• २०७६ मङ्सिर २४ मंगलबार

एनआरएनए उपाध्यक्ष आचार्यद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपालीलाई नेपालसँग जोडन १० बुँदे कार्ययोजना

लन्डन, 
गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को अध्यक्ष पदमा कुल आचार्यले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्। सङ्घको वर्तमान उपाध्यक्ष समेत रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

भूतपूर्व गोर्खा सैनिक हरूको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणा सभा मार्फत आचार्यले आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँमा हुने सङ्घको नवौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि आफूले अध्यक्ष पदमा  उम्मेदवारी दिने बताए। विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरूमा पुगेर राय तथा सुझाव लिए पछि आचार्यले सङ्घको आगामी नेतृत्वका लागि  उम्मेदवारी  घोषणा गरेका हुन्। 

 ‘आदरणीय अग्रजहरू, संसारभर रहनु भएका एनआरएनकर्मी मित्रहरू तथा शुभचिन्तकहरुसंग सरसल्लाह गरी एनआरएन अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रीय अध्यक्ष पदमा  उम्मेदवारी दिने निर्णय गरेको छु,’ आचार्यले भने । ‘विगतमा झैँ यो अभियानलाई सबै अग्रजहरू, मित्रहरू र शुभचिन्तकहरूको साथ, सुझाव र समर्थन पाउनेमा म विश्वस्त छु।’

उम्मेदवारी  घोषणासभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिबद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने सङ्कल्प समेत गरेका छन्। उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै १० बुँदे प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन्।
आचार्यले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरूसँग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी मार्फत भित्र्याउन ठोस कार्य योजना सहित अघि बढ्ने बताएका छन्।

त्यसै गरी वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई वर्ष भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तीमा दोब्बर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरूको सञ्जाल बनाई उनीहरूसँग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने समेत प्रतिबद्धता गरे।

उनले एनआरएनएलाई  सबै सदस्यहरूको सहकार्यका आधारमा एउटा सशक्त र गतिशील संस्था बनाउन आफूले उम्मेदवारी  दिएको बताए। उम्मेदवारी घोषणासभामा आचार्यले संसदीय प्रक्रियामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावना अनुरूप निष्कर्ष पु(याउन निर्णायक पहल गर्ने बताए। उनले नागरिकता प्राप्तिको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलब्ध गराउन समेत पहल गर्ने बताएका छन्। 

‘नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुनेछ भन्ने प्रस्ट खुलाउन पहल गर्नेछु,’ आचार्यले भने । ‘समान पेन्सनका साथै आफ्ना वयस्क छोराछोरीहरूलाई बेलायत ल्याउन दिनुपर्ने भूतपूर्व गोर्खा सैनिकहरूको मागमा मेरो पूर्ण समर्थन छ, हाल बेलायतमा बसोबास गरिरहेका गोर्खा सैनिकहरूको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरूसँग मैले पहल गर्नेछु।’

अध्यक्षका दाबेदार आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताहरूबाहेक एनआरएनएका सदस्यहरूको सम्पर्क र सम्बन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताए। उनले बढी भन्दा बढी मुलुकहरूसँग द्विपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति एवं दोहोरो कर मुक्ति सम्झौताहरू गर्न नेपाल सरकारसँग संस्थागत पहल गर्ने समेत प्रतिबद्धता गरे। त्यसै गरी नेपालका सबै नियोगहरूमा एनआरएन एएनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतिको आर्थिक कूटनीति समिति बनाउन समेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने बताए। 

नयाँ समिति निर्वाचित भएको एक महिना भित्र गत मार्चमा काठमाडौँमा सम्पन्न नेपाल लगानी सम्मेलनमा एनआरएनए र नेपाल सरकारबिच दश अर्व रुपैयाँ बराबरको गैरआवासीय नेपाली सङ्घ लगानी कोष स्थापना गर्न सहमतिपत्रमा हस्ताक्षर भएबमोजिम संयन्त्र बनाएर काम गर्ने उनले बताए। परराष्ट्र मन्त्रालयले स्थापना गरेको ब्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउन सङ्घको तर्फबाट भूमिका निर्वाह गर्ने साथै गत वर्ष आयोजित विश्व ज्ञान सम्मेलनका सिफारिसहरूलाई कार्यान्वयन गर्न नेपाल सरकारसँग सहकार्य गर्ने समेत उनले कार्य योजना सार्वजनिक गरेका छन्।

सङ्घ अन्तर्गत गत वर्ष स्थापना भएको नेपाल पलिसी इन्स्टिच्युट स्रोतसाधन सम्पन्न बनाई सरकारले प्राथमिकता तोकेका क्षेत्रमा सहकार्य गरी थप प्रभावकारी बनाउने र एनआरएनए एकेडेमी स्थापना गर्न पहल गर्ने समेत आचार्यले बताए। सङ्घका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसिसीद्वारा पारित ‘भिजन २०२० एन्ड वियोण्ड अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने प्रतिबद्धता समेत आचार्यले व्यक्त गरेका छन्।

त्यसैगरि आगामी २ वर्ष भित्र सदस्य सङ्ख्या कम्तीमा एक लाख पु-याउन विशेष अभियान सञ्चालन गर्ने, सङ्घका एनसीसी एवं सदस्यहरूद्वारा गरिने कल्याणकारी कामहरू एनआरएन फाउन्डेसन मार्फत गर्ने व्यवस्था मिलाउने उनले बताए।  ‘एनसीसी तथा आइसिसीमा नेतृत्व चुन्न अनलाइन भोटिङ प्रणाली सुरु गर्ने व्यवस्थाकालागि लाग्नेछु,’ उनले भनेका छन् ‘विदेशमा हुर्किरहेका दोस्रो पुस्तालाई नेपाल र नेपाली भाषा, सभ्यता, र संस्कृतिसँग जोड्नु मेरो उच्च प्राथमिकता हुनेछ।’

संस्थागतरुपमै नेतृत्व तहमा महिलालाई पु¥याउन एनसीसीहरुमा अनिवार्यरुपमा एक जना महिला उपाध्यक्ष हुने नियम बनाउन पहल गर्ने आचार्यको घोषणापत्रमा उल्लेख छ। दोस्रो पुस्तालाई नेपालसँग जोडन विदेशमा हुर्किएका किशोरकिशोरीलाई नेपालमा स्वयं सेवा गर्न प्रोत्साहित गर्ने, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका ३५ वर्षमुनिका युवाहरूलाई सम्मान गरी एनआरएनए अभियानसँग आबद्ध गर्ने समेत प्रतिबद्धता जनाइएको छ।त्यसैगरि सडक सुरक्षाका विषयमा सरकारसँग सहकार्य गर्ने,  “भाषा जोगाऔँ, जोगाऔँ संस्कृति” भन्ने मूल सन्देशसहित नेपालीभाषाको प्रवर्द्धनका लागि प्रतिष्ठित विश्वविद्यालयहरुसंग सहकार्य गर्ने, विदेशमा हुर्किरहेका दोस्रो पुस्ताका नेपालीहरूलाई भाषाप्रति रुचि जगाउन “घर भित्रै बोलौँ नेपाली अभियान” सञ्चालन गर्ने लगायतका कार्यक्रम समेत उनले सार्वजनिक गरेका छन्।

आचार्यले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम बनाउन र पर्यटक भित्र्याउन सबै एनसीसीहरुलाई प्रोत्साहित गर्ने, संघकोतर्फबाट हरेक मुलुकमा सम्बन्धित एनसीसीको अध्यक्षलाई नै पर्यटनदूत घोषणा गरी नेपाल सरकार र पर्यटन बोर्डसँग समन्वय गरी धेरै भन्दा धेरै पर्यटक भित्र्याउन जोड दिने बताएका छन्।

आचार्यले आफ्नै नेतृत्वमा नेपाल पत्रकार महासङ्घ बेलायत शाखासँग सहकार्य गर्दै एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतबाट स्थापना भएको स्मरण गर्दै दुई वर्षभित्र उक्त पुरस्कारको रकम दोब्बर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसै गरी उनले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान दिने व्यक्ति, संस्था वा अभियानलाई प्रवर्द्धन र प्रोत्साहन गर्न आगामी एक वर्ष भित्र केन्द्रियस्तरमा प्रतिष्ठित “एनआरएनए भाषा, साहित्य पुरस्कार कोष” स्थापना गर्न पहल गर्ने समेत बताएका छन्।

घोषणासभामा आचार्यले संस्थापक, पूर्वअध्यक्षहरू एवं विभिन्न देशमा पुगेर एनआरएनए अभियन्ता, सदस्य एवं पदाधिकारीहरूको सल्लाहमा अध्यक्षमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए। उनले आफूले एनआरएनलाई नयाँ शिरा बाट अगाडी बढाउने बताउँदै अव दुई वर्ष भित्र सम्पूर्ण गैरआवासीय नेपालीहरूको अपनत्व महसुस हुने किसिमको साझा चौतारीको रूपमा सङ्घको विकास गरिने बताए।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार