विश्वकप छनोट खेलमा ताइपेइविरुद्द नेपालको सहज जित

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित दर्ता गरेको छ । अञ्जन विष्ट र नवयुग श्रेष्ठले १–१ गोलमा नेपालले ताइपेइलाई २–० ले पराजित गरेको हो ।

बिहीबार राति कुवेतको जाबेर अल अहमद रंगशालामा भएको विश्वकप फुटबल छनोटअन्तर्गतको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्ध जित दर्ता गरेको हो ।

खेलको चौथो मिनेटमा ताइपेइका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई विष्टले गोलमा परिणत गरे । यसअघि उनले मे २९ मा इराकविरुद्ध भएको मैत्रीपूर्ण खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका विष्टका लागि यो दोस्रो अन्तर्राष्ट्रिय गोल थियो ।

यस्तै खेलको ६९ मिनेटमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ८१औं मिनेटमा सुमन अर्यालको सटिक क्रसलाई गोलमा परिणत गर्दा नेपालले ताइपेईविरुद्धको गोलअन्तरलाई दोब्बर बनायो ।

यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन ।

अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५/५ खेलमा समान १०/१० अंक रहेको छ । आज हुने दोस्रो खेलमा अष्ट्रेलिया र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार