लुम्बिनी प्रदेशका मन्त्री चौधरी भन्छन्- अहिलेको सरकारमाथि औँला उठाउने ठाउँ छैन

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले अहिलेको सरकारमाथि औँला उठाउने कुनै ठाउँ नरहेको बताएका छन् ।
बिहीबार प्रदेश सरकारको विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले अहिलेको सरकार पूर्ण बहुमतको रहेको र सरकारमाथि औँला उठाउने ठाउँ नरहेको बताएका हुन् ।
कानुनी हिसाबले वर्तमान सरकारको सङ्ख्या ४५ भएको र व्यावहारिक हिसाबले ४२ रहेको उनको भनाई छ । उनले मुख्यमन्त्रीले आवश्यकता अनुसार चाहेका बेला विश्वासको मत लिने कानुनी प्रावधान रहेको भन्दै उपयुक्त समयमा विश्वासको मत लिने काम पनि हुने धारणा राखे । त्यस्तै उनले प्रदेश सरकारले सांसदबाटै बजेट पास गराउन चाहेको स्पष्ट पारेका छन् । मन्त्री चौधरीले कोरोनालाई मध्यनजर गर्दै उपयुक्त बजेट आउने जिकिर गरे । प्रदेश सरकारको सेवा प्रवाह बढाउने र प्रदेशले सुरु गरेको योजना समयमै पूरा गराउने उद्देश्यका साथ बजेट आउने उनले जानकारी दिए ।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले जीवनाशक विषादी नियमन सम्बन्धी विधेयक पेस गरेका थिए । प्रदेशसभाको अर्को बैठक जेठ २५ गते बोलाइएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार