डब्लूएचओले भन्यो – नेपालमा कोरोना भाइरसको नयाँ भेेरियन्ट भेटिएको छैन

'डेली मेलको समाचार गलत'

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको बताएको छ । बेलायती अखबार डेली मेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि डब्लूएचओले उक्त कुरा स्पष्ट पारेको हो ।

डब्लूएचओको नेपाल च्याप्टरले नेपालमा कोरोनाका कुनै नयाँ स्वरुप पुष्टि नभएको प्रष्ट्याएको हो । उक्त समाचार प्रकाशन भएपछि नेपालमा कोरोनाभाइरसको नयाँ स्वरुप साँच्चिकै पुष्टि भएको हो की भन्नेबारे प्रश्न उठेको थियो । डेली मेलले बिहीबारको संस्करणमा ‘नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज’ भन्दै कभरमै समाचार प्रकाशित गरेको थियो । तर नेपालस्थित डब्लूएचओको कार्यालयले नयाँ स्वरुपबारेको भ्रमलाई चिरेको हो ।

डब्लूएचओले सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा नेपालमा हालसम्म कोरोनाको तीन स्वरुप मात्रै पुष्टि भएको उल्लेख गरेको छ । डब्लूएचओले आफ्नो उक्त सन्देशलाई ‘महत्वपूर्ण’ लेखेर साझा गरेको हो । डब्लूएचओले फेसबुकमा लेखेको छ, ‘नेपालमा सार्स(कोभ(२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७) , डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।’ कोरोनाको डेल्टा स्वरुप बेलायतबाट भारत भित्रिएको स्वरुप उत्परिवर्तन भएर नयाँ स्वरुप ग्रहण गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार