तिहारमा मैले टिका लगाइदिने सबै परिवारकै दाजुभाई जस्तो लाग्छः अञ्जली मास्के (भिडियोसहित)

२० वर्षदेखि दिदीबहिनी नभएका दाजुभाइलाई सामूहिक भाइटिका लगाइँदै आएकी अञ्जली मास्के धर्मकर्ममा विश्वास गर्छिन् । सानै उमेर देखि मानव सेवा तथा धर्ममा आस्था राख्ने मास्के आफ्नो भन्दा अरुकोबारे बढी सोच्ने गर्छिन् । यही ऊर्जा र निस्वार्थ भावनाले हजारौँ दाजुभाइकी प्यारी दिदी वा बहिनीको रूपमा उनलाई धेरैले चिन्छन् । उनका आफ्नै माइती नभएका भने होइनन् । तर चेली नभएका दाजुभाइको निधार खाली नहोस् भनेर सामूहिक भाइटिका लगाउन सुरुवात गरेको उनी बताउँछिन् । नेपालीहरूको दोस्रो ठुलो चार्ड तिहार नजिकिँदै गर्दा यसै विषयमा केन्द्रित रहेर टिभी अन्नपूर्णकर्मी तुल्सी अर्यालले सबैकी दिदी अञ्जली मास्केसँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीः

तिहारको तयारी कसरी गरिरहनु भएको छ ?
सामाग्रीहरू जुटाउँदै छु । लक्ष्मीपूजा सम्म सबै तयारी सक्ने गरी काम गरिरहेकी छु । फलफूलहरू बाँकी छ । अहिले सम्म यही सामान मिलाउन मै व्यस्त छु ।

सामूहिक भाइटिका लगाइदिन तपाइले काष्ठमाण्डप नै किन रोज्नु भयो ?
२०२६ साल देखि मैलै निरन्तर भगवान गोरखनाथको मन्दिरमा पूजा गर्दै आएकी थिए । त्यो ठाउँमा भाइटिका लगाइदिँदा बढी आशिष् मिल्छ भन्ने धार्मिक विश्वासले त्यही ठाउँ रोजेकी हु । २०७२ सालको विनाशकारी भूकम्पले मन्दिर भत्काए पछि चाहिँ मन्दिरको आसपासमा गर्नु परिरहेको छ । जुन किसिमबाट सहज हुन्छ । त्यसै गरी गर्छु । दाजुभाइको निधार खालि नहोस् भन्ने हेतुले अहिले पनि गर्न लागेकी छु ।

 मन्दिर भूकम्पले भत्काएपछि पुनः निर्माण कार्य सम्पन्न भएन । कत्तिको गाह्रो भएको छ ?
गाह्रो त मलाइ जुन दिन भूकम्प गयो त्यही दिन भयो । आफूले त्यतिका वर्ष अघि देखि सधैँ पूजा गर्ने, तिहारको दिन भाइटिका लगाइदिने गरेको मन्दिर अझै यस्तो अवस्थामा देख्दा नरमाइलो लाग्छ । दुख लाग्छ ।

 भूकम्पले मन्दिर भत्काउदा तपाईँ कहाँ हुनुहुन्थ्यो ?
त्यो बेला म नेपालमा थिइन । छोरा बुहारीसँग बेलायतमा थिए । भूकम्पले काष्ठमाण्डप ढल्यो रे भन्दा त्यहाँ राति भएको थियो । म रातभर सुत्न सकिन । अर्को दिन टिभी खोल्नासाथ समाचारमा देखे । त्यो भत्किएको दृश्य । त्यो दिन घरमा फोन गरे । घरमा सबै ठिक छ भन्ने खबर आयो । काष्ठमाण्डप ढलेको घरमा सबैलाई थाहा रहेछ । तर मलाइ थाहा दिइएन । भोलि पल्ट समाचारबाट थाहा पाए काष्ठमाण्डप पनि ढल्यो भन्ने । त्यो सुन्नासाथ यति रोए । यति कराए मेरो बुवा आमा बित्दा पनि त्यति रोइन होला । एकदमै दुख लागेको थियो । त्यो कुरा भनेरै साध्य छैन । गोरखनाथ बाबा, गोरखनाथ मन्दिर प्रति मलाइ किन हो किन धेरै मोह र आत्मीयता छ ।
बेलायतबाट कहिले फर्किनु भयो ?
एक वर्षको लागि घुम्न गएको थिए । तर काष्ठमाण्डप मन्दिर ढल्यो भनेपछि म त्यहाँ बस्नै सकिन । गएको दुई महिनामै म नेपाल फर्किए ।
काठमाडौँ पुग्नसाथ घर पनि नगई सिधै गोरखनाथ गए वसन्तपुरमा ।  हनुमाननाथमा राखिएको रहेछ । तर मलाई त्यहाँ जान दिइएन । मैले सबै कुरा भने पछि बल्ल जान दिइयो । अहिले पूजा गर्दे आएकी छु ।

टेलिभिजनबाट देखेको दृश्य र नजिकबाट नियाल्दा के फरक पाउनु भयो भूकम्प पछिको काष्ठमाण्डप ?
टिभीमा देख्दा त्यति अनुमान गरिन । मन्दिर पनि धेरै भत्केको रहेछ । त्यो भत्केको दृश्य देखेपछि आफूले कसरी सम्हाले आफैलाई थाहा छैन । बेलायतमा त ४ दिन सम्म केही नखाई बसेकी थिए । मलाई भगवानसँग मात्रै आस्था होइन । मेरो १७ वर्षको उमेर देखि नै मानवताप्रति आस्था र प्रेम थियो ।

काष्ठमाण्डप भत्किएपछि टिका लगाउन आउने दाजु भाइको सङ्ख्या घट्यो कि बढ्यो ?
पहिले भन्दा कम आउनुहुन्छ होला कि भन्ने लागेको थियो । तर त्यस्तो देखिएन । त्यो वर्ष टिका लगाइदिन अप्ठ्यारो भए पनि टिका लगाउन आउनेको भिड नै थियो ।

भाइटिकामा तपाइले सगुन चाहिँ कति जनाको लागि तयार पार्नु हुन्छ ?
पहिलो पटक भाइटिका लगाइदिँदा चाहिँ १०८ जनाको लागि मात्र तयार पारेको थिए । तर त्यो बेला ६/७ ओटा बाहेक बचेन । सरुवातकै वर्ष त्यति धेरै जना टिका थाप्न आएपछि दोस्रो वर्ष देखि २०८ को तयार पार्न थाले । अहिले ठाउँ अलिकति असजिलो हुँदा यो वर्ष चाहिँ केही कम गर्दै छु ।

आफ्नो परिवारमा को को हुनुहुन्छ ?
मेरो परिवारमा दिदी, बहिनी छौँ । दाजुको केही वर्ष अघि मृत्यु भयो । मेरो आफ्नो दाजु नभए पनि नेपाल तथा विदेशमा दिदी भनेर मसँग तिहारको टिका लगाउन आउने दाजुभाइलाई नै आफ्नै दाजु सम्झेर टिका लगाइदिँदै आएकी छु ।

सामूहिक भाइटिका लगाइदिने सोच सुरुमा कहाँबाट आयो ?
आत्म भित्रबाट नै आएको हो । सेवा, धर्म र प्रेम हो यो । केहिप्रतिको आस्था र प्रेम भएन भने त्यो कुराले निरन्तरता पाउन सक्दैन । मेरो मन देखि नै आएको आस्था हुँदा विगत २० वर्ष देखि निरन्तरता दिँदै आएकी छु । निस्वार्थ गरेको कार्यले निरन्तरता पाउन त्यति सजिलो छैन । मैले धेरै केही गरेको पनि हैन । आफ्नो क्षमताले जति भ्याएको छ । त्यही मात्र गरिरहेको हो ।

समय कसरी मिलाउनुहुन्छ ?
समय मिलाउन त यति गाह्रो छ । घरमा नुहाई/धुवाइ गरेर,  गोरखनाथ बाबालाई मण्डप लेखेर भाइटिका लगाइ दिन्छु । घरमा तयारी भइरहेको हुन्छ । घरमा भाइटिका लगाइदिए पछि १ः३० बजे सम्म अरू मेरा दाजुभाइलाई टिका लगाइदिन जान्छु । साढे ४ सम्म घर फर्कन्छु ।

तपाइले टिका लगाइदिने दाजु भाइहरू तिहारमा मात्रै आउनुहुन्छ वा अरू बेला पनि सम्पर्क हुन्छ ? यो सम्बन्ध तिहारका लागि मात्रै हुन्छ कि अरू बेला पनि हुन्छ ?
अरू बेला पनि भेट्ने र सम्झने धेरै नै हुनुहुन्छ । मैले जसलाई टिका लगाइदिन्छु उहाँहरू मेरो परिवार जस्तै हुनुहुन्छ । सधैँ सँगै बस्ने खाने र कहिले काहि भेट्नेमा फरक त हुन्छ । तर मैले उहाँहरूलाई हेर्ने दृष्टिकोण चाहिँ समान नै छ ।

कहिलेसम्म यसरी टिका लगाइरहनुहुन्छ ?
भगवानको शक्ति बिना मेरो यो कार्यको सुरुवात पनि हुने थिएन । शरीरले साथ दिएसम्म म लगाई रहन्छु । भगवानले कहिलेसम्म गर भनेर आदेश दिनुहुन्छ । म त्यो दिन सम्म यस कार्यलाई निरन्तरता दिने छु । यती दाजुभाइले मलाइ माया दिनु भएको छ । मैले आफ्नो शरीरले सकुन्जेल उहाहरुलाइ छोड्नै मिल्दैन ।
अन्त्यमा के भन्नुहुन्छ ?
सम्पूर्णमा तिहार तथा छट पर्वको शुभकामना दिन चाहन्छु र मेरा दाजुभाइलाई समयमा टिका लगाउन आउन पनि आग्रह गर्छु ।

उनीसँग गरिएको कुराकानी हेर्न तलको भिडियो हेर्नुहोस् ।

 

Related posts

Leave a Comment