अस्पतालले घर पठाएका कोरोना संक्रमितको बाटैमा मृत्यु

ओखलढुंगामा अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका –३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर जाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

स्वास्थ्य समस्या देखिएपछि यही जेठ ११ गते ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना भएकी ती महिलामा जेठ १४ गते एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित महिलाका परिवारले घरैमा लगेर आइसोलेशनमा राख्ने बताएपछि अस्पतालले डिस्चार्ज गराएको थियो ।

अस्पतालबाट घर नपुग्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाले सहयोग गर्ने भएको छ । जिल्लामा यससहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार