ओली-नेपाल पक्षका छुट्टाछुट्टै बैठक आज

नेकपा एमालेको दुवै समूहले आज बैठक बोलाएको छ । संस्थापन पक्षले स्थायी कमिटी र खनाल-नेपाल समूहले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक राखेका छन् । अपराहन्न ४ बजे बस्ने बैठकमा १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको छ ।

ओलीले गठन गरेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता छैनन् । यस्तै नेकपा एमालेको खनाल-नेपाल समूहले बिहान ११ बजेका लागि आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको छ । यो बैठक भर्चुअल रूपमा बस्नेछ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको खनाल-नेपाल समूहका नेताहरुले बताएका छन् । २०७५ सालको जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनेबारे दुवै पक्षका दोस्रो र तेस्रो तहका नेताहरुले छलफल गरिरहेको समयमा खनाल-नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ को जेठ २ को अवस्थामा फर्कन तयार रहेको बताएका छन् । तर त्यसका लागि संविधानको धारा ७६ को उपधारा ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै खनाल(नेपाल समूहका सांसदले दिएको समर्थन फिर्ता गर्नुपर्ने उनको सर्त छ ।

यस्तै नेता माधव कुमार नेपालले पार्टी मिल्न सक्ने आधार अध्यक्ष ओलीले नै भत्काउँदै लगेको भन्दै प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्नुपर्ने अर्को सर्त अघि सारेका छन् । पार्टी विभाजनको संघारमा पुगेकै बेला दुवै पक्षका दोस्रो तहका नेताहरु एकता जोगाउन भन्दै निरन्तर छलफलमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार