‘नार्को टेष्ट’ को व्यवस्था गर

बिजय ज्ञवाली ।

समय—समयमा यस्ता रहस्यमयी घटना पनि घट्न जान्छन, जुन घटनाको पहेली पनि रहस्यकै गर्वमा लुकेको हुन्छ। घटना साना हुन् या ठूला, ज त्यस्ता घटनामा उच्च शक्तिवानहरु जोडिएर आऊँदछन तव घटना रहस्यकै गर्वमा सिमित पारिन्छन् ।

साना घटनामा ठूलावडा जोडिएर आऊँदा त्यसमा अथाह पद, पैसा र शक्तिको हदैसम्म दुरुपयोग गरि त्यस्ता घटना साम्य पार्न खोजिन्छ। अझ यहाँसम्म कि सम्पूर्ण राज्यसंयन्त्रको समेत चरम दुरुपयोग गरेर त्यस्ता घटना थामथुम पार्न खोजिंदोरहेछ, जसको ज्वलन्त उदाहरण छ—कन्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार अनि हत्या प्रकरण। जुन प्रकरण थामथुम पार्न राज्यशक्तिको चरम दुरुपयोग मात्र गरिएन अनाहकमा कयौं नागरिकलाई उल्टै गोलीले भुट्न खोजियो, एकजना युवाले त ज्यानसमेत गुमाऊनुपर्यो।

यहाँनेर प्रष्ट छः यौटी अवोध गरिब परिवारकी बालिकालाई राज्यको सम्पूर्ण शक्तिसंग पहुँच भएको कथित नरपिचास ठालू ले नै बलात्कार अनि हत्या गरेको हो भनेर। त्यस्तै, निर्मला हत्याकाण्डजस्तै कथित ठालू नरपिचास द्वारा घटाइएको तर अहिलेसम्म पनि गुत्थी खुल्न नसकेको अर्को लाजमर्दो घटना हो ।

नमिता सुनिता हत्याकाण्ड। २०३८ सालमा काठमाडौंबाट पोखरा घुम्न भनी आएका नमिता र सुनिता भण्डारी तथा मिरा पराजुली वैशाख २४ गते एकाएक गायव हुन पुगे। वैशाख २९ गते नमिताको लाश सेतीनदीमा फेला पर्‍यो। आषाढ ६ गते सुनिताको लास सेती नदीको तीर बगरमा फेला पर्‍यो।

मिराको मर्दो हो वा जिउँदो पत्ता लागेन। केही दिनपछि वनपाले चूडामणिलाई पनि गोली हानी मारिएको लाश असार महिनाको पहिलो हप्तामै फेला पर्‍यो। यसले स्थिति अरू जटिल र भयावह हुन गयो। स्थानीय प्रशासन हत्यारा पत्ता लगाउन असफल रह्यो। जसले गर्दा तत्कालिन राजा विरेन्द्रले पोखराका प्रमूख प्रशासकिय हाकिमहरुलाई सरुवा गरेर नयाँ शिरावाटै छानविन गर्ने आदेश दिईएता पनि अहिलेसम्म उक्त हत्याकाण्डको पहेली रहस्यकै गर्वमा छ।

खैर, घटना धेरै पुरानो भएता पनि उक्त बलात्कार अनि हत्याकाण्डमा संलग्नको पकड राजदरवारसम्मै रहेको विभिन्न लेखहरुमा पढ्न पाईन्छ। विश्वलाई नै स्तव्ध बनाऊने राजदरवार हत्याकाण्डको पहेली पनि आखिरकार रहस्यकै गर्वमा नै रह्यो र रहिरहनेछ। त्यस्तै मदन भण्डारी—जिवराज आश्रीतको हत्या गरिएको स्थान चितवनको दासढुंगा, जसलाई दासढुंगा हत्याकाण्डका नामले पनि चिनिन्छ। यो हत्याकाण्डको गुत्थी पनि रहस्यकै गर्वमा दविईरहनेछ।

भारतमा सवैभन्दा जघन्य र रहस्यमयी घटनाको रुपमा रहिआएको चर्चित हत्याकाण्ड आरुषी—हेमराज हत्याकाण्डको पहेली पत्ता लगाऊन भारतीय ब्यूरो असफलसिद्ध छ।

१५ मे २००८ मा नोयडा सेक्टर २५ मा प्रसिद्ध डाक्टर दम्पत्ति राजेश र नुपुर तलवारको घरमा घरेलु कामदारको रुपमा रहेका अर्घाखाँचीका ४५ बर्षिय हेमराज बन्जाडेलाई उनीहरुकी १४ वर्षिया छोरी आरुषीको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुमानले तव मात खायो जव हेमराजको लाश समेत सोहि फ्ल्याटको छतमा भेटियो। यहाँवाट आरुषी—हेमराज हत्याकाण्डले नयाँ मोड मात्र लिएन यो हत्याकाण्डको पहेली पनि अहिलेसम्म रहस्यकै गर्वमा रहिआएको छ।

यो हत्याकाण्डको छानविनले पनि अनेकन मोड लियो, तर सम्पूर्ण भारतीय ब्यूरोक्र्याट्स गुत्थी पत्ता लगाऊनमा भने असफलसिद्ध भयो र, अन्त्यमा तलवार दम्पत्तिले नै आरुषी र हेमराजको हत्या गरेको फैसला जस्टिस श्यामलालले पेश गरे। तर, यो फैसला पनि धेरैदिन टिकेन, १२ अक्टोवर २०१७ मा इलाहावाद हाइकोर्टले तलवार दम्पत्ति निर्दोष रहेको फैसला सुनाएसंगै यो घटना अझैपनि रहस्यको रहस्यमै छ। यद्यपि अझैपनि यस रहस्यमयी हत्याकाण्डको सिबिआई जाँच जारी नै रहिआएको छ।

नार्को टेष्ट को प्रयोग

बहुचर्चित आरुषी—हेमराज हत्याकाण्डमा भारतीय केन्द्रिय जाँच ब्यूरो सिबिआईले शंकाको दायरामा आएका तलवार दम्पत्तिसहित उनका छिमेकी कृष्णामाथी नार्को टेष्टको प्रयोग गरेको थियो। यद्यपि नार्को टेष्टबाट पनि यि पात्रहरु निर्दोष सावित भैसकेपछि घटना झनै रहस्यमयी बन्दै गैरहेको छ।

नार्को टेष्टलाई नै अनुसन्धानको अन्तिम विकल्पको रुपमा लिईएको छ आजका दिनसम्म। नार्को टेष्टजस्तो गम्भिर प्रकारको अनुसन्धानबाट धेरै तथ्यहरु शंकाको दायरामा रहेका सम्भावित अपराधीबाट खुलाऊन सकिन्छ। यद्यपि कतिपय अपवादको रुपमा यो टेष्टले पनि काम नगरेको अवस्था रहन्छ।

जसको उदाहरणस्वरुप आरुषी—हेमराज हत्याकाण्डको अनुसन्धानस्वरुप तलवार दम्पत्ति र छिमेकी कृष्णामाथी प्रयोग गरिएको असफल नार्को टेष्टलाई लिन सकिन्छ। नार्को टेष्टमा खासगरि अपराधीलाई सत्य ओकल्नको लागि बाध्य पार्न ट्रूथ सिरम ईन्जेक्सन’ अर्थात सत्य ओकल्न बाध्य बनाऊने सूईको प्रयोग गरिन्छ, जसको प्रभावले अपराधीले आफ्नो अपराध ओकल्न बाध्य हुन्छ।

यसप्रकारको प्रयोग यौटा फरेन्सिक टेष्ट पनि हुनाले यसको प्रयोगलाई गम्भीर प्रयोगको रुपमा पनि लिने गरिन्छ। त्यसैले यसको प्रयोगको दौरान अपराधको अनुसन्धान गरिरहेका सम्वन्धित अधिकारीहरु, डाक्टर, साईक्लोजिष्ट तथा फरेन्सिक एक्सपर्टहरुको उपस्थिति अनिवार्य मानिन्छ ।

नार्को टेष्टमा सम्बन्धित ब्याक्ति अथवा अपराधीलाई ट्रूथ ड्रग नामको यौटा साइकोएक्टिव दवाई या सोडियम पेंटोथल नामको ईन्जेक्सन लगाईन्छ। जब दवाईको असर उक्त ब्याक्तिमा पर्न थाल्दछ, तब उसलाई बिस्तारै निद्रा लाग्न थाल्दछ।

जब जब उसलाई निद्राले च्याँप्दै लग्दछ, तब उसको दिमागले तत्कालै दिने प्रतिक्रियाको हिस्साले काम गर्न बन्द गर्दछ। यस्तो अवस्थामा उक्त ब्याक्तिसंग धेरै सोंच्ने क्षमता हुँदैन।

एक हिसावले अर्धचेतको अवस्थामा रहेको उक्त ब्याक्तिसंग बल्ल सोधपुछ शुरु गर्ने गरिन्छ। यस्तो अवस्थामा उक्त दवाई प्रयोग गरिएको ब्याक्तिसंग घुमाई फिराई जवाफ दिने क्षमता विल्कुल हुँदैन। यसको अलावा उक्त ब्याक्ति धेरै बोल्नसक्ने अवस्थामा पनि रहँदैन र सोधिएका प्रश्नहरुको सटिक एवं सहि जवाफ दिनेगरेको हुन्छ।

यद्यपि नार्को टेष्टपूर्व सम्बन्धित ब्याक्तिको शारीरिक परिक्षण गर्नु जरुरी हुन्छ। शारीरिक परिक्षणमा उसको उमेर, स्वास्थ्य तथा लिंगको आधारमा मात्र परिक्षण गर्नु उपर्युक्त हुन्छ। यो प्रयोग खतरामुक्त भने हुँदैन।

प्रयोगको दौरान अत्याधिक दवाईको असरले व्यक्तिको मृत्यू पनि हुने सम्भावना रहन्छ। र, पनि नार्को टेष्टमा ब्याक्तिले सवैकुरा सत्य नै बताऊँछ भन्ने शतप्रतिशत आधार भने छैन।

वेहोस अवस्थामा रहेको उक्त ब्याक्तिले कहिलेकाहिं वेहोशी अवस्थामै गलत कुराहरु पनि बोल्न सक्तछ। यद्यपि यो प्रक्रिया अपराध अनुसन्धानमा अन्तिम तथा निकै नै प्रभावकारी भने मानिएको छ।

कन्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको करिव ३ महिना नाघ्नै लाग्यो। अहिलेसम्म कहिंकतै अपराधी पत्ता लाग्न सकेको अवस्था छैन। हो, यस्तै अवस्थामा हो अन्तिम विकल्पहरु खोजिनुपर्ने। यद्यपि निर्मला बलात्कार अनि हत्याकाण्डका आरोपीलाई राज्यले नै संरक्षण दिएर लुकाएर राखिएको भन्ने अधिकांश आम आशंका छ।

उक्त हत्याकाण्डको अनुसन्धानको पछिल्लो कडिको रुपमा कन्चनपुरका निलम्वित एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए परिक्षण गरियो तर डिएनए रिपोर्ट नेगेटिव आयो, निर्मलाका बाआमाले फेरि पनि न्याय पाऊने आशा मधुर हुँदै गयो।

यसकारण कन्चनपुर घटनासँग जोडिएर आएका र छानविनको दायरामा तानिएका शंकास्पद सम्पूर्ण ब्याक्तिउपर नार्को टेष्टको व्यवस्था गरि उनिहरुमाथी पालै पालो प्रयोग गरि हेरिनुपर्दछ, तव मात्र वास्तविक अपराधी सहजै पत्ता लगाऊन सकिन्छ।

निर्मला अंघि पनि सयौं चेलीहरु बलत्कृत भए, निर्मला पछि पनि कैयन् चेलीहरु बलत्कृत भए र यस्ता घटनाहरु घट्नेक्रम घट्दो छैन कि झन झन भयावह रुपमा घट्दै गईरहेका छन।

बलत्कार अनि हत्याजस्तो जघन्य अपराधमा संलग्न अपराधी यदि पत्ता लाग्न सक्दैन भने शंकाको दायरामा रहेका सवैमाथी नार्को टेष्टको प्रयोगद्वारा अनुसन्धान हुनु अति जरुरी भैसक्यो। यद्यपि यस्तो व्यवस्थाका लागि सवैभन्दा पहिला राज्य ईमान्दार बन्नुपर्यो, राज्यले तदारुकता देखाऊनुपर्यो।

यौटा बलात्कारी र हत्यारा जोगाऊन सिंगो राज्यसत्तामाथी कलंक थोपर्न राज्य नै उद्धत हुनुभएन। राज्यले चाह्यो भने आखिर गर्न नसकिने के नै पो छ र ? निर्मला बलत्कार तथा हत्यामा संलग्नहरुको खोजिमा लागिपरेको प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) ले राज्यसंग नार्को टेष्टको माग गर, राज्यले ब्यवस्था मिलाऊनै पर्दछ।

अनि निलम्वित एसपी विष्टसहित शंकाको दायरामा रहेका सवैमाथी नार्को टेष्टको प्रयोग गरि हेर, अपराधी कसरि उम्किएर जाँदोरहेछ ? निर्मला काण्डमा मात्र होईन, यस घटनाभन्दा अंघि अनि आगामी दिनहरुमा घट्ने घटनाका सम्बन्धमा यदि अपराधी पत्ता लगाऊन सकिँदैन भने शंका र छानविनको दायरामा रहेका सवैमाथी यसको प्रयोग गरि हेर, हरेक अनुसन्धानले ९५% सफलता हासिल गर्नेछ।

Related posts

Leave a Comment