गच्छदारको छटपटीः आँखामा सरकार, मनमा प्रतिपक्षी हुनुको पीडा

विनोद देवकोटा, टिभी अन्नपूर्ण ।

दुई तिहाइ बहुमतको अहिलेको सरकार ५ वर्षसम्मै रहने निश्चित जस्तै छ । अहिले प्रतिपक्षको रूपमा रहेको नेपाली काँग्रेस पनि सोही अवधिसम्म प्रतिपक्ष हुनेमा पनि शङ्का छैन । सरकारका रहेका कदमलाई अधिनायकवाद उन्मुख भएको भन्दै रटान लगाइरहेको काँग्रेसमा आफ्नै पार्टीको अधिनायकवादको सिकार भएका छन् नव काँग्रेसी विजय कुमार गच्छदार । हुन त उनी बिलकुलै नयाँ काग्रेसी भने होइनन् । राजनीतिको सुरुवात र लामो यात्रा भने उनको काँग्रेस भएरै बितेको हो । गच्छदारको शरीर कांग्रेसी ‘खुन’ नै हो । तर, व्यक्तिगत स्वार्थ पुरा गर्न उनले काँग्रेसलाई लात हानेर ६४ सालको संविधानसभा चुनावमा भागवण्डा नमिलेपछि उनी काँग्रेस छोडी तत्कालीन मधेसी जनअधिकार फोरम प्रवेश गरेका थिए ।

त्यसको करिब १० वर्षपछि उनी फेरी केही आशा र आश्वासनसहित घर फिर्ता भए नेपाली काँग्रेसमा । तर घर फर्केको १ वर्ष पनि नपुग्दै फेरी उनी असन्तृष्ट बनेका छन् । पार्टीमा बाहिरी सहतमा देखिएको उनको पहिलो असन्तृष्टि भने आन्तरिक द्वन्द्व नै हो । काँग्रेस प्रवेश ताका दिइएका आश्वासन पुरा नभएको उनको आरोप छ । गत वर्षको असोज १० गते पुरानै घर फर्केका गच्छदार काँग्रेसको सांगठनिक संरचनामा केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँसम्मका तत्कालीन नेपाल लोकतान्त्रिक फोरम र यसका भ्रातृ र भगिनी संस्थाहरूको संरचना एवं यथोचित समायोजन गर्ने सहमतिमा हस्ताक्षर गर्दै प्रवेश गरेका थिए । यो लिखित सहमतिसँगै दुई पार्टीबीच एकता भएका बेला गच्छदारलाई उपसभापतिको जिम्मेवारी दिने भद्र सहमति भएको पनि खबरहरू बाहिर आएका थिए । त्यसै अनुसार, पदाधिकारीमा दोस्रो दर्जाको हैसियत नपाएपछि गच्छदार पार्टी नेतृत्वप्रति आक्रोशित हुन थालेको स्रोतको दाबी छ । योसँगै केही राजनीतिक मुद्दामा पनि सहमति भएको थियो पार्टी एकीकरण हुँदा ।

तर अहिले राजनीतिक मुद्दाले भन्दा पनि अरू नै कुराले बढी परिोलेको छ । उपसभापति पद नपाएका गच्छदारले केन्द्रीय कार्यसमिति बैठकमा पहिलोपटक असन्तुष्टि पोखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक सकियो उपसभापतिमा विमलेन्द्र निधिलाई देउवाले काखी च्यापे । हुन त उनलाई सभापति बन्न नदिनुमा देउवा मात्रै दोषी होइनन् । मुख्य बाधक काँग्रेसको विधान बनेको हो । काँग्रेसको विधान अनुसार निर्वा्चित केन्द्रीय सदस्यलाई मात्रै पदाधिकारीमा मनोनयन गर्नुपर्ने प्रावधान छ। त्यसपछि गच्छदारको असन्तुष्टि थप चुलिँदै गएको छ । त्यसको उच्च रूप उनले गत असार २५ गतेको एउटा कार्यक्रममा पोखे । आफूसँगै आएका कार्यकर्ताको ९ महिनासम्म समायोजन हुन नसेकोमा उनी आक्रोशित थिए। उनले फोरम लोकतान्त्रिकबाट आएका आफ्ना कार्यकर्तालाई पार्टीमा जिम्मेवारी नदिने हो भने पार्टी फुट्नसक्ने चेतावनी दिए ।


गच्छदारका आँखामा सरकार
गच्छदार शक्ति र सत्तारोहणकै वरिपरि रमाउने नेताका रूपमा परिचित छन् । सत्ता र शक्तिका लागि उनको चार्तुयता र चाप्लुसी गजबको छ । नेपाली राजनीतिमा उनलाई ‘चेसको घोडा’ नै भन्ने हरूको पनि कमी छैन । उनमा भएको एउटा अद्भुत क्षमता भनेको ‘छेपारे राजनीति’ पनि हो । अहिले ५ वर्षसम्म सरकार बाहिर रहनु पर्ने बाध्यताले पनि उनलाई केही हदसम्म पिरोलेको हुनसक्छ । बाहिरी रूपमा देखाइएको पार्टी्भित्रकै मदभेद भन्दा पनि उनलाई सत्ताको स्वाद चाख्न नपाएको पिरलो बढी छ ।
गच्छदारले सत्ताका लागि कातिबेला कहाँ कसरी कसलाई अँगाल्छन् र लात हान्छन् भन्ने कसैले अनुमान गर्न सक्दैनन् । उनी राजनीतिमा सत्ताका माहिर खेलाडी नै हुन् । गच्छदारले सत्ताको स्वाद पटक पटक लिएका छन् । उनको राजनीतिक जीवनमा सत्ता बाहिर खासै रहनु परेको पनि छैन । सत्ता र शक्तिका लागि सधैँ अघि रहेका गच्छदार १२ पटक मन्त्री बनिसकेका छन् ।

२०४८ पछि बनेका लगभग हरेक प्रधानमन्त्रीको पालामा उनले सत्ताको रसपान गरेका छन् । कट्टर कम्युनिष्टदेखि राजाको कडा शासनमा समेत उनले मन्त्री खान छोडेनन् । आफ्नै पार्टीका प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारबाट सत्ताको यात्रा सुरु गरेका गच्छदारले उनकै पालमा दुई पटक र काँग्रेसकै शेर बहादुर देउवा र कृष्ण प्रसाद भट्राईको पालामा २ पटक सरकारको स्वाद चाखेका छन् । कट्टर राजावादी सूर्य बहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा पनि उनी एक पटक मण्डले मन्त्री बने । त्यस्तै कट्टर कम्युनिस्ट प्रचण्डदेखि , केपी ओली, माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको सरकारमा समेत ७ पटक सत्ताको सिडी चढेका छन् ।

गच्छदारको सत्ता आरोहण क्रम
१.१५ पुस ०४८ देखि १४ मङ्सिर ०५१ सम्म सञ्चार राज्यमन्त्री
२. ६ असोज ०५२ देखि २९ फागुन ०५३ सम्म निर्माण तथा यातायातमन्त्री
३. १८ मङ्सिर ०५४ देखि २ वैशाख ०५५ सम्म निर्माण तथा  यातायातमन्त्री
४. ८ वैशाख ०५५ देखि १० पुस ०५५ सम्म निर्माण तथा यातायातमन्त्री
५. १७ जेठ ०५६ देखि २७ फागुन ०५६ सम्म पर्यटन तथा नागरिक उड्डयनमन्त्री
६. २७ फागुन ०५६ देखि ८ चैत ०५६ सम्म जलस्रोतमन्त्री
७. ११ साउन ०५८ देखि १९ असोज ०५९ सम्म जलस्रोतमन्त्री
८. १५ भदौ ०६५ देखि ११ जेठ ०६६ सम्म भौतिक योजना तथा निर्माणमन्त्री
९. ११ जेठ ०६६ देखि १२ भदौ ०६८ सम्म उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री
१०१२ भदौ ०६८ देखि १ चैत ०६९ सम्म उपप्रधान एवं गृहमन्त्री
११. २४ असोज ०७२ देखि ९ साउन ०७३ सम्म उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री
१२. २६ वैशाख २०७४ देखि ३ फागुन २०७४ सम्म उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री

पछिल्लो समय उनी सत्ता बाहिर रहेको धेरै भने भएको छैन । निर्वाचन सम्पन्न भएपछि गत फागुन ३ सम्म पनि उनी मन्त्री थिए । तर मन्त्री पद छोडेको ४ महिनामै उनलाई सत्ताले अत्ताउन थालेको छ । केही महिना अघिको एक कार्यक्रममा उनले भनेको थिए ‘ केपी शर्मा ओली र प्रचण्डले काँग्रेससँग एकता गरेर केही प्राप्त नहुने आफूलाई बताएको स्मरण गर्दै ‘उनीहरूसँग चुनावी गठबन्धन गरेको भए ८/१० सिट आउने थियो’,‘काँग्रेस बाहिर रहेर पनि स्थापित थिएँ। एकता नभएको भए सरकारमा हुन्थेँ।’ त्यति बेला बोलेको उनको यो बोलीलाई पछिल्लो समय पार्टी्भित्रै उनले पाखेको असन्तुष्टिलाई पुष्टि गर्छ ।

पार्टी फुटाए पनि गच्छदारको संसदीय हैसियत नरहने हुनाले दलको गुटहरूलाई चेतावनी दिनको लागि विषयान्तर गरेको हुनसक्ने कतिपयको आकलन भएपनि उनको बिगतको चरित्र हेर्दा उनले के को लागि तानाबाना बुनिरहेका छन् भन्ने अनुमान लगाउन पनि गार्हो छ ।  हालका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा र प्रचण्ड नेतृत्वको सरकारमा पनि सरहभागी भईसकेका उनी पार्टीबाट विद्रोह गरेर बाहिर गएपनि सत्तापक्षसँग सहजै जोडिनसक्ने कला उनमा छ । त्यसैले प्रतिपक्षमा बसेर सरकारको कुर्सीले उनलाई बोलाईरहेको उनले सपना देखेको हुनुपर्छ ।

Related posts

Leave a Comment