आर्थिक संकटमा परेपछि मर्ज हुँदै सहकारी

आर्थिक संकटमा परेपछि यस क्षेत्रका सहकारी संस्थाहरू एकअर्कामा मर्ज हुन थालेका छन् । ग्राहकलाई पैसा फिर्ता गर्न नसकेर विवादमा पर्दै आएका सहकारीहरू एकीकृत हुने अभियानमा लागेका हुन् ।

शनिबार मात्र रुपन्देहीका ९ वटा सहकारी संस्थाहरुले एक घोषणापत्र जारी गर्दै मर्ज हुने जनाएका छन् । भैरहवाको जनप्रिय बहुउद्देश्यीय सहकारी, सार्थक बहुउद्देश्यीय सहकारी, बुटवलमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी, शाइन बहुउद्देश्यीय सहकारी, उपदेश बहुउद्देश्यीय सहकारी, उपकार बहुउद्देश्यीय सहकारीसँगै कपिलवस्तुको सुशन्देश बहुउद्देश्यीय सहकारी, नवलपरासीको शुभश्री बहुउद्देश्यीय सहकारी र बुटवलको वरदान बहुउद्देश्यीय सहकारीले आर्थिक संकट टार्न मर्जर प्रक्रियामा गएका हुन् । उनीहरुले साझा नाम ‘सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ नामाकरण गरेर अघि बढ्नेगरी मर्जर प्रक्रियामा गएको जनाएका छन् ।

सहकारी संस्थाहरु आर्थिक संकटमा परेको सूचना बाहिरिएसँगै बचतकर्ताले लगानी फिर्ता माग्न थालेपछि ठूलो संकटमा परेका यी सहकारीहरुले सेवाग्राहीलाई विश्वास दिलाउन मर्जर प्रक्रियामा गएका हुन् । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही सहकारी संघका अध्यक्ष भिम तुलाचनले सहकारीहरुले अधिकार क्षेत्रभन्दा बाहिर लगानी गर्नु र राज्यको सहकारी नीति ठिक नहुँदा समस्या सिर्जना भएको टिप्पणी गरे ।

सहकारीहरुले आर्थिक अनुशासनलाई कायम राखेर सदस्यहरुको अधिकारलाई सुरक्षित गर्नुपर्ने उनको सुझाब छ । संकट टार्न सहकारीहरु एकीकरणको अभियानमा गएपनि यसले सकारात्मक सन्देश दिनेमा भने उनले शंका व्यक्त गरे ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटाले अस्वस्थ प्रतिस्पर्धाका लागि बचतमा उच्च ब्याजदर तथा नाफा कमाउने लोभमा अपारदर्शी क्षेत्रमा लागनी गर्दा संकटको अवस्था उत्पन्न भएको बताए । सहकारीहरुले बचत र तरलताको अनुपात मिलाउन नसक्दा समस्या भएको उनको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार