अधिकारको दुरुपयोगः आर्थिक अनियमितता गर्न खोज्दा विवाद

सिंहदरबारको अधिकार गाउँगाउँमा आएसँगै कतिपय ठाउँमा त्यसको व्यापक दुरुपयोग भएको पाइएको छ । आर्थिक बर्ष २०७४/०७५ मा गौर नगर पालिकामा सबै भन्दा बढी रकम विनियोजन भएको योजनामा कार्यरत कर्मचारीले आफनै मान्छेलाई उपभोक्ता समितिमा राख्दा विवादित बढेको छ ।

उपभोक्ता समिति बनाएर आर्थिक अनियमितता गर्न खाजेको स्थानीयले आरोप लगाएका छन् । गौर नगरपालिकामा काजमा कार्यरत लेखा अधिकृत पवन महतो र केही जनप्रतिनिधिको मिलोमतोमा गठन गरिएको नक्कली उपभोक्ता समितिले हाल सम्म सो सडकको निर्माण कार्य सम्पन्न नगरेपछि विवाद चुलिएको हो ।

परोहा नगरपालिका, जिल्ला स्वास्थ्य र गौर नगरपालिकामा लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै गरेका लेखा अधिकृत महतो, गौर नपाका मेयर अजय गुप्ताको नजिकका व्यक्ती हुन् । मेयरको निर्देशन अनुसारको गोप्य काम काज गर्ने लेखा अधिकृतको आवश्यकता महसुस भएपछि मेयर गुप्ता चुनाव जित्ने वित्तिकै स्वयम महालेखा नियन्त्रकको कार्यालय अनामनगरमा गई बाराको महागढीमाई नगरपालिकामा कार्यरत रहेका महतोलाई गौर नगरपालिकामा काजमा ल्याएको नाम उल्लेख नगर्ने शर्तमा श्रोतले बतायो । मेयर गुप्ता र लेखा अधिकृत महतोको नजदिकी सम्बन्ध समाजिक संजालमा राखिएको तस्वीरहरुबाट देख्न सकिने श्रोतले दाबी गर्यो ।

गौर नपा ५ कोइरी टोल स्थित पाकडको रुख देखि गौर चन्द्रपुर जोड्ने सडक नजिक रहेको बस पार्क सम्म नयाँ सडक निर्माणका लागि गठन गरिएको उपभोक्ता समितिको अध्यक्ष प्रिन्सी कुमारी महतो रहेकी छिन जुन लेखा अधिकृत पवन महतोको आफनै साली हुन भने सचिव चंचल कुमारी र मनोज कुशवाहा नगर प्रहरीका रुपमा कार्यरत रहेका छन ।

स्थानिय निकाय श्रोत परिचालन कार्यविधिको नियम अनुसार कुनै पनि कर्मचारीको नजिकको नातेदार वा कर्मचारी सोही कार्यालयको कामको उपभोक्ता समितिमा पदाधिकारी बन्न हुन नसक्ने प्रावधान रहेको छ । सम्बन्धीत कार्यालयको तलब सुविधा खाएर उपभोक्ता समितिमा रहन कानूनले नै बन्देज गरेको छ । तर गौर नगरपालिकाका कर्मचारी र नजिकको नातेदारहरु पदाधिकारीमा राखेर आफै सो उपभोक्ता समिति मार्फत २७ लाख रुपैयाको बजेट छुट्टयाएर नयाँ सडक निर्माण कार्य गरिरहेको छ ।

उपभोक्ता समितिलाई नगरपालिकाले पेश्की र रनिंग विल वापतको रकम प्रदान गरिसकेको र आर्थिक वर्ष समाप्त भएको झण्डै एक साता वित्न लाग्दा समेत अझै सो सडक निर्माण कार्य जारी रहेको स्थानीय अर्जुन सिंहले बताए । गुणस्तरहीन तथा अपुरो सडक निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिएर नगरपालिकाको जिम्मेवार कर्मचारीले नै लाखौ रुपैयाको अनियमितता गर्न खोजेको अर्का स्थानिय सन्तोष यादवले आरोप लगाएका छन् ।

सडक निर्माण उपभोक्ता समितिको महत्वपूर्ण पदमा बसी गुणस्तरहिन कार्य गर्ने व्यक्तिहरुलाई लेखा अधिकृत र केही जनप्रतिनिधिको जोडबलमा नगरप्रहरीमा करारमा नियक्त गराएका छन् । नगरप्रहरीमा नियक्त हुनु अगावै नै उपभोक्ता समिति गठन गरिए पनि सचिव र सदस्यले दुवै पदमा नियमविपरित बसेको गुनासो यादवले गरे ।

सडकको काम सम्पन्न नहुदै सडकको अन्तिम बिल तथा नापजाँच कार्य सकि भुक्तानीका लागि चेक समेत तयार भएको नगरपालिका श्रोतबाट बुझिएको छ । लगभग नौ सय मिटर लम्बाइ रहेको सो सडक को भुक्तानीको चेक तिन दिन अघि नै तयार भएर पनि विवाद बढेपछि उपभोक्ता समितिलाई चेक बुझाइएको छैन् ।

सडकको निर्माणको म्याद थप नभएको तथा सडकमा हाल सम्म ग्राभल खसाल्दै गरेको कारण मूल्याङ्कन रकम तिनलाख रुपैया घटाइएको छ ।

माटो पुरी ग्राभल गर्ने सडकको उचाई निकै कम रहेको छ भने खसाइएको ग्राभेल न्यून गुणस्तर तथा स्टीमेट भन्दा कम प्रयोग गरिएको छ । भर्खरै निर्माण गरिएको सो सडकको किनाराहरु ठाँउ ठाउँमा भत्कीन थालेका छन । गौर नगरपालिकाका लेखा अधिकृत पवन महतोले बाटोको नापजाँच तथा अन्तिम विल भएपछि भुक्तानीको चेक बनाइएको र उपभोक्ता समितिलाई हाल सम्म नबुझाइएको बताए । नियम प्रक्रिया अनुसार उपभोक्ता समिति गठन भएको तर केही विवाद रहेको उनले स्वीकारे ।

Related posts

Leave a Comment