सरकारको चुरे दोहन नीति खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको देउवाको भनाई

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको चुरे दोहन नीति तराई मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र भएको आरोप लगाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार साँझ विज्ञप्ति एक जारी गर्दै चुरे दोहन गरेर व्यापार घाटालाई न्यून गर्न खोज्नु भनेको खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको बताएका छन् । सरकारले असंवैधानिक कदममार्फत ल्याएको बजेटमा चुरे दोहन हुने नीति अवलम्वन गर्नुलाई पार्टीले गम्भीर रूपले लिएको उनले बताएका छन् ।

विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू(क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण भइरहेका बेला सरकारले त्यही बेचेर व्यापार घाटा कम गर्ने कुरा गरेकोप्रति कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेसले विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ती नभएको बताएको छ । ‘प्रकृति विरुद्धको अपराध र देशको तराई(मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो’, कांग्रेस सभापति देउवाले विज्ञप्ति सार्वजनिक भनेका छन् ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले ‘राष्ट्रपति चुरे(तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गरिएको सम्झदै देउवाले सरकारको घोषणाप्रति आपत्ति जनाएका हुन् ।

‘देशले वर्सौंदेखि व्यापार घाटा व्यहोरिरहेको छ तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन,’ विज्ञप्तिमा भनिएको छ ‘अतः नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ ।’

देशले वर्षौंंदेखि व्यापार घाटा व्यहोरिरहेको भएपनि त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई–मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम स्वीकार्य नहुने कांग्रेसले बताएको छ । साथै यो कार्यक्रम तत्काल फिर्ता लिन उनले सरकारलाई चेतावनी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार