आठ दिनदेखि अस्पताल बन्द भएपछि बिरामीहरू मर्कामा

अनिल पोखरेल, राजविराज ।
सप्तरीको कञ्चनरूप नगरपालिका —१२ स्थित धर्मेश्वर अस्पतालको सम्पूर्ण सेवा आठ दिनदेखि बन्द भएपछि बिरामीहरू मर्कामा परेका छन् ।

पूर्व पश्चिम राजमार्गमा सञ्चालित १५ शैयाको निजी अस्पतालको सम्पूर्ण उपचार सेवा स्थानीयबासीले गत साउन २३ गतेदेखी बन्द गराएपछि बिरामीहरू मर्कामा परेका हुन् । उपचारको क्रममा मोटरसाइकल दुर्घटनामा घाइते कञ्चनरूप नपा-११ बक्साहाका ४० वर्षीय थिरप्रसाद चौधरीको मृत्यृ भएपछि स्थानीयबासीले साउन २२ गते दिउँसोबाट सडक जाम गर्दै विरोध प्रदर्शन गरेका थिए । घाइतेका आफन्तले अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै अस्पतालबाट क्षतिपूर्ति भराउनु पर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

गत साउन २३ गते पनि मृतकाका परिवाजनले प्रदर्शन जारी राखेपछि अस्पताल र मृतकका परिवारबीच लिखित सम्झौता भएर अस्पताल बन्द गरिएको अस्पतालका व्यवस्थापक दिलिप कर्णले बताए । पोष्टमार्टम प्रतिवेदनका आधारमा कानुनी कारबाही प्रकृया अगाडि बढाउन दुवै पक्ष तयार भएपछि पोष्टमार्टम प्रतिवेदन नआउञ्जेसम्मका लागि अस्पताल बन्द गरिएको बताइएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शवको पोष्टमार्टम गर्न मृतकका आफन्त र गाउँलेहरू तयार नभएपछि साउन २३ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर पोष्टमार्टम गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, कञ्चनरूपका इन्स्पेक्टर प्रतिक विष्टका अनुसार पोष्टमार्टम प्रतिवेदन आउन अझै एकदुई दिन लाग्ने बताए । अस्पतालबाट कुनै लापरवाही नभएको र सुविधासम्पन्न अस्पतालका लागि रेफर गरिएका घाइतेलाई धरानतर्फ लैजाँदै गर्दा भारदह पुगेपछि मृत्यु भएको अस्पतालका इन्र्जाज कर्णले बताए । कञ्चनपुर क्षेत्रमा दर्घटना धेरै हुने क्षेत्र भएकोले अस्पताल बन्द हुदाँ सर्वसाधरण मर्कामा परेको बताइएको छ । यस क्षेत्रका पुरानो स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य उपचार केन्द्र कञ्चनपुरमा हाल आकस्मिक उपचार सेवा उपलब्ध छैन ।

२०६८ सालदेखि राजमार्गमा सञ्चालित सो अस्पतालले प्राथमिक उपचारका साथै विशेष गरी दुर्घटनाका घाइतेहरू र विषसेवनका बिरामीलाई आकस्मिक स्वास्थ्य सेवा दिँदै आएको छ । एकसातादेखि अस्पतालको सम्पूर्ण सेवा बन्द भएपछि बिरामी र तिनका आफन्तलाई मर्का परेको छ ।

Related posts

Leave a Comment