उपत्यकामा जेठ ३१ सम्म थपियाे निषेधाज्ञा, के खुल्ने, के नखुल्ने हेर्नुहोस् (भिडियो)

काठमाडौँ उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । बुधबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय थप गरिएको जेठ १४ गतेदेखि २० गतेसम्मको निषेधाज्ञामा किराना पसलहरू पनि बन्द गरिएको थियो । अब भने किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।
त्यस्तै तरकारी, फलफूल, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरू र डिपार्टमेन्ट स्टोर पनि बिहान ९ बजेसम्म खोल्न पाइने छ । त्यस्तै निर्माण कार्यका लागि ढुवानी हुने सवारी साधनलाई राती सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि कूटनैतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताए । निषेधाज्ञामा अन्य क्षेत्र भने यसअघिकै व्यवस्था अनुसार नै बन्द रहने उनले जानकारी दिए । उपत्यकामा लगाइको निषेधाज्ञाकै कारण कोरोना सङ्क्रमित घटेको भन्दै उनले निषेधाज्ञालाई पूर्ण रूपमा कार्यान्वयन गराइने धारणा राखेका छन् ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले आदेशको अवज्ञा गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०५८ अनुसार कारबाही हुने बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार