सिंहदरबार अगाडि नग्न प्रदर्शन गर्ने लिम्बुमाथि सार्वजनिक हितविरुद्धको कसुर अन्तरगत म्याद थप

काठमाडौं ।

नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नग्न भएर प्रदर्शन गरेका युवकमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुर अन्तरगत म्याद थप गरिएको छ ।

नयाँ मुलुकी एने लागू भएकै दिन नग्न भएर विरोध प्रदर्शन गरेको आरोपमा जितिन लिम्बु पक्राउ परेका थिए ।

उनीमाथि मुलुकी ऐनमा भएको सार्वजनिक स्थानमा यौनाङ्ग देखाउनु नहुने कसुर अन्तरगत जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरिएको हो ।

मुलुकी एेनको विरोधमा सडकमा एक्लै निस्केका लिम्बुले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।

भित्री बस्त्रसमेत नलगाएका उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए ।

हाल महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएका उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

लिम्बुमाथिको कसुर प्रमाणित भए ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ ।

Related posts

Leave a Comment