विद्युत चुहावट इतिहासकै कम : विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा विद्युत चुहावट २० प्रतिशतमा झारेको जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २२ दशमलव ९० प्रतिशत चुहावट रहेकोमा गत वर्ष २० दशमलव ४५ प्रतिशतमा झारेको प्राधिकरणले जनाएको छ । यो इतिहासकै कम भएको दाबी प्राधिकरणको छ । चुहावट नियन्त्रणबाट प्राधिकरणले ४ अर्ब थप आम्दानी गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। चालु आर्थिक वर्षमा १५ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।

यसका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असूलीमा कडाई, ट्रान्सफर्मर, वितरण लाइन तथा सवस्टेसनको सुदृढीकरण लगायतका कामलाई अभियानकै रुपमा चलाइएको घिसिङले बताए । प्राधिकरणले गत आर्थिक वर्षको अन्तिम लेखा परीक्षण पछि १ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा कमाउने अनुमान गरेको छ । लोडसेडिङको अन्त्यसँगै विद्युत चुहावट नियन्त्रणमा सफलता, भारतबाट विद्युत आयातमा कमी, प्रशासन खर्चमा कटौती, लगायतका कारण प्राधिकरण खुद नाफामा गएको निर्देशक घिसिङको दाबी छ ।

प्राधिकरणको संचित नोक्सानी अझै २८ अर्ब १२ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ए र माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले विद्युत उत्पादन थाल्ने भएकाले प्राधिकरणको आम्दानी झनै बढ्ने निर्देशक घिसिङको भनाई छ ।

Related posts

Leave a Comment