विश्व भरका लाखौँ मुस्लिम मक्कामा

विश्व भरका मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रूपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । हज यात्रामा विश्वभरका २० लाखभन्दा बढी मानिस सहभागी भएका छन् ।
मुस्लिम धर्मावलम्बीहरूको पाँच प्रमुख धार्मिक कार्यक्रममध्ये एक मानिने मक्काको हजयात्रा ६ दिनसम्म चल्छ । हरेक मुस्लिम धर्मावलम्बीले जीवनमा एकपटक हजयात्रा गर्नुपर्ने धार्मिक विश्वास छ । हजयात्रालाई सुरक्षित र व्यवस्थित तुल्याउन हजयात्रा स्थलमा दशौँ हजार सुरक्षाकर्मी खटिएका छन् । हजयात्राका क्रममा भागदौडमा परी तीन वर्षपहिले २ हजार ३ सय हजयात्रीको मृत्यु भएको थियो ।
हजयात्रालाई सुरक्षित र व्यवस्थित गराउन साउदी अरबले यसपटक ‘स्मार्ट हज’ एप बनाएर त्यसमार्फत सूचना तथा जानकारीहरू दिने प्रबन्ध मिलाएको छ । त्यस एपमा यात्रा योजनादेखि उपचारमा ध्यान दिनुपर्ने कुराहरू राखिएका छन् ।

साउदी अरबका गृहमन्त्रीले शनिबार मात्रै २० लाखभन्दा बढी हजयात्री मक्का आइपुगेको जानकारी दिएका थिए । हज गर्न इजिप्ट, भारत, पाकिस्तान, बंगलादेशलगायतका देशबाट ठूलो संख्यामा मुस्लिम धर्मावलम्बी मक्कामा भेला भएका छन् ।
सोमबार हजको मुख्य स्थान मीनाको माउन्ट अराफातमा उक्लिनेछन् र त्यहाँ पवित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्दछन् । इस्लामअनुसार त्यसपछि उनीहरू अराफात र मीनाको बीचतिर रहेको मुज्दालिफातर्फ लाग्छन् र त्यहाँ कम्तीमा मध्यरातसम्म बस्छन् । उनीहरूले इद अल–अधा पर्वको पूर्वसन्ध्यामा त्यहाँ सैतानमाथि सांकेतिक रूपमा ढुंगा बर्साउँछन् । त्यसपछि हजयात्रा समाप्त हुन्छ ।

Related posts

Leave a Comment