मन्त्रालय अगाडि बम विस्फोट, १० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित ग्रामीण पुनर्वास र विकास मन्त्रालयअगाडि आइतवार आत्मघाती आक्रमण भएको छ ।  दारुलमन इलाकामा भएको यो आक्रमणमा १० जनाको मृत्यु भएको छ । धेरै मानिस घाइते भएका छन् । समाचारहरूका अनुसार, एक आत्मघाती आक्रमणकारीले मन्त्रालयको गेटनजिक साँझ ५ बजेतिर विस्फोट गरेका थिए ।
टोलो न्युजअनुसार, मन्त्रालयका प्रवक्ता फरीदून अजान्दले कर्मचारीहरू काम सकिएर घर जानै लागेको बेलामा आक्रमण भएको बताए । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, आत्मघाती आक्रमणकारीले मुख्य रूपमा विदेशी बसेको वाहनलाई निशाना बनाएको बताए ।
आक्रमणलगत्तै वरपरका मानिसले सामाजिक सञ्जालमा पोस्ट गर्दै विस्फोट निकै ठूलो भएको लेखे । एक महिनाभित्र मन्त्रालयमा भएको यो दोस्रो आक्रमण हो । अफगानिस्तानमा यस वर्षको पहिलो ६ महिनामा भएको आतंकवादी आक्रमण तथा द्वन्द्वा परी १६ सय ९२ जनाको ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघ मिसनले आइतवार बताएअनुसार यो अहिलेसम्मकै सर्वाधिक संख्या हो ।

एजेन्सी

Related posts

Leave a Comment