ओली पक्षले भन्यो- माधव नेपालले बोलाएको बैठकमा सहभागी नहुनु

'माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठक अनधिकृत'

नेकपा एमालेले माधव कुमार नेपालले बोलाएको बैठकमा सहभागी नहुन पार्टीका नेताहरूलाई निर्देशन दिएको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुन भनेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले हालैको स्थायी कमिटी बैठकबाट झलनाथ खनाल, नेपालसहित ११ नेतालाई पार्टीबाट निकालेका थिए । ‘पार्टीको विधान अनुसार अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सुन्नमा आएकोले त्यस्तो कार्यको निन्दा एवं भर्त्सना गर्दछु’ तामाङले जारी गरेको सूचनामा भनिएको छ ।

खनाल-नेपाल पक्षीय केन्द्रीय समितिको आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको जनाइएको छ । उक्त बैठक सुरु हुनु तीन घण्टाअघि एमालेले विज्ञप्ति निकालेर उक्त बैठकमा सहभागी नहुन नेताहरूलाई भनेको हो ।

अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था रहेको तामाङको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार