बुटवल राजनैतिक मात्र हैन, सामरिक केन्द्र समेत नरहने खतरा

बुटवलको उदय,उन्नति र सम्भावित अवनतिको श्रृंखला

भारतीय सेनामा भर्ती हुन जाने लाहुरेहरूको बासस्थल र पहाडका जडीबुटी अनि घिउको व्यापार स्थलबाट उपमहानगरपालिकासम्मको यात्रा तय गरेको तत्कालीन बटौली र खस्यौलीको संगमस्थल बुटवल फेरि एकपटक मुलुकको राजनैतिक परिवर्तनमा आएको उतारचढावले परम्परागत सानो बजार बटौलीकै हविगतमा पुग्ने आशंका यतिखेर आम बुटवलवासीको मनमा पर्न थालेको छ ।

राणा शासनकालको अन्तिम दशक (बि.सं.१९९५–२००५) तिर भारतीय सेनामा लाहुरे बन्ने रहरले मधेस झर्ने पश्चिम पहाडका गुरुङ मगर अनि उनीहरूकै परिचय सापटी लिएर भर्ती हुन खोज्ने अन्य जनजाति युवाको आश्रयस्थल थियो,तिनाउ पारीको बटौली । मुस्ताङका थकालीहरूले संचालन गरेका ८–१० भात होटेल, अनि केही थान भट्टी र स–साना किराना र कपडा पसलको गुजमुज्ज बजार थियो बटौली । तिनाउ नदी पारी लालटिन र मैनटोलको उज्यालोमा बटौली रातभर चम्किरहँदा वारिको खस्यौली चाहिँ कता हो कता जङ्गलको चकमन्न अन्धकारमा हराइरहन्थ्यो ।

समय निकै बलवान छ, पूर्वपश्चिम राजमार्गसँगै जोडिएर पाल्पा जाने सिद्धार्थ राजमार्गको सुरुवातसँगै एकाएक बटौलीको रौनक खोसियो र खस्यौली बिस्तारै अहिलेको बुटवलको प्रारम्भिक रुप बन्न पुग्यो । कालान्तरमा भैरहवा बुटवल सडक, भैरहवा विमानस्थल र पूर्वपश्चिम राजमार्गसँग नजिकको नाता गाँसेको खस्यौली आधुनिक बुटवल सहर भइदियो । लुम्बिनी अञ्चलका पहाडी जिल्लाहरूबाट काठमाडौँ जोडिन र तराई झर्न सोझो र पायकको केन्द्र बनेसँगै बुटवल साबिक गण्डकी र धौलागिरीका समेत केही जिल्लाको अघोषित सदरमुकाम जस्तै बन्यो । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी,सुदूर पश्चिमलाई बाँकी नेपालसँग जोड्ने एक मात्र पूर्वपश्चिम राजमार्ग र पहाडी जिल्लाहरूलाई तराईसँग जोड्ने साझा थलो बन्यो बुटवल ।

तर, झन्डै आधा शताब्दी लगाएर निर्माण भएको बुटवलको त्यो रौनक फेरि एक पटक धराशायी हुने आशङ्काले बुटवलवासीको मन अमिलो बनाएको छ । प्रदेश ५ सरकारले प्रादेशिक संसद्बाट स्थायी राजधानी दाङ पारित गराएसँगै बुटवलमा अथाह सम्भावना देखेका स्थानीय चिन्तित बनेका छन् । प्रादेशिक राजधानी बनेसँगै दाङसम्म पुग्ने थुप्रै वैकल्पिक मार्गहरू तयार हुनेछन् । अहिले नै पनि राजधानीले छुने अर्घाखाँचीबाट सालझण्डी हुँदै देउखुरी पुग्ने बाटो बन्दै गरेकाले पहाडी जिल्लाका मानिसहरुलाई दाङ जान बुटवल आइरहनुपदैन ।

उता निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कपिलवस्तुको तौलिहवा हुँदै गोरुसिंगेँसम्म सिधै फराकिलो सडक बन्दै छ, जसले विदेश वा तराईबाट सदरमुकाम भालुबाङ जानेहरूको नजर बुटवलमा पर्नेछैन । त्यस्तै सालझण्डीबाट सिधै रिडी हुँदै गुल्मी तम्घास पुग्ने राम्रो सडक बन्दै छ र सो सडक मदन भण्डारी लोकमार्गसंग मिसिएर रिडी हुँदै भालुवाङ पुग्छ , जसका कारण पश्चिम नेपालबाट राजधानी आवत जावत गर्ने बसहरू भालुवाङबाट रिडी , रामपुर हुँदै नारायणगढ आउनेछन् ।

नयाँ ब्यपारिक सहर,औद्योगिक केन्द्रका रूपमा पहिचान बनाएको र खासै पुरानो ऐतिहासिक पृष्ठभूमि नभएको बुटवल ब्यापार र प्रशासनिक केन्द्रको परिचय गुमाएसँगै फेरि एक पटक उद्गमकालीन बटौलीको हविगत भोग्ने पूर्व सन्ध्यामा छ । बटौलीमा अहिले पनि पुराना टिनका छानाले ढाकिएका पुराना घिउ र कपडाका फाट्टफुट्ट बजार देखिन्छ,तर तिनाउ तरेर धाएरै जानेहरूका लागि मात्र । हिजो जसरी खस्यौलीले आफूलाई विशाल बुटवल बनाएर बटौलीलाई बिर्साइदिएको थियो, लुम्बिनी प्रदेशको सदरमुकाम देउखुरीले आफूलाई पश्चिमको केन्द्र बनाउँदै बुटवल नबिर्साइदेला भन्न सकिन्न ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार