लिङ्गे पिङ लोपोन्मुख अवस्थामा

भक्तपुर ।  दशैँको बेलामा आकर्षक रुपमा खेलिने लिङ्गे पिङ काँठ क्षेत्रमा लोपोन्मुख अवस्थामा पुगेको छ । केही वर्षअघिसम्म चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ यस वर्षदेखि काठमाडौँ उपत्यकामा देख्नसमेत मुस्किल परेको छ ।

दशैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने, आकाशमा चङ्गा उडाउने र लङ्गुरबुर्जा खेल्नेको प्रतिस्पर्धा नै हुने गर्दथ्यो तर अहिले चाहेर पनि पिङ खेल्न पाएका छैनन् ।

दशैँका आगमनको शुरुआतसँगै खेलिने पिङ यस वर्ष नगण्यरुपमा मात्र केही स्थानमा देख्न पाईन्छ । दशैँमा लिङ्गे पिङले दिने रौनक हराउँदै गएको छ भने विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेको पुराना पुस्ताले बताउँछन् ।

एउटा जिल्लामा सयौँको सङ्ख्यामा देखिने यस्ता लिङ्गे पिङहरु यस वर्ष भक्तपुर शहर क्षेत्रमा देखिएका छैनन् भने ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिएका छन् ।

बस्ती बाक्ँिलदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बावियाँको डोरीको समेत अभाव भएकाले पिङको सङ्ख्या कम हँुदै गएको चाँगुनारायण नगरपालिका–९ का ७२ वर्षीय रामेश्वर खत्रीले बताउनुभयो ।

दशैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमीनबाट पाउ अर्थात् खुट्टा हटाउनै पर्ने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल भएको उहाँको भनाइ छ ।

वर्षको एक पटक जमीनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यताअनुसार पिङ खेल्ने गरिए पनि अहिले पहिलाको जस्तो पिङ खेल्ने दशैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ ।

सूर्यविनायक नगरपालिका–१ सिरुटारकी की २६ वर्षीया अनुषा आचार्यले पिङ खेल्न मन भए पनि पिङ नपाएर खेल्न चाहना तीन वर्षदेखि अधुरै रहेको बताउनुभयो । विगतमा बाटोबाटोमा पिङ भेटिने भएकाले मामाघर जाँदा र अन्य क्षेत्रमा जाँदा पिङ खेल्न पाइने तर अहिले कतै पिङ देख्न नपाएकाले खेल्नसमेत नपाइएको उहाँको भनाइ छ ।

केही युवापुस्ता भने पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्व एवं आवश्यकता घट्दै गएको बताउँछन् । मध्यपुरथिमि–३ कौशल्टारका मनिष गौतमले पिङभन्दा पनि इन्टरनेटलगायत विभिन्न गेम खेल्ने भएकाले पिङको महत्व घट्दै गएको बताउनुहुन्छ ।

नयाँ पुस्ता दशैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्व घट्दै गएको उहाँको भनाइ छ । पिङ जस्तै दशैँमा मासु, चिउरा खाएर कौसीमा बसेर परिवारसँग रमाउँदै आकाशमा चङ्गा उडाउने परम्परा पनि लोप हुँदै जान थालेको छ । काँठ क्षेत्रमा विगत केही वर्षदेखि चङ्गा उडाउने परम्परा घट्दै गएको र यो वर्षदेखि केही बालबालिकामा मात्र सीमित बन्न पुगेको छ ।

एकातिर बस्ती बाक्ँिलदै जानु र अर्कोतर्फ तास खेल्ने विकृति बढ्दै गएकाले पनि चङ्गा उडाउने पुरानो परम्परा लोप हुँदै जान थालेको हो । दशँैको आगमन झल्किने गरी गाउँ तथा टोलमा खेलिने लङ्गुरबुर्जा तथा ओखर खेल्ने परम्परा करीब लोप भएको छ । यो दुईवटै खेललाई कानूनीरुपमा अवैधानिक बनाएपछि यो खेल्ने परम्परा पनि करीब लोप भएको छ ।

विशेषगरी पिङ खेल्ने परम्परा, चङ्गा उडाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले काँठ क्षेत्रमा दशैँको वास्तविक रौनक हराउँदै जान थालेको छ । काँठ क्षेत्रमा दशँैको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जान थालेको र युवापुस्तामा दशैँका नाममा तास र मदिराको कुलतको विकृति बढ्दै गएपछि काँठको दशैँ एकादेशको कथा बन्दै गएको हो ।

Related posts

Leave a Comment