बैतडीका शक्तिपीठमा भक्तजनको घुइँचो

बैतडी।  दशैँको अवसरमा बैतडीका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।

देहीमाडौँमा रहेको प्रशिद्घ निङ्गलाशैँनी भगवती मन्दिर, मेलौलीमा रहेको मेलौली भगवती मन्दिर, पाटनमा रहेको उदयदेव मन्दिर, त्रिपुरामा रहेको त्रिपुरा सुन्दरी मन्दिर, पुर्चौडीमा रहेको डिलाशैनी भगवती मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदारलगायतका दर्जनौँ मन्दिरमा घटस्थापनादेखि नै भक्तजनको घुइँचो लागेको हो ।

यी मन्दिरमा भारतका विभिन्न स्थानबाट समेत दर्शनार्थी आएका छन् । दशैँको बेलामा लाग्ने मेलामा भक्तजनको घुइँचो लागेकोे दशरथचन्द नगरपालिका–२ देहीमाडौँका अध्यक्ष रनबहादुर बोहराले जानकारी दिनुभयो । बैतडीसहित सुदूरपश्चिमलगायत भारतबाट समेत दर्शनार्थी आएका छन् उहाँले भन्नुभयो, “महाअष्टमीको दिन राँगा र बोकासहित पूजाआजा लाग्ने गर्छ ।”

यस्तै पुर्चाैडी नगरपालिकाको मल्लादेहीमा रहेको डिलाशैनी भगवती मन्दिरमा पनि महाअष्टमीको दिन राँगाको बलि दिने गरिन्छ । पाटनमा रहेको उदयदेव मन्दिरमा नवमीको दिन राँगाको बलि दिइन्छ । त्रिपुरा सुन्दरी मन्दिरमा घटस्थापनादेखि दशैँसम्म बलि दिने गरिएको छ ।

नवरात्रमा चोखोभोको रहेर शक्तिपीठको पूजाआजा गर्ने चलन रहिआएको निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्टले जानकारी दिनुभयो ।

मेलामा कुनै आपराधिक क्रियाकलाप नहोउन् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बैतडीले मेला स्थलमा प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिनुभयो ।

बजारमा किनमेल गर्नेको भीड 

दशैँतिहार नजिक आएसँगै बजारमा किनमेल गर्नेको भीड लागेको छ । जिल्लाका मुख्य बजार गोठालापानी, देहीमाडौँ, पाटन, पुर्चौडी हाट, मेलौली, खोडपेलगायतका बजारमा किनमेल गर्नेको घुइँचो लागेको मुस्याचौरका व्यापारी भीमराज भट्टले बताउनुभयो ।

Related posts

Leave a Comment