एघार वर्षअघि काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पार्टी निर्णयलाई बेवास्ता गर्दै छोरी सुजातलाई उपप्रधानमन्त्री जस्तो महत्त्वपूर्ण पदमा नियुक्ति दिलाएपछि काँग्रेसमा गिरिजाले आफ्नो शेखपछि पनि नेतृत्व कोइराला परिवारबाट बाहिर जान दिन नचाहेको चर्चा चलेको थियो । तत्कालीन माधव कुमार नेपाल नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री रहेकी सुजातलाई उपप्रधानमन्त्ती बनाउँदा अगाडि विरोध गर्न नसकेपनि गिरिजाप्रसादको पीठपछाडि धेरै काँग्रेस नेता कार्यकर्ताले आलोचना गरेका थिए । हुनत काँग्रेसमा केन्द्रीय सदस्य मात्रै रहेकी कोइराला पिताकै जीवनकालमा उनको बिँडो थामेर वैकल्पिक नेतृत्वका रूपमा खडा हुन सकिनन् । बरु गिरिजाकै आशीर्वादबाट महामन्त्री बनेका सुशील, बाह्रौँ महाधिवेशनमा कोइरालाको विरासत थाम्दै पार्टी सभापति निर्वाचित हुन सफल भए । त्यसयता र आज पर्यन्त पनि काँग्रेस नेतृत्वमा कोइराला लिगेसीका पक्षधरहरू बहुसङ्ख्यक नै देखिन्छन् । काँग्रेस संस्थापक बिपी कोइराला, उनका दाजु मातृका र भाइ गिरिजाप्रसादको शेखपछि पनि काँग्रेसमा कोइराला परिवारको देनको गुणगान र निरन्तरको वकालत गर्नेहरूको कमी छैन पार्टीभित्र । त्यसैको परिणाम हो काँग्रेसको संस्थापन इतर समूहबाट अघिल्लो महाधिवेशनमा प्रकाशमान सिंह, रामशरण महतलगायतका हस्तीहरूलाई पछि पार्दै छोटो राजनैतिक इतिहास भएका शशाङ्कले महामन्त्रीको टिकट हात पारे र बाजी पनि मारे ।
तेह्रौँ महाधिवेशनको यस घटनाले काँग्रेसमा एउटा तथ्य जबरजस्त स्थापित गरिदिएको छ कि काँग्रेसको राजनीतिमा जतिसुकै लामो योगदान किन नहोस्, कोइराला परिवारको सामु उ फिका पर्छ । त्यसो त कोइराला परिवारभित्रै पनि नेतृत्वमा दाबेदार प्रस्तुत गर्न सक्ने दुई भाइ छन्, शशाङ्क र शेखर । गीरिजापुत्री सुजाता अघिल्लो महाधिवेशनसम्म निकै सक्रिय भूमिका खोजे पनि यस पटक भने दाजु शेखर वा भाइ शशाङ्क जो अघि आयो उसैलाई सघाउने मनस्थितिमा छिन् । स्वास्थ्य लगायतका कारण उनको राजनीतिक सक्रियता घटेको छ । दुई भाइमध्ये शेखर राजनीतिक हिसाबले धेरै परिपक्व र कार्यकर्ताका बिचमा रमाउने भएपनि उनी बिपीका साक्खै छोरा नहुनुको पीडा अघिल्लो महाधिवेशनमै भोगिसकेका छन् । हुनत शेखर २०५१ सालबाटै पूर्णकालीन राजनीतिमा होमिएका हुन् । २०४८को आम निर्वाचनदेखि नै चुनावी मोर्चामा सक्रिय शेखरको एउटै कमजोरी उनी बिपप् पुत्र नभएर उनका साइँला भाइ केशवका छोरा हुन् । यही तथ्यले शेखरलाई बारम्बार झास्काईरहन्छ । बेलाबेला आफू निकटका नेता कार्यकर्तासँग उनी आफू सी ग्रेडको कोइराला हुनुको मूल्य चुकाउनुपरेको गुनासो गर्ने गर्छन् । उता तीन दाजु बहिनीमा सबैभन्दा कान्छा शशाङ्क भने काँग्रेसको सक्रिय राजनीतिमा पनि सबैभन्दा पछि उदाएका हुन् । ०६२ को ११औँ महाधिवेशनको पूर्व सन्ध्यामा चिकित्सा पेसाबाट राजीनामा दिएर उनी केन्द्रीय सदस्यको उम्मेदवार भए र जिते पनि । दुई कार्यकाल मात्र केन्द्रीय सदस्य भएका शशाङ्क तेह्रौँ महाधिवेशनमै यति माथि आईपुग्नुमा उनको योगदानभन्दा धेरै कोइराला परिवार, अझै बिपीको लिगेसीले काम गरेको स्पष्ट छ । बिपीको लिगेसीकै कारण शेखरभन्दा झन्डै ११ वर्षपछि काँग्रेस मैदानमा आएका शशाङ्क महामन्त्री भइसकेका छन् ।
अब आसन्न चौधौँ महाधिवेशनमा त वर्तमान कार्यसमितिको निर्वाचित महामन्त्री हुनु र पौडेल पक्षका धेरै आकाङ्क्षीका बिचमा बिपीको लिगेसी समात्दै साझा उम्मेदवार बन्न सक्ने सम्भावना शशाङ्कको देखिन्छ । देउवा आफैँले दावेदारी प्रस्तुत गरिरहेका बेला उनको समूहमा उनलाई तत्कालै प्रतिस्थापन गरिहाल्ने अर्को दावैदार देखिँदैन । आफैँले मनोनीत गरेका उपसभापति बिमलेन्द्र निधिले अघिल्लो महाधिवेशनमा सघाएको हिसाब फिर्ता माग्ने सम्भावना रहेपनि देउवा आफैँले चाहेसम्म त्यो सम्भव छैन । देउवा नउठ्दा निधिलाई विजय गच्छेदार लगायतका नेताले स्विकार्ने अवस्था नबनेको देखाउँदै देउवाले निधिलाई थुमथुम्याउन सक्छन् । देउवा आफैँ उम्मेदवार भए भने विपक्षी खेमाबाट उनलाई हराउन सक्ने साझा उम्मेदवारको खोजी हुनु स्वाभाविक छ । वरिष्ठ नेता पौडेल पनि पूर्व महामन्त्री प्रकाशमान सिंह, रामशरण महत लगायतका नेताभन्दा आफू नउठ्ने अवस्थामा बिपी पुत्र शशाङ्कलाई नै आफ्नो रोजाइमा राख्न चाहन्छन् । यसको स्पष्ट प्रमाण उनले अघिल्लै महाधिवेशनमा दिइसकेका छन्, शेखरलाई ब्याक गराएर ।
पार्टीभित्र अन्य नेताहरूका सन्दर्भमा एकले अर्कालाई नस्विकार्ने माहौल दुवै गुटभित्र चलिरहँदा पनि कोइराला परिवारमा काँग्रेसको नेतृत्व फिर्ता ल्याउने सन्दर्भमा शेखरले आवश्यक परे भाइका लागि अर्को त्याग गर्न सक्छन् । कोइराला त्रयबीच शशाङ्कले पार्टी सभापति पाए आगामी आमनिर्वाचनबाट काँग्रेसलाई पहिलो पार्टी बनाएर शेखरलाई प्रधानमन्त्रीमा अघि सार्नेसम्मको रोडम्यापमा सहमति भैसकेको श्रोत बताउँछ । योगदान भन्दा परिवारवाद हाबी भएको काँग्रेसमा अघिल्लो महाधिवेशनकै नजिर स्थापित गर्दै शशाङ्क भावी सभापतिका रूपमा स्थापित नहोलान् भन्न सकिन्न । तर यसका लागि उनले पौडेल गुटभित्र अन्य प्रतिस्पर्धी भन्दा पनि स्वयं पौडेलकै विश्वास कत्तिको जित्लान् त्यसमा भर पर्छ । पौडेलको राजनीतिक इतिहास र समपूर्णको सम्मान गर्दै उनलाई विगतमा गणेशमानलाई दिएकै जस्तै कुनै सम्मानित पद व्यवस्थापन गर्न सके भने काँग्रेस संस्थापक बिपीको निधनको करिब आधा शताब्दी पछि उनकै रगत पार्टीको सर्वोच्च नेतृत्वमा स्थापित हुनेछ ।