• २०७६ बैशाख १० मंगलबार

कसरी मिल्ला ओली र प्रचण्डको मन ?

छलफलबाट सबै कुरा टुङ्ग्याउन दोस्रो तहका नेताको जोड

सत्तारुढ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डको सम्बन्धमा केही चिसोपन आएको छ । पछिल्लो राजनीतिक परिघटनाले ओली र प्रचण्डवीच खटपट वा मतभिन्नता देखा परेको अनुमान गर्न थालिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली डावोस बैठकमै रहेका बेला प्रचण्डले भेनेजुएला प्रकरणमा वक्तव्य निकाले । 
डावोसबाट फर्केपछि सरकारले प्रचण्डकै विज्ञप्तिलाई सदर गर्ने गरी विज्ञप्ति निकाल्यो । तर विवाद रोकिएन । सरकारको विज्ञप्तिबाट अमेरिका आस्वस्त हुन सकेन र प्रधानमन्त्रीले भनेजुयला प्रकरण बारे मुख खोले । प्रधानमन्त्रीले टेलिभिजन कार्यक्रममै प्रचण्ड चिप्लिएको प्रतिक्रिया दिए । त्यसपछि सुरु भयो सवाल जवाफ । 
ओलीले प्रचण्ड चिप्लिएको बताइरहदा प्रचण्डले ठाडै खण्डन गरे र सार्वजनिकरुपबाटै जवाफ फर्काए । भेनेजुएला प्रकरणमा पार्टीको सचिवालयले वक्तव्य निकालिसक्यो, व्यक्तिको विचारको कुनै अर्थ छैन भन्दै प्रचण्डले प्रधानमन्त्रीमाथि सार्वजनिक रुपमै कटाक्ष गरे ।
प्रचण्ड यतीमै सीमीत रहेनन् । एक अर्को कार्यक्रममा सरकारको समेत चर्को आलोचना गरे । त्यती मात्रै होइन पुरानै तरिकाले चल्न खोज्ने हो भने अर्को माओवादी जन्मिने र ठूलो लडाइँ हुने चेतावनी समेत दिए ।
हालसम्म सरकारका काम कारबाहीको बचाउ गर्दै आएका प्रचण्डले एकाएक मुख खोलेपछि नेपाली राजनीतिमा नयाँ तरंग आयो ।  
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैलीले दुई अध्यक्षको सम्बन्धमा चिसोपना आएको नेकपाका नेता बताउँछन् ।
पार्टी अध्यक्ष ओलीले प्रचण्डलाई अध्यक्ष नस्वीकारेको र सरसल्लाह समेत नगरेका कारण चिसोपना बढेको हुनसक्ने र दुई अध्यक्ष बसेर असमझदारी अन्त्य गर्नुपर्ने नेताहरुको तर्क छ ।
हुनत प्रचण्ड यस अघि पनि प्रधानमन्त्री ओलीसँग सन्तुष्ट भने थिएनन् । प्रचण्ड निकटका नेताहरुका अनुसार पार्टी सञ्चालन र सरकार सञ्चालनमा प्रचण्डका फरक मत थिए । ओलीको काम गर्ने शैलीबाट सन्तुष्ट नभए पनि सचिवालयका अन्य सदस्यहरुले जस्तै तत्काल सार्वजनिक रुपमा विरोधमा भने गएका थिएनन् । 
सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले यसअघि नै प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति देखिने गरि असन्तुष्टि व्यक्त गर्दै आएका छन्। दूरीका हिसाबले नजिक रहे पनि पछिल्लो समयमा भेनेजुएला र शान्ति प्रक्रियाको बाँकी कामको विषयले ओली र प्रचण्डबीच दूरी बढाएको हो।
एकातिर तल्लो कमिटीहरुको एकीकरणले पूर्णता पाएको छैन । पार्टीका शीर्ष नेतृत्वमा मतभेद देखिन थालेपछि कार्यकर्तामा एक खालको अन्यौल देखियो ।
पछिल्लो समयमा शीर्ष नेताहरुबाटै आएको आएका अभिव्यक्तिले नेकपामा एक अर्काप्रति असन्तुष्टि र अविश्वास झनै बढेको देखिन्छ।
दुई अध्यक्षबीच बढेको अविश्वास र असन्तुष्टि लामो समयसम्म रहे पार्टी एकीकरणका बाँकी कामलाई जटिलता थाप्ने छ नै त्यसले सरकारको प्रभावकारी सञ्चालनमा समेत गम्भीर असर पार्ने देखिन्छ । हुन त यो बीचमा अध्यक्षद्वयको भेटवार्ता पनि भयो । तर भेटमा के कुरा भयो खुलाइएको छैन । 
ओली र दाहाललाई मिलाउन दोस्रो पुस्ताको दौडधूप
सरकार र पार्टीको कार्यशैलीलाई लिएर सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बढेको असन्तुष्टि कम गर्न दोस्रो तहका नेताहरूले दौडधूप शुरू गरेका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार तीन घन्टा लामो भेटवार्तामा गतिरोध अन्त्य गर्ने सन्दर्भमा कुराकानी भएको नेकपाका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
त्यस्तै, पूर्वएमालेका केही युवा नेताले पनि दुई अध्यक्षबीच बढेको अन्तरविरोधको समाधान खोज्न पहल थालेको एक नेताले जानकारी दिए ।

दुई तिहाई प्राप्त अहिलेको सरकारबाट जनताले धेरै आसा गरेका छन् । हालसम्म अपेक्षाकृत काम नदेखिए पनि स्थिर सरकार भएकोले आसा गर्ने ठाउँ अझैं प्रसस्त छन् । तर नेतृत्व तहमा देखिन यस्ता विवादले जनतामा झन् निरासा आउने छ । विगतमा अलग अलग धु्रबबाट आएर एक भएका दुबै अध्यक्षका लागि अहिलेको विवद ठूलो नभएको नेकपाका एक नेताको तर्क छ । राजनीतिमा विचार र सैैैदान्तिक विवाद रहनु ठूलो कुरा होइन । छलफलबाट टुङ्गो लगाउन सकिने उनको जिकिर छ । अध्यक्षद्वयले छलफल र संवादबाटै यी सबै विषय टुङ्ग्याउनेमा उनी विस्वस्त देखिए । वर्तमान परिपेक्षमा छलफलबाट विवाद टुङ्ग्याउने, पार्टी एकीकरणका बाँकी काम चाडै सम्पन्न गर्ने र जनअपेक्षा अनुसार सरकारल े काम गर्नुको विकल्प नभएको ती नेताले बताए ।    

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार