नेपालको जलविद्युतमा बंगलादेशको लगानी, दुवै मुलुकबीच महत्वपूर्ण समझदारी

बंगलादेशले पनि नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिर्सोसेस राज्यमन्त्री नसरुल हमिदबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालको उर्जा क्षेत्रमा बंगलादेशले लगानी गर्ने बाटो खुलेको हो ।

शुक्रबार काठमाडौंमा बगलादेशले नेपालबाट ५ सय मेघावाट विद्युत खरिद गर्न पाउने गरी दुवै मुलुकबीच जलविद्युत क्षेत्रमा लगानी बढाउने समझदारी गरिएको हो ।

समझदारीपछि नेपालको जलविद्युत क्षेत्रमा लगानी बढाउन बंगलादेशसँग महत्वपूर्ण समझदारी गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पुनले जानकारी दिए ।

उनले दुई मुलुकबीच जलविद्युत खरिदका लागि भारतसँग समन्वय गरेर विद्युत प्रशारण लाइन बनाउने समझदारी भएको पनि बताए ।

कार्यक्रममा बोल्दै बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिर्सोसेस राज्यमन्त्री हमिदले नेपालको जल विद्युतमा लगानी गर्न दुई मुलुकबीच समझदारी गरिएको बताए । उनले सौर्य उर्जाको लागि नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गर्न पनि आफ्नो मुलुक तयार रहेको स्पष्ट पारे ।

नेपाल र बंगलादेशबीच पहिलो पटक नेपालको जलविद्युतमा लगानी भित्र्याउने समझदारी गरिएको हो । सो समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा दुवै मुलुकका विस्तृत छलफल गर्ने पनि सहमति पत्रमा उल्लेख छ ।

Related posts

Leave a Comment