कैदीबन्दी आन्दोलनमा, २ कैदी घाइते

कारागारका चौकीदार, नाइके, भाई नाइके लगायत चारजनाको सरुवा माग गर्दै जिल्ला कारागार पाल्पाका कैदीबन्दी आन्दोलित भएका छन ।

कैदीबन्दीले मुल नाइके लक्ष्मण चौधरी, चौकीदार विश्वास गुरुङका साथै देवनारायण ढुंगाना र लोकबहादुर खाँडको सरुवाको माग गरेका हुन् । कारागारका चौकीदारलगायत चार जनाले अन्यलाई हेपेको, दमन गरेको, पाउने रकम नदिएको लगायतका आरोप उनीहरुले लगाएका छन ।

कैदीबन्दीका अनुसार लामो समयदेखि उनीहरुले कारागारभित्रै लागूऔषध भित्र्याउने गरेका छन् । ब्राउनसुगर, गाँजा, सुईजन्य, डाइजोपम, नर्फिन लगायतसमेत भित्रिने गरेको छ । तर कारागार प्रशासन, त्यहाँ कार्यरत सुरक्षाकर्मीले यस विषयमा कुनै वास्ता नगरेको कैदीबन्दीको आरोप छ । कैदी बन्दी लक्ष्मण रायमाझीले सरकारले उपलब्ध गराएको सेवा सुविधा समेत कारागार प्रशासनसँगको मिलेमतोमा चौकीदार र नाइकेले नदिएको बताए ।

प्रहरी प्रमुख उपरीक्षक विश्वमणि पोखरेलले कैदीबन्दीले विविध माग राखेर आन्दोलनमा उत्रिँदा सामान्य झडप समेत भएको बताए । कारागारका चौकीदार समूह र अन्य पक्षबीच झडप भएको हो । झडपमा कैदीबन्दी सन्तोष नेपाली र अर्जुन घिमिरे सामान्य घाइते भएको पोखरेलले बताए । प्रमुख जिल्ला अधिकारी मनोहर खनालले बन्दीहरुले उठाएको विवादका विषयमा गम्भीर भएर छानबिन गरिने बताए ।

जिल्ला कारागार प्रशासन प्रमुख भक्तिसरा रानाले चौकीदार र नाईकेहरु लक्ष्मण चौधरी, विश्वास गुरुङ, देवनारायण ढुंगाना र लोकबहादुर खाँडलाई प्रहरीको थुनुवा कक्षमा राख्ने बताइन् ।

Related posts

Leave a Comment