“गाई” विनाका कमल थापा

किन झुके राणा र लोहनीसामू ?

गएको वर्ष फागुनमा एकता सहमतिपत्रमा हस्ताक्षर गर्दैगर्दा २ वटा राप्रपाबीच ६ महिनाभित्र चुनावचिन्ह टुंगाउने सहमति भएको थियो । अरु सबै विषय मिलिसक्दा पनि चुनाव चिन्ह मिलाउन नेताहरुलाई उनीहरुले नै भनेको ६ महिनाको अवधि पर्याप्त भएन । सातौं महिना लाग्दा बल्ल तल्ल चुनाव चिन्हको विषय त टुंगो लाग्यो, तर कमल थापाले मन खिन्न पार्दै स्वीकारे ।

कमल थापाले आफू शक्तिमा आएसंगै २०६२ सालमा स्थापना गरेको राप्रपा नेपालदेखि पछिल्लो पटक पूर्व पञ्चमध्ये सबैभन्दा ठूलो पार्टी रहँदासम्म पनि राप्रपाको चुनाव चिन्ह रहेको गाई यसपटक फेरिएको छ । थापाले निर्वाचन चिन्ह गाई छोडेर हलो स्वीकार गर्दै गर्दा एकताका लागि सम्झौता गर्नुपरेको बताएका छन् । विभिन्न टुक्रामा विभक्त पूर्वपञ्चहरुलाई ब्यक्तिगत हैसियतमा मात्रै भए पनि संसदमा उपस्थित गराईदिएको त्यही गाईले हो । एकताको सातौं महिनामा आएर राप्रपाले हलोलाई चुनाव चिन्ह बनाउँदै गाइलाई तीन रंगी झण्डामा समेट्ने निर्णय गरेको हो ।

त्यसो त स्थापनाकालमै जरासन्ध स्वरुपमा जन्म भएको पूर्वपञ्चहरुको पार्टी राप्रपाका लागि गाई र हलो दुबै उत्तिकै पुराना चिन्ह हुन् । २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनासंगै सूर्यबहादुर थापाले स्थापना गरेको राप्रपा(थापा)को चुनाव चिन्ह गाई थियो भने लोकेन्द्रबहादुर चन्दले स्थापना गरेको राप्रपा(चन्द)को हलो । २०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा क्रमशः १ र ३ सिट जितेका दुई राप्रपाबीच चुनावको परिणामले एकता गराइदियो । परिणमतः राप्रपा थापाले अध्यक्ष पायो भने, चन्दको चुनाव चिन्ह हलो जोडिएको राप्रपाको चिन्ह बन्यो । एकीकृत पार्टीले २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा २० सिट जित्यो । त्यसयता करीब १२ वर्ष हलो नै राप्रपाको पहिचान बन्यो ।

तर ६१ असोजमा तत्कालीन राजा ज्ञानेन्द्रले शक्ति हातमा लिंदै पूर्वपञ्चहरुलाई पालैसंग शक्तिमा ल्याएसंगै राप्रपका नेताहरुमा शक्तिको मात चढ्यो र राप्रपा टुक्रा हुने क्रम शुरु भयो । त्यसक्रममा सूर्यबहादुर थापाले नयाँ नामको राष्ट्रिय जनशक्ति पार्टी खोलेपनि पछि त्यो राप्रपामै बिलय भयो । तर कमल थापाले राजतन्त्रकै पक्षमा स्पष्ट अडानसहित खोलेको राप्रपा नेपाल त्यसयता हीन्दूवादी र राजावादीहरुको प्रमुख राजनैतिक शक्ति बन्न पुग्यो । सूर्यबहादुर र पशुपति समशेर राणाहरुको राप्रपाले अन्योल अन्योलका बीच गणतन्त्रलाई स्वीकारीसकेका थिए ।

तर सूर्यबहादुर थापाको निधनसंगै गणतन्त्रको लाईन छोडेर राजसंस्थाकै पुनस्र्थापनाको लाइनमा फर्किएका पशुपति समशेर र बीचमा एकीकृत राप्रपा (राष्ट्रवादी) खोलेर पछि राप्रपा संयुक्तमा मिसिएका डा. प्रकाशचन्द्र लोहनीसमेत एकैठाउमा आएपछि कुन चिन्ह राख्ने भन्ने बढी नै विवाद भएको हो । अन्ततोगत्वा २०७३ चैत ३० गते राप्रपाबाट छुट्टिएको लोहनी समूह र २०७४ साउन २२ गते राप्रपाबाट छुट्टिएको राणा समूह पुनः एकै ठाउँमा आइपुगेका छन् ।  यसक्रममा कमल थापालाई गाईको माया लाग्नु र त्यही चिन्ह उनले राख्न जोडबल गर्नुका पछाडिको मान्यता तर्कसंग नै छ । दोस्रो संविधानसभामा २५ सांसदसहित चौथो पार्टीका रुपमा स्थापित गराउन र संविधानपछिको पहिलो आम निर्वाचनमा संसदमा १ मात्र प्रतिनिधत्व गराउन गाई चिन्हले राप्रपा नेपाललाई ठूलो भरथेग दिएको छ ।

खासगरी हीन्दू धर्ममा आश्था राख्ने र पुराना बुढापाकाहरुका लागि लक्ष्मीका रुपमा पुजिने गौमाता अर्थात गाई चुनाव चिन्हको आकर्षण बेग्लै थियो । अर्को, संविधानसभायता पनि हीन्दू धर्म र राजसंस्थाका सन्दर्भमा राप्रपा नेपालको जस्तो स्पष्ट अडान राप्रपामा देखिएन । तर पनि कमल थापाले देशभक्त शक्तिको प्रतिनिधित्व गर्ने भन्दै पशुपति समशेर र लोहनी सहित जब एकीकृत पार्टी बनाए । त्यसको बलमै फेरि जनमत हासिल गर्न कठीन देखिन्छ । बुढापाका, कट्टर हीन्दुवादी, राजतन्त्रका पक्षधरसहित राप्रपाको भोट बैंकका रुपमा परिचित समुदायमा राप्रपा नेपालको चुनाव चिन्ह गाई जति भिजेको छ, पुरानै भएर पनि हलोको प्रभाव त्यति देखिन्न । यसले एकीकृत राप्रपाले आगामी स्थानीय निर्वाचनका लागि भनेर जुन अभियान चलाउने योजना बनाउने निर्णय गरेको छ, त्यसले चुनाव चिन्ह परिवर्तन गर्दा भुईंको टिप्न खोज्दा पोल्टाको नपोखिएला भन्न सकिन्न ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार