• २०७६ मङ्सिर २५ बुधबार

बिदेसिएका नेपालीको जीवन रक्षा सङ्घको मुख्य प्राथमिकता : आचार्य

 क्वालालम्पुर गैरआवासीय नेपाली सङ्घ ⁽एनआरएनए₎का केन्द्रीय उपाध्यक्ष कुल आचार्यले मलेसिया तथा खाडी मुलुकमा कार्यरत नेपालीहरूको जीवन रक्षा तथा मर्यादित रोजगार अव गैरआवासीय नेपाली सङ्घको प्रमुख एजेन्डा हुने बताएका छन् ।

नेपालबाट रोजगारी रोजगारीका लागि खाडी मुलुकहरूमा पुगेका नेपाली दाजुभाइहरूको जीवनरक्षाको विषय चुनौती पूर्ण बन्दै गएको बताउँदै सङ्घको आसन्न निर्वाचनका अध्यक्षका प्रत्याशी समेत रहेका आचार्यले अव सङ्घले यो विषयलाई मुख्य प्राथमिकता दिने बताए । एनआरएनए राष्ट्रिय समन्वय परिषद् मलेसियाको छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै एनआरएनएको केन्द्रीय अध्यक्ष पदका प्रबल दाबेदार आचार्यले सङ्घलाई अव विदेशमा भएका नेपालीहरूको साझा चौतारी बनाउने उद्घोष समेत गरे । उनले हरेक दिन कम्तीमा दुइजना नेपालीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने गरेको र मलेसियामा हरेक दिन जसो नेपाली दाजुभाइहरूको हृदयघात भएर मृत्यु अनि अङ्गभङ्ग हुने, घाइते हुने जस्ता समस्या रहेको भन्दै यसलाई सङ्घले सामूहिक प्रयत्न मार्फत हल गर्नुपर्ने बताए।

'बिदेसिएका नेपाली दाजुभाइको जीवनवृक्ष सवाल निकै चुनौती पूर्ण बन्दै गैरहेको छ,' अध्यक्ष पदका उम्मेदवार आचार्यले भने 'अव सङ्घले नेपाली दाजुभाइ दिदीबहिनीको जीवनरक्षालाई मुख्य प्राथमिकता दिएर सबै बिदेसिएका नेपालीहरूको साझा हितमा काम गर्छ ।' मलेसियाको ग्रान्ड कन्टिनेन्टल होटेलमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले विदेशीका नेपालीले आपसी सहयोग र सद्भाव बढाउन गरेका सामूहिक प्रयासहरूको समेत प्रशंसा गरे । उनले भने, 'विभिन्न समस्यामा परेका नेपाली दाजुभाइ, दिदी बहिनीहरूलाई सहयोग गर्न तपाईँहरूले एउटा कल्याणकारी कोष स्थापना गर्न लाग्नु भएको थाहा पाउँदा मलाई निकै खुसी लागेको छ। त्यसमा मेरो व्यक्तिगत तथा संस्थागत पूर्ण सहयोग रहनेछ ।' उनले आफूले पनि बेलायतमा भाडा माझेर व्यवसाय सुरु गरेको स्मरण गर्दै मलेसिया लगायतका मुलुकहरूमा काम गर्ने नेपालीहरूको पीडा आफूले राम्रो सँग बुझेको बताए । उनले सङ्घलाई धन हुने भन्दा पनि मनहुनेहरुको साझा चौतारी बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए । एनआरएन युकेका पूर्व अध्यक्ष समेत रहेका आचार्यले एनआरएन युकेले एउटा कल्याणकारी कोष खडा गरेको र त्यसबाट पीडित नेपालीहरूलाई सहयोग गर्ने परिपाटी सुरु गरेको पनि उनले स्मरण गरे।

नेपाली युवाको मुख्य वैदेशिक रोजगार गन्तव्यका रूपमा रहेको मलेसियाको रोजगारी गत एक वर्ष भन्दा बढी समय देखि बन्द छ । मलेसिया जाने नेपाली कामदारको सङ्ख्या घटे पनि मृत्यु र अङ्गभङ्ग हुनेको सङ्ख्यामा भने सबैभन्दा अगाडि छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार गत वर्ष करिब २०० जना नेपालीले ज्यान गुमाइसकेका छन् भने ६७ जना गम्भीर रूपमा अङ्गभङ्ग भएका छन् । आगामी अक्टोबरमा काठमाडौँमा हुन लागेको सङ्घको नवौँ विश्व सम्मेलनमा वर्तमान उपाध्यक्ष आचार्य प्रजातान्त्रिक पक्षबाट र अर्का उपाध्यक्ष कुमार पन्त बाम पक्षबाट भावी अध्यक्षका लागि प्रतिस्पर्धामा छन् । आचार्यलाई पूर्व अध्यक्षहरू शेष घले, भवन भट्ट, देवमान हिराचनको समर्थन छ भने पन्तलाई पूर्व अध्यक्ष जीवा लामिछानेको समर्थन छ। संस्थापक अध्यक्ष उपेन्द्र महतो भने मौन छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार