काष्ठमण्डपको पुनःनिर्माण छिटो गर्न सहमति

काठमाडौँ महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माण समितिबीच ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण छिटो गराउनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
कामपाका सहसचिव राजेश्वर ज्ञवाली र समितिका तर्फबाट अध्यक्ष राजेश शाक्यबीच आज सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । भूकम्पअघि जस्तै स्वरुप, शैली र संरचना निर्माण गर्नका लागि पनि दुई पक्षबीच हस्ताक्षर भएको छ । उक्त हस्ताक्षरपत्रमा पुनःनिर्माण गर्दा पुरातात्विक, ऐतिहासिक तथा प्राचीन महत्वलाई पूर्ववत् राख्ने गरी नक्शा डिजाइन पुरातत्व विभागबाट स्वीकृत भएबमोजिम गरिनुपर्ने विषय समावेश भएको छ ।
विज्ञ समूहको परामर्शअनुरुप निर्माण गरिनुपर्ने भनिएको सो सहमति काष्ठमण्डप पुनः निर्माण सम्पन्न नभएसम्मका लागि कायम रहने पनि उल्लेख गरिएको छ । कामपाले उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु ५० करोड अनुदान सहयोग गर्ने जनाइएको छ ।
विसं २०७२ को भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको काष्ठमण्डप पुनःनिर्माण गर्नका लागि गत वैशाख ३१ गते क्षमापूजासमेत गरिसकेको छ । बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको र बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको र त्यसैबाट मूर्तिविहीन मरुसतः बनाइएको बताइन्छ । पछि यसैलाई काष्ठमण्डपका रूपमा चिन्न थालिएको हो ।
मरुसतमा गोरखनाथ र अन्य मूर्ति पछि थपिएको थियो । केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको खोजअनुसार यो सातौँ शताब्दीको भएको बताइएको छ । चार वर्षभित्र निर्माण सक्ने गरी पुनःनिर्माणको तयारी भएको छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।

 

Related posts

Leave a Comment