाउने बिधि फरक फरक छन् ।

हिन्दुको महान चाड दशैं भए जस्तै गैर हिन्दुहरु जस्तै उदाहरणको लागि बौध्द , इशाई , ईश्लामहरुको पनि महान चाड हुन्छन् । जुन सुकै जात धर्म वा सम्प्रदायले जस्तो सुकै चाड पर्व मनाए पनि त्यसको बैज्ञानिक आधार एउटै रहेको विश्लेषकहरु बताउँ छन् ।

काम , भोजन , आराम , मनोरन्जन र सुरक्षा यी सबै मानवीय प्रवृति हुन् । यिनै मानवीय प्रवृतिको आधारमा चाड पर्व मनाउनुका आधार अंगेजीका चार वटा आरमा विभाजन गरिएको छ /

१ ) Remove :- त्याग्नु , छोड्नु वा हटाउनु :- चाड पर्वमा आफ्नो घर आँगन लित पोत र सरसफाई गर्नु , रङ्ग रोगन गर्नु , पुरानो वस्तु हटाएर नया वस्तु भित्र्याउनु , पुरानो बस्त्र त्यागेर नयाँ वस्त्र धारण गर्नु , पुरानो विचार त्यागेर नयाँ नवीन सिर्जनाको योजना बनाउनु ।

२) Recharge or Restore :- जसरि मोबाइल ,घडी आदि बेलाबखत रिचार्ज गरिएन भने त्यो बन्द हुन्छ । त्यसरी नै मानवीय उर्जा शक्ति संचय गर्न जरुरि हुन्छ ।

३) Relax :- आनन्द प्राप्त गर्नु वा मनोरन्जन गर्नु । चाड पर्व जीवनको एउटा उत्सब हो । उत्सबमा अनेक परिकार भोजन र मनोरन्जन गरेर आनन्द प्राप्त गर्न सकिन्छ ।

४) Relation renew :- नाता सम्बन्ध पुनरनविकरण :- नाता सम्बन्ध जीवन भोगाईको क्रममा अनेकौ कारणले चिसिन सक्छ । चिसिएको सम्बन्धलाई न्यानो बनाउने र न्यानो सम्बन्धलाई अझै गाढा बनाउन चाड पर्व महत्व पूर्ण अवशर हो ।

उपरोक्त आधारहरु हिन्दुको दशैंको मात्र नभएर ईशाइको क्रिश्मस र ईस्टर , ईश्लामको रमजान , ईदुल फित्र ,बकरिद, किरातीको साकेला ,उधौली उभौली, थकालीको फालो, तोरन्ल, गुरुंगको टोहोंटे,ल्होसार, थारुको माघी , मधेसीको छठ र शेर्पाको ग्याल्पो ल्होसार आदिका पनि आधार हुन् भन्दा अतिशयोक्ति हुने छैन ।

किनभने यी पर्वहरु हिन्दुको दशैं जस्तै ठुलो महत्वको पर्व अथवा दशैं रहेको हामी पाउछौं । यो हाम्रो चाड होइन त्यसैले हामी यसलाई मान्दैनौं भनेर कोकोहोलो मच्चाउनुको कुनै अर्थ छैन । सबै चाड पर्व मानिसकै सिर्जना हुन् । मानव पुर्खाका अनुभव र अनुभूतिबाट संस्कृतिको निर्माण भएको हुनाले भौगोलिक कारण र जीवन जिउने विविधताका कारणले संस्कृति पनि अलग अलग हुन गएको हो । सबैले याद गर्नु पर्ने एउटा उदाहरण पेश गरूँ, जापानमा बुध्दको मुर्ति जापानी जस्तै छन् ।

चिन , थाइल्याण्ड , बर्मा , नेपाल आदिमा उस्तै छ । देवी देवताका मुर्तिको पनि त्यही हाल छ र मान्छेले आफुले जे भोजन गर्छ त्यहि वस्तु प्रसाद चढाउँछ । भौगोलिक अबस्था अनुसार वस्त्र र खाद्य वस्तुमा पनि बिबिधता छ । यी विविधताका कारणले मानिसहरु आपसमा झगडा गर्नु भनेको मुर्खता सिबाय अरु केहि होइन । त्यसैले सबै सम्प्रदायले सहिष्णुता र सद्भाव राख्दै सबैको चाड पर्वहरुलाई सम्मानको दृष्टिले हेर्नु नै मानव कल्याणको हितमा हुनेछ ।

जुनसुकै मतले जेसुकै भनेता पनि , दशैं मान्ने तरिकामा बिबिधता भए पनि आखिर दशैं त सबै हिन्दुहरुले मनाउँछन् । किनभने दशैंको सामाजिक र राजनीतिक महत्व पनि रहेकोछ । शरद ऋतु ,वन उपवनमा ढकमक्क फूल फुलेको छ । खेतमा लहलह धानका बालाहरु झुलेका छन् । वारीमा तरकारीहरू ,फलफूलहरु लटरम्म फलेका छन् । वर्षा थामिएको छ ,न जाडो छ न गर्मि । कृषि प्रधान देशका नागरिकहरुलाई हलो ,कुटो ,कोदालो र हिलो माटोबाट फुर्सद मिलेको छ ।

घरपालुवा पशुपन्छीको बंश वृद्धि भएको छ । यही उमङ्गमय वातावरणमा जिजिबिषाका लागि टाढा टाढा देश परदेशमा गएका आफन्तजनहरुसंगको मिलनले कसको मन उल्लासित हुदैन र १ मीठो खाने , राम्रो लगाउने र मनोरंजन गर्ने फुर्सदिलो क्षण मात्र नभएर नाता सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक राष्ट्रिय राजनीतिक अवशरको रुपमा पनि दशैंको महत्व रहेको छ । सरकारले पनि यस पर्वमा लामो छुट्टी दिएर र एक महिनाको तलब दशैं खर्च दिएर दशैंको महत्वलाई अझै उजागर गरेको छ ।

हुनेखानेहरुलाई सधैंको दशैं छँदै छ, हुँदा खानेहरुलाई दशैं दशा नबनोस् । दशैं राष्ट्रिय एकताको कारण बनोस् । देशमा सर्बत्र शान्ति छाओस्, विजया दशमीको यही शुभकामना ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार